शान्ति कसरी सम्भव हुन्छ ?



  • प्रेम रावत

जीवनमा हामी धेरै प्रकारका मिहिनेत गर्दछौँ । आमाबुवाले आफ्ना छोराछोरीलाई साना हुँदा भन्ने गर्नुहुन्छ– ‘पढलेख गर, मिहिनेत गर । ठूलो भएपछि तिमीले राम्रो जागिर पाउनेछौ अनि तिम्रो जीवन आनन्दसँग बित्नेछ ।’ हामी कोशिश पनि गर्छौँ अनि पढ्छौँ पनि । जागिर पनि पाउँछौँ । परिवार बढ्छ तर यी सबै कुराहरू पूरा भएपछि पनि मानिसले आफूमा एउटा खालिपन भएको महसुस गर्छ । यदि यही सूत्र नै सही हो भने मानिसले आफ्नो जीवनमा किन खालिपनको महसुस गर्छ !

एउटा कुरा त के हो भने, ‘मेरो जीवनको उद्देश्य के हो !’ दोस्रो कुरा हो ‘पर्दा’ जसलाई हटाएपछि हामीले त्यो चीजलाई देख्न पाउँछौँ जुन चीजलाई हामी हेर्न चाहन्छौँ । जीवनमा हुन सक्छ तपाईँले कतै सुन्नुभएको पनि होला– ‘शान्तिको अनुभव गर्नुपर्छ ।’ यदि तपाईँलाई शान्ति छ भने– ‘तपाईँको जागिरमा पनि एकदमै पदोन्नति हुँदै जानेछ ! यदि तपाईँको हृदयमा शान्ति छ भने तपाईँको प्रगति हुनेछ !’ यी कुराहरूको कुनै प्रमाण छैन । त्यसो हो भने शान्तिको आवश्यकता किन हुन्छ ?

एउटा पर्दा छ । त्यो पर्दा के हो ? त्यो पर्दा हो ‘अज्ञानता’ को । त्यो पर्दा लागेका कारणले वास्तविकता देखिइरहेको छैन । यसको अर्थ पर्दाले नै वास्तविकताको निर्माण गर्छ भन्ने पनि होइन । पर्दाले वास्तविकतालाई बनाउँदैन तर वास्तविकतालाई लुकाइदिन्छ । पर्दालाई हटाएपछि मात्रै वास्तविकता देखिनेछ अनि तपाईँले वास्तविकतालाई महसुस गर्नुहुनेछ ।

त्यो व्यक्ति जसले आफूलाई भाग्यमानी महसुस गरिरहेको छैन भने यसको अर्थ उसको भाग्य नै छैन भन्ने होइन । उसको भाग्य छ, राम्रो भाग्य छ तर ऊ आफूलाई भाग्यशाली महसुस गरिरहेको छैन । यसको अर्थ के हो भने– शान्ति छ । शान्तिलाई पर्दा पछाडि पारिएको छ त्यसैले तपाईँले त्यो अज्ञानतारूपी पर्दालाई हटाउनु आवश्यक छ । तथापि, सबैभन्दा पहिला के कुरा बुझ्नु आवश्यक छ भने तपाईँ र शान्तिका बीचमा कस्तो सम्बन्ध छ ! तपाईँ र आनन्दको सम्बन्ध के छ !

‘के तपाईँले आफ्नो जीवनमा कहिल्यै भोकको अनुभव गर्नुभएको छ ?’ तपाईँलाई भोक किन लाग्छ ? जब खाना छ भने भोक किन लागेको हुन्छ ! किनभने, त्यो भोकको सम्बन्ध तपाईँको पैसासँग छैन । भोकको सम्बन्ध तपाईँको पेटसँग छ । पैसासँग होइन । जबसम्म त्यो खाना तपाईँ खानुहुन्न तबसम्म तपाईँ र त्यो खानाका बीचमा कुनै सम्बन्ध रहँदैन । भोक लागिरहनेछ ।

चाहे आफूअगाडि खाना होओस् तर त्यसलाई ग्रहण नगरेसम्म तपाईँलाई भोक लागिरहन्छ । पानीको सन्दर्भमा पनि यही कुरा लागू हुन्छ । कतिपय मानिसहरू त आफूसँग पानीको बोतल पनि राख्ने गर्दछन् । अनि, तपाईँलाई तिर्खा लाग्नुहुँदैन भन्ने कुरा तपाईँको शरीरलाई त थाहा हुनुपर्ने हो, किनभने तपाईँसँग पानीको बोतल छ । तथापि, प्यास र तपाईँको बोतलका बीचमा कुनै सम्बन्ध छैन ।

जिन्दगीको दौड सजिलो भयो भने त्यो छोटो लाग्छ । कठिन भयो भने त्यही दौड धेरै माइल लामो लाग्न थाल्छ । तर, यी सबैका बाबजुद पनि एउटा एकदमै जरुरी कुरा छ । त्यो हो– सन्तुलित जीवन । यदि जिन्दगीमा बाहिरका सबै काम र हृदयको आनन्दका बीच सन्तुलन भयो भने त्यो साँच्चै नै सन्तुलित जीवन बन्न सक्छ ।

जबसम्म त्यो पानी तपाईँभित्र जाँदैन तबसम्म तपाईँको तिर्खा मेटिँदैन । शान्तिको कुरामा पनि यस्तै हुन्छ । शान्ति–शान्तिको रटान लगाउनुहोस्, शान्तिको चर्चा गर्नुहोस् तर तपाईँभित्र जुन शान्तिको तिर्खा लागिरहेको हुन्छ त्यो कुरा र तपाईँले शान्तिको रटान लगाएको कुराका बीचमा कुनै सम्बन्ध छैन ।

मानिसलाई जुन शान्तिको तिर्खा लागेको हुन्छ, त्यो किन लाग्छ ? जस्तो तिर्खा त पानीको पनि लाग्छ किनभने यो सृष्टिकर्ताको देन हो । तपाईँलाई पानीको आवश्यकता छ त्यसकारणले त तपाईँलाई तिर्खा पनि लाग्छ । निद्रा लाग्ने भएको कारणले नै तपाईँ सुत्नु पनि आवश्यक हुन्छ । तपाईँलाई खानाको आवश्यकता छ, त्यसैले त तपाईँलाई भोक पनि लाग्छ । यी प्राकृतिक कुराहरू हुन् !

कतिपय कुराहरू हाम्रा लागि अत्यावश्यक हुँदैनन् । जस्तो घडी– यदि हामीले आफ्नो घडी फुकालेर राख्यौँ भने त्यसबाट हामीलाई के हुन्छ र ! केही पनि हुँदैन । किनभने, म अर्थात् मेरो शरीरलाई घडीको आवश्यकता पर्दैन । मेरो मनलाई घडी आवश्यक पर्ने हो । यदि यसलाई हामीले कतै छोडिहाल्यौँ भने पनि केही फरक पर्दैन । तथापि, तिर्खा, भोक अनि निद्राका लागि यस्तो गर्न सकिँदैन । तिनलाई छोड्न सकिँदैन ।

यसको अर्थ के हो भने, दुईवटा कुराहरू छन्: एउटा त्यो हो जुन हाम्रो चाहना हो । हाम्रो चाहना बदलिन पनि सक्छ अनि केही चीजहरूचाहिँ हामीलाई आवश्यक हुन्छ । अनि, जुन चीजको हामीलाई आवश्यकता पर्दछ त्यसलाई हामी छोड्न सक्दैनौँ । ठीक यस्तै गरेर शान्ति हाम्रो आवश्यकता हो, चाहना होइन । विनाशान्तिले हामी केही कुरा बुझ्नै सक्दैनौँ ।

किनभने, शान्तिविना त हामीले आफूले आफूलाई पनि बुझ्न सक्दैनौँ । शान्तिको अभावमा हाम्रो जीवनको कुनै अर्थ नै रहँदैन । तर, मानिस उसको चाहनाका पछि दगुरिरहेको छ । तपाईँको हृदयको पनि एउटा चाहना छ अनि ‘शान्ति’ त्यही चाहनाभित्र पर्दछ । शान्तिको चाहना ! आनन्दको चाहना ! जबसम्म तपाईँले त्यस तिर्खालाई बुझ्नुहुन्न तबसम्म तपाईँ अन्य सबै कुराहरूमा फसिरहनुहुनेछ ।

यदि तपाईँ वास्तविकतालाई बुझ्न चाहनुहुन्छ र वास्तविक शान्तिको अनुभव गर्न चाहनुहुन्छ भने तपाईँले कुनै चीज निर्माण गर्नुपर्दैन । यदि कसैले आफ्नो जीवनमा आनन्द होओस् भन्ने चाहना राख्छ भने उसले के गर्नु आवश्यक हुन्छ ? यदि शान्ति पहिलादेखि नै छ भने, कुरा यहाँ ‘केही गर्नै पर्छ’ भन्ने होइन । बरु ‘गर्नु नपर्ने’ कुराचाहिँ आउँछ ! पर्दापछाडि कुनै दृश्य सृजना गर्नुपर्ने कुरा होइन, पर्दालाई हटाउनुपर्ने कुराचाहिँ हो । त्यो दृश्य पहिलादेखि नै छ ।

सबैभन्दा ठूलो पर्दा त तपाईँको मनको चाहना नै हो । अनि, जबसम्म त्यो पर्दा बन्द हुन्छ तबसम्म कुनै स्पष्टता हुँदैन । त्यो पर्दा जबसम्म खुल्दैन तबसम्म स्पष्टसँग देख्न सकिँदैन । शान्ति त बनिबनाउ छ ! शान्तिलाई बनाउनुपर्दैन । आनन्द जसका बारेमा म कुरा गरिरहेको छु त्यसलाई सृजना गर्नु आवश्यकता पर्दैन ।

यदि यो जीवनमा तपाईँ वास्तविक आनन्द लिन चाहनुहुन्छ भने त्यो आनन्द तपाईँभित्र छ । त्यो पहिलादेखि नै छ अनि तपाईँभित्रै छ । यसमा केही गर्नुपर्ने कुरा होइन, आफ्नो मनको शङ्कालाई हटाएर, यी चाहनालाई हटाएर जुन वास्तविक चीज छ त्यसलाई हेर्नुहोस् ! त्यसको जाँच गर्नुहोस् ! त्यसको अनुभव गर्नुहोस् ! त्यसपछि तपाईँको जीवनमा पनि आनन्द नै आनन्द हुनेछ ।

मानिसहरू भन्छन्, शान्ति कसरी सम्भव हुन्छ, हुनै सक्दैन । यस्तो भन्नेहरू अवश्य छन् तर मानिसलाई शान्तिको आवश्यकता नै पर्दैन भन्ने मानिसचाहिँ कोही पनि छैन । यो कुरा त सबैले मान्छन्, ‘सबैलाई शान्तिको आवश्यकता पर्दछ ।’ किन आवश्यक छ, किनकि यो मानिसको आफ्नै निजी आवश्यकता हो । जस्तो तिर्खा, जस्तो निद्रा, जस्तो श्वास छ त्यस्तै हो शान्ति पनि । किनभने, सबै कुरा भएपछि पनि यदि मानिसमा शान्ति नै छैन भने त केही पनि छैन ।

शान्तिलाई निर्माण गर्नुपर्ने आवश्यकता पर्दैन । शान्ति पहिलादेखि नै तपाईँभित्रै छ । जिन्दगीको दौड सजिलो भयो भने त्यो छोटो लाग्छ । कठिन भयो भने त्यही दौड धेरै माइल लामो लाग्न थाल्छ । तर, यी सबैका बाबजुद पनि एउटा एकदमै जरुरी कुरा छ । त्यो हो– सन्तुलित जीवन । यदि जिन्दगीमा बाहिरका सबै काम र हृदयको आनन्दका बीच सन्तुलन भयो भने त्यो साँच्चै नै सन्तुलित जीवन बन्न सक्छ ।

हामीले आफ्नो जीवनमा त्यो सन्तुलनलाई कायम गर्नुपर्छ जुन अत्यावश्यक छ । यसको अर्थ जीवनमा शान्ति र आनन्दलाई अपनाउनुपर्छ । तर, जुन चीजका लागि हामी बाँच्छौँ– त्यो हो हाम्रा इच्छाहरू, जुन कहिल्यै पनि पूरा हुँदैनन् । हरेक मानिस आफ्नो चाहनालाई पूरा गरेर धनी बन्न चाहन्छ । यदि हामी साँच्चै नै जीवनलाई सन्तुलित बनाउन चाहन्छौँ भने हामी हृदयबाट नै धनी बन्नुपर्दछ ।

हामी हृदयबाटै दरिद्र भयौँ भने हामीसँग जतिसुकै पैसा भए पनि, हामी गरिबको गरिब नै हुन्छौँ । हामीले आफ्नो जीवनको वास्तविक उद्देश्यलाई बुझ्नुपर्छ । यसका लागि सबैभन्दा पहिला मानवता हुनु आवश्यक छ । यद्यपि सबैभन्दा ठूलो मानवतालाई पहिला हामी आपैmँले आफ्ना लागि अपनाउनुपर्छ । के कुुरा बुझ्नु आवश्यक छ भने सबैभन्दा पहिला हामी आफैसँग खुशी छौँ कि छैनौँ ? किनभने, यदि हामी आफू नै खुशी भएनौँ भने त अरू कसैलाई पनि खुशी राख्न सक्दैनौँ । हुनसक्छ यसका बारेमा तपाईँले कहिल्यै विचार गर्नुभएको छैन होला तर अब सोच्ने बेला आयो ।

यदि साँच्चै नै तपाईँ सफल हुन चाहनुहुन्छ भने सफलता ‘अहिले’ बाट शुरु हुन्छ । कुरा पछिको होइन, अहिलेको हो । त्यो थैलीलाई खोल्नुहोस्, जसमा तपाईँको जीवनको सम्पत्ति छ । तपाईँको जग कत्तिको बलियो छ ? किनभने, जुन जगमा शान्ति छ, त्यही नै तपाईँको शक्ति हो । यदि तपाईँको जग सबल छ भने तपाईँ डराउनु आवश्यक छैन । आफ्नो जगलाई बलियो बनाउनुहोस् ।

फलतः तपाईँलाई सही तरिकाले सफल हुन सक्ने आधार बनोस् । यो तपाईँकै हितको लागि हो । यसले तपाईँलाई नै मद्दत पुग्छ । यसको अर्थ यसका लागि तपाईँले सबै कुरालाई छोड्नुपर्छ भन्ने पनि होइन । बरु महत्त्वपूर्ण कुरा त मानिसको जीवनमा यदि शान्ति प्राप्त भयो भने उसले आफ्नो जीवनलाई सफल पारेर एक सन्तुलित जीवन बिताउन सक्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण :डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्