दुर्घटनामा बालकको मृत्यु, घाइतेको ट्रमा सेन्टरमा उपचार हुँदै



सीताराम अधिकारी, धादिङ ।

पृथ्वी राजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर २ चालिसेमा बिहिबार मालबाहक ट्रकले ठक्कर दिँदा एक बालिकाको ज्यान गएको छ भने उनकी आमा गम्भीर घाइते भएकी छिन् ।

विरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख १४९७ नम्बरको सिमेन्ट बोकेको मालबाहक ट्रकले पैदल यात्री आमाछोरीलाई ठक्कर दिएर दुर्घटना भएको थियो । दुर्घटनामा धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर १ नलाङकी ११ वर्षीय कृपा अर्यालको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी नायव उपरिक्षक भावेस रिमालले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते मृतककी आमा मिठु अर्यालको गजुरी स्थित प्राथमिक स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं ट्रमा सेन्टर पठाइएको छ । ट्रक चालक प्रहरीको नियन्त्रणमा लिएको छ । दुर्घटनापछि राजमार्गमा सवारी आवागमन बन्द भएकोमा प्रहरीले सवारी साधन संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्