‘सीडी रेसियोले वित्तीय क्षेत्र गलत दिशामा जान रोकियो’



नेपाल समाचारपत्र, काठमाडौं ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रस“ग हातेमालो गर्न तयार रहेको बताउनुभएको छ । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा मन्त्री शर्माले सार्वजनिक–निजी साझेदारीमा निजी क्षेत्रले पूर्वाधार निर्माणमा समेत लगानी हाल्नुपर्ने र यसमा सरकारले सघाउने बताउनुभएको थियो ।

अर्थमन्त्री शर्माले कोभिड १९ पछि खस्किएको अर्थतन्त्रलाई पुनःलयमा फर्काउन तथा विकास निर्माण तथा आर्थिक समृद्धिलाई गति दिन सरकार निजी क्षेत्रसँगै हिड्न तयार रहेको भन्दै मुलुकको अर्थतन्त्र मजबुद बनाउनका लागि पनि सरकारले निजी क्षेत्रको साथ चाहेको अर्थमन्त्रीको भनाइ थियो । विकासका लागि साधन स्रोतको कुनै कमी नभएको तर व्यवस्थापकीय क्षमताको मात्र कमी भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको व्यवस्था सीडी रेसियोकै कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको दाबी गर्दै सीडी रेसियो (कर्जा निक्षेप अनुपात) कार्यान्वयन गरेर वित्तीय संस्थाहरु बचाएका छौं । मुलुकको वित्तीय सही दिशामा रहन मद्दत पुगेको छ बताउनुभयो ।

उहाँले केही सीमित समूहलाई नकारात्मक प्रभाव परेको हुनसक्छ तर त्यसलाई हेरेर हुन्न, हामीले समग्र अर्थतन्त्रलाई हेर्नुपर्ने भन्दै आर्थिक पुनरुत्थानमा सार्वजनिक–निजी साझेदारी अपरिहार्य रहेको धारणा राख्नुभयो । ‘स्पष्ट नीति, योजनाको कार्यान्वयन र निजी क्षेत्रको सहभागिता देश विकासका लागि महत्वपूर्ण छ,’ गभर्नर अधिकारीले भन्नुभयो–‘सरकारले निजी क्षेत्रलाई नीतिगत व्यवस्थामा वा अन्य उपायले व्यावसायिक सहजीकरण गरिदिनुपर्छ भने निजी क्षेत्रले पनि सरकारलाई साथ दिनुपर्छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले ब्याजदर ४/५ प्रतिशतमाथि पुग्छ तब बैंकहरुमा पैसा सुक्छ । तरलता समस्याको कुरा गर्नुपर्दा विदेशी लगानीलाई ल्याउन सकिएको छैन । नीतिगत समस्याका कारण रोकिएको भन्दै एमसीसी देशका लागि आवश्यक छ । यसले विकासमा भाइटल रोल खेल्नसक्ने भएकाले यसलाई रोक्न नहुने धारणा राख्नुभयो ।

त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभाग प्रमुख प्राडा शिवराज अधिकारीले सरकार र निजी क्षेत्र एकअर्काका लागि परिपूरक भएको भन्दै सरकारले निजी क्षेत्रलाई सहजीकरण गरिदिनुपर्ने धारणा राख्नुभयो । अधिकारीले भन्नुभयो–‘सरकार र निजी क्षेत्रबीचको असमझदारीको खाडल पुर्न सकियो भने विकास सम्भव छ, आर्थिक पुनरुत्थान सम्भव छ ।’

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल कोभिडका कारण मुलुकको अर्थतन्त्रमा समस्या पारेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् सम्बोधन गरेको छ । तर, अहिले बजारमा तरलता (लगानीयोग्य रकम) अभावको समस्या देखिएको छ । यो समस्या बैंकले सम्बोधन गर्नुपर्ने धारणा राख्नुभयो ।

सीडी रेसियोलाई छिटोभन्दा छिटो सम्बोधन गर्नुपर्ने भन्दै अधिकांश बैंकहरुको सीडी रेसियो ९० प्रतिशतभन्दा माथि गरिसकेकाले थप लगानी गर्न नसक्ने अवस्थामा पुगिसकेका छन् । यसले निजी क्षेत्र प्रभावित हुन पुगेको छ । व्यवसाय गर्नका लागि लगानीको अभाव हुन थालेको छ । यसतर्फ राष्ट्र बैंकको ध्यान जान जरुरी रहेको उल्लेख गर्नुभयो । सरकार र निजी क्षेत्र एकै रथको दुई पाङ्ग्रा भएर अघि बढ्न तयार छ । मुलुकको आर्थिक विकासका लागि सरकारसँग हातेमालो गर्न निजी क्षेत्र सधैं तयार रहेको उहाँले बताउनुभयाे ।

नेपाल उद्योग परिसंघका कार्यबहाक अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी क्षेत्रले मात्रहोइन पछिल्लो समय सरकारले समेत आर्थिक पुनरुत्थानमा सक्रिय हुन सकेन । जति गर्नुपर्ने थियो त्यति गर्न नसकेको उल्लेख गर्नुभयो । मुलुकको आर्थिक पुनरुत्थानका लागि सार्वजनिक–निजी साझेदारी अपरिहार्यछ ।

कोभिड १९ प्रभाव नेपालमा मात्र होइन सबै जसो मुलुकमा परेको छ । अधिकांश मुलुक विस्तारै उत्थानको चरणमा छन् । यसलाई नेपालले पनि चुनौतीको रुपमा नभई अवसरको रुपमा लिनुपर्ने धारणा राख्नुभयो ।

प्रतिक्रिया दिनुहोस्