इलाका प्रशासन कार्यालयमा कर्मचारी नहुँदा सेवा प्रवाहमा समस्या



नेपाल समाचारपत्र, सल्यान ।

इलाका प्रशासन कार्यालय सल्यानमा जनशक्तिको अभाव र सेवाग्राहीको भिड हुँदा नागरिकता बनाउन सास्ती भएको छ । नागरिकलाई सहज सेवा दिनको लागि बागचौर नगरपालिकाको थारमारेमा स्थापना गरिएको इलाका प्रशासन कार्यालयमा सेवाग्राहीको चापका कारण कार्यालयमा अन्य सेवा समेत प्रभावित भएको छ । सेवाग्राहीको चाप बढेसँगै नागरिकता बनाउन दुई दिन कुर्नुपर्ने बाध्यता रहेको छ ।

प्रशासनमा दैनिक सरदर ५० नयाँ नागरिकता जारी हुने गरेको कार्यालयले जनाएको छ । इलाका प्रशासन कार्यालय थारमारेका प्रमुख मोहन डाँगीले २० देखि २५ जनजातिको नागरिकता प्रतिलिपि, ३० देखि ३५ जनासम्म अन्य सिफारिस लिन आउने हुँदा दैनिक एक सय देखि १२० जनासम्म सेवाग्राही आउने गरेको बताउनुभयो । उहाँका अनुसार दैनिक एक सय भन्दा बढी सेवाग्राही आउने हुँदा फाइल पेस गरेको दुई दिनपछि मात्र पालो आउने गरेको छ ।

नागरिकता बनाउन आउनेले सनाखतका लागि समेत मानिस लिएर आउने हुँदा भिडभाड बढी देखिएको छ । बिहान १० बजेदेखि साँझ ६ बजेसम्म सेवा दिँदै आइरहेको कार्यालयको भनाई छ । इलाका प्रशासनमा  १ जना शाखा अधिकृत, ३ नायव सुब्बा, १ सह लेखापाल र २ जना कार्यालय सहयोगी हुनु पर्नेमा  १ जना सुब्बाको भरमा कार्यालय सेवा दिनु पर्ने बाध्यता रहेको छ । बागचौर नगरपालिका, कुमाख, दार्मा र सिद्ध कुमाखका सेवाग्राहीलाई इलाका प्रशासन कार्यालय थारमारेले सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्