बजारको फोहोरले दुर्गन्धित बन्दै सेती नदी



विमल विष्ट, डोटी । 

डोटी जिल्लाको पवित्र नदीका रूपमा रहेको सेती नदी दिनहुँ दुर्गन्धित तथा फोहोर बन्दै गएको छ । पुरानो क्षेत्रीय सदरमुकाम दिपायल, पिपल्लाको प्रमुख व्यापारी केन्द्रबाट निस्किने फोहोर सीधै सेतीमा फालिने गरेकाले दुर्गन्धित बन्दै गएको हो ।

यहाँका व्यापारी तथा स्थानीयवासीले घरको ढल र प्लास्टिक जस्ता फोहोर सेती नदीमा फाल्ने गरेका कारण नदी दिन प्रतिदिन दुर्गन्धित बन्न थालेको दिपायल पिपल्लाका स्थानीयवासी तथा व्यापारी रामबहादुर विष्टले बताउनुभयो । ‘नगरपालिकाले ढल निकासको व्यवस्थापन गर्न नसक्दा बजारमा निस्किने फोहोर तथा स्थानीयले ढल सीधै नदीमा फाल्ने गरेका छन्, जसले गर्दा सेती नदी दुर्गन्धित बन्दै गएको छ ।’ –उहाँले भन्नुभयो । बजारमा निस्किने फोहोर तथा व्यापारीले ढल नदीमा मिसाउने विषयमा पटक–पटक दिपायल सिलगढी नगरपालिकामा जानकारी गराउँदा समेत व्यवस्थापनका लागि नगरपालिकाले खासै चासो नदेखाएको स्थानीयवासीको आरोप छ ।

उता, नगरपालिकाले बजारबाट निस्किने फोहोर व्यवस्थापनका लागि जमिन नपाएका कारण समस्या भएको जनाउँदै आएको छ । धार्मिक आस्था बोकेको पवित्र सेतीमा फोहोर थुप्रिन थालेपछि पानीको शुद्धता हराउँदै नदीमा क्षारीयपना बढ्दै गएको अर्का स्थानीयवासी घनश्याम पाठकले बताउनुभयो । ‘सेती नदी हिमालबाट बगेर आउँछ, यो पबित्र नदी हो, यसैमा फोहोर मिसाउँदै छन्, यो क्रम नरोकिए अबका केही वर्षमा यो नदी वागमती नदीजस्तै हुने निश्चित छ ।’ –उहाँले भन्नुभयो ।

नदीमा फोहोरको मात्रा बढ्दै जाँदा नदीमा बस्ने जलचर प्राणीहरु हराउँदै जान थालेका छन् । यतिमात्र नभई गर्मीयाम होस् वा चिसो समय यहाँका नागरिक सेती नदीको पानी खानका लागि प्रयोग गर्ने भएकाले नदी फोहोर तथा दुर्गन्धित हुन थालेपछि विभिन्न खाले रोगको सङ्क्रमण देखिने अवस्था रहेको शैलेश्वरी अस्पताल दिपायलका निर्देशक आइजङ् कुँवरले बताउनुभयो । उहाँले भन्नुहुन्छ– ‘दिपायलमा पानीको समस्या छ, यहाँका नागरिकले प्रायः खानका लागि सेती नदीकै पानी प्रयोग गर्छन्, त्यही पानी फोहोर भए रोगको सङ्क्रमण बढ्ने नै भयो ।’

नदीकिनारका स्थानीयवासीले नदीको पानीमा नुहाउने, गाईबस्तुलाई खुवाउने, बालुवा झिक्ने, दाउरा सङ्कलन गर्ने जस्ता काम गर्दै आएका छन् । यहाँको शिखर नगरपालिकाको बानीडुग्रीसैनदेखि दिपायल सिलगढी नगरपालिकाको नारिदाङसम्मका नागरिकले सेती नदीको पानी प्रयोग गर्दै आएका छन् । खोला तथा नदीको संरक्षण र सरसफाइको जिम्मेवारी स्थानीय तहको भए पनि यहाँका दुई स्थानीय तहहरु दिपायल सिलगढी र शिखर नगरपालिकाले नदीमा फोहोर नमिसाउनका लागि पहल नचालेका कारण यस्तो समस्या उत्पन्न भएको दिपायलका स्थानीयवासी कर्णबहादुर द्वारियाकाको कथन छ ।

‘घर तथा बजारबाट निस्किने फोहोर नदी तथा खोलामा सीधै फाल्न नपाउने कानुनी व्यवस्था भए पनि त्यसको वास्ता नगरी नदीमा फोहोर व्यवस्थापन गरिएकाले समस्या भएको छ’, कानुन व्यवसायी शंकरदीप मडै भन्नुहुन्छ– ‘कानुनी व्यवस्था कार्यान्वयन नहुँदा समस्या भयो ।

प्रतिक्रिया दिनुहोस्