काँग्रेस महाधिवेशन : आवासको लागि दुई हजार बेड खोजियो, दुई हजार खोज्न बाँकी

आवास र भोजनको छुट्टाछुट्टै दुई उपसमिति बनाइँदै



रामकृष्ण चापागाईँ, काठमाडौँ ।

मङ्सिर २४ देखि २६ सम्म हुने नेपाली काग्रेसको १४औँ महाधिवेशनका प्रतिनिधि राख्न ठमेल र सुनधारा एरियामा रहेका होटलहरुमा दुई हजार बेड बुक गरिएको छ । अब दुई हजार बेडको खोजी भइरहेको छ । भोजनको लागि दैनिक आठ हजार जनालाई खाना खुवाउने क्याटरिङको खोजी भइरहेको छ ।

नेपाली काग्रेसले महाधिवेशनको लागि तयार गठन गरेको भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक  केन्द्रिय सदस्य सुरेन्द्रराज पाण्डेले जानकारी दिए अनुसार मङ्सिर २४ गते बेलुकी देखि २६ गते सम्म दैनिक हजार जना सुत्ने र आठ हजार जनालाई खुवाउने व्यवस्था गर्नुपर्नेछ ।

हाल सम्म दुई हजार जनालाई सुत्ने व्यवस्था भएको भन्दै संयोजक पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– होटलवाला सँग दररेट भने निक्र्यौल गरिएको छैन । सकेसम्म सबै होटलको एउटै दररेट होस भन्ने चाहेको बताउँदै उहाँले फरक–फरक होटलको फरक फरक दररेट आएको बताउनु भएको छ । संयोजक पाण्डेले प्रत्येक होटलसँग छुट्टाछुट्टै सम्झौता गरिने बताउदै अहिले प्रति बेड एक हजार पाँचसय देखि दुई हजार दुई सय सम्मको रेट आएको बताउनु भएको छ ।

सुनधारा र ठमेल एरियामा नपुग होटल गौसाला एरियामा खोजिने संयोजक पाण्डेको भनाई छ । सुनधारा, ठमेल र गौशाला एरियामा होटलहरु नभेटिए मात्र अन्य एरियामा खोजिने बताउँदै संयोजक पाण्डेले बागबजार एरियामा ठुलो सङ्ख्यामा बेड उपलब्ध गराउने होटल नभेटिएको बताउनु भएको छ । होटलमा बेड उपलब्ध गराउने सवालमा ठेक्कामा नदिने भन्दै उहाँले प्रत्येक होटल सँग छुट्टाछुट्टै सम्झौता गरिने बताउनु भएको हो ।

भोजन तथा आवास व्यवस्थापन समितिका संयोजक पाण्डेका अनुसार दुई/चार दिन भित्रै भोजन र आवास को छुट्टाछुट्टै दुई उपसमिति बनाउने तयारी भइरहेको छ । एउटा उपसमितिले भोजनको व्यवस्थापन मात्र हेर्ने र अर्को उपसमितिले आवासको व्यवस्थापन मात्र हेर्ने भएकोले महाधिवेशन प्रतिनिधिहरूले गुणस्तरीय सेवा पाउने भन्दै दुई उपसमिति बनाउन लागिएको हो ।

भोजन तथा आवास व्यवस्थापन समितिले देशभरबाट महाधिवेशनमा भाग लिन आउने झन्डै ४ हजार ५ सय प्रतिनिधिलाई कम्तीमा पनि तीन दिन सम्म राजधानीमा व्यवस्थित भोजन र आवासको व्यवस्थापन गर्नुपर्ने छ । प्रतिनिधिबाहेक महाधिवेशनमा सयको सङ्ख्यामा आउने पाहुनाहरूको लागि पनि भोजन र आवासको व्यवस्था गर्नुपर्नेछ ।

‘महाधिवेशन प्रतिनिधिहरूलाई मङ्सिर २४ गते बेलुकी देखि २६ गते सम्म त राख्नै प¥यो’ संयोजक पाण्डेले नेपाल समाचारपत्रसँग भन्नुभयो– महाधिवेशन केही दिन लम्बियो भने अझ खाने बस्ने दिन बढाउनु पर्ने हुन्छ । उहाँका अनुसार सुनधारा, ठमेल, बागबजार र गौशाला एरियामा छुट्टाछुट्टै थप स्थानीय कमिटीहरू पनि बनाइने छ । यो कमिटीले आफ्नो एरियामा बसेका प्रतिनिधिहरूलाई कुनै समस्या भएमा तत्काल समाधान गर्न अग्रसर हुनेछ ।

प्रतिक्रिया दिनुहोस्