शिक्षामन्त्री पौडेलको ३१ बुँदे प्राथमिकता सार्वजनिक, सबै विद्यार्थीलाई कोभिडविरुद्ध खोप



ईश्वरराज ढकाल, काठमाडौं ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यामिक तहसम्मका सबै विद्यार्थीलाई कोरोना संक्रमणविरुद्धको खोप लगाउने कार्यलाई मन्त्रालयको विशेष प्राथमिकतामा राख्नुभएको छ ।मन्त्रालयको कार्यभार सम्हालेको डेढ महिनापछि प्राथमिकताका ३१ बुँदे सूची सार्वजनिक गर्दै मन्त्री पौडेलले कक्षा १ देखि १२ सम्मका सबै विद्यार्थीलाई कोरोना संक्रमणविरुद्धको खोप उपलब्ध गराउने कार्यलाई मन्त्रालयले विशेष प्राथमिकतामा राखेको बताउनुभएको हो ।

मन्त्रालय मातहतका सबै निकायको ब्रिफिङपछि विद्यालय शैक्षिक सेवा प्रवाह सुधारसम्बन्धी मन्त्रालयका प्राथमिकता विषयमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा मन्त्री पौडेलले सबै विषयलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गरिने बताउनुभयो । उहाँले भन्नुभयो–‘मन्त्रालयको जिम्मेवारी सम्हालेपछि गहन अध्ययन गरी प्राथमिकताका बँुदा तयार गरेको हुँ, सबै विषय आफ्नै कार्यकालमा कार्यन्वय गर्नेछु ।’

मन्त्री पौडेलले १५ वटा लक्ष्य निर्धारण गरी शिक्षाका विभिन्न कार्यक्रम कार्यान्वयन गर्न मन्त्रालयलका सबै टिम लागि परेको दाबी गर्दै भन्नुभयो–‘शिक्षामा सुधार गर्न मन्त्रालयको जिम्मेवारी लिएको हौं, सोहीअनुसार काम गर्नेछु ।’ मन्त्री पौडेलले घोषणा गर्नुभएको प्राथमिकताका सूचीमा सबै पालिका र प्रदेशलाई साक्षर घोषणा गरिने, सिक्दै कमाउँदै कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने, अधिकतम सामुदायिक विद्यालयमा प्राविधिक शिक्षाको पढाइ सञ्चालनमा ल्याइने, स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन प्रक्रिया तत्काल अगाडि बढाइने, विद्यालयहरू स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन भए/नभएको अनुगमन गर्ने, निजी बिद्यालयले छात्रवृत्ति उपलब्ध गराए/नगराएको प्रभावकारी अनुगमन गर्ने, शैक्षिक गुणस्तरमा सुधार ल्याउन हरेक क्षेत्रको सूक्ष्म अनुगमन गर्ने, राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई प्रभावकारीरूपमा सञ्चालन गर्ने रहेका छन् ।

त्यस्तै, शिक्षक तथा प्रधानाध्यापकको कार्यसम्पादनका आधारमा पेसागत सहयोग उपलब्ध गराई शिक्षण सिकाइप्रति स्व–जवाफदेही बनाइने र शिक्षक कर्मचारीका पेसागत समस्याहरू तीनै तहको सरकारको क्षेत्राधिकारभित्र रही समाधान गर्न अधिकतम प्रयास गर्ने पनि मन्त्री पौडेलले घोषणा गर्नुभएको छ । मन्त्री पौडेलले आफूले घोषणा गरेका कार्यक्रमलाई तत्काल कार्यान्वयन गरी अघि बढ्ने स्पष्ट पार्नुभयो ।

आफ्नो प्राथमिकताका बुँदा सार्बजनिक गरेकै दिन मन्त्री पौडेलले स्वाथ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडासँग भेटी माध्यामिक तहसम्मका विद्यार्थीलाई तत्काल खोप उपलब्ध गराउने विषयमा छलफल गर्नुभएको थियो । शिक्षा तथा मानवस्रोत विकास केन्द्रको तथ्याङ्कअनुसार माध्यामिक तहसम्मका विद्यार्थीहरूको संख्या ६८ लाख रहेको छ । केन्द्रका महानिर्देशक चूडामणि पौडेलका अनुसार ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ छन् भने ९ देखिमाथि उमेर समूहका ३६ लाख ४२ हजार २ सय ७४ विद्यार्थी रहेका छन् ।

प्राथमिकतामा परेकामध्ये बुँदाहरूमध्ये अधिकांश मन्त्रालयको निरन्तर कार्ययोजनाभित्रका रहेका छन् भने करिब एक दर्जन जति नयाँ र महत्वपूर्ण विषय रहेका छन् । त्यस्तै, प्राथमिकतामा परेका अन्य विषयहरूमा कक्षा १२ सम्मका पाठ्यपुस्तकको छपाई गुणस्तरीय एवं रंगिन बनाइने, विद्यार्थी भर्ना संख्याका अधारमा नभई सिकाइका आधारमा विद्यालयको उपलब्धि मापन गरिने, शिक्षक अस्पताल निर्माणको प्रक्रिया अगाडि बढाइने, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदनलाई कार्यान्वयन गरिने, तीन वर्षभित्र सबै सामुदायिक विद्यालयहरूमा भौतिक पूर्वाधार तयार गरिने लगायतका रहेका छन् ।

शैक्षिक पूर्वाधार निर्माण एवं प्रविधि विकासमा वैदेशिक लगानी आकर्षण गर्ने त्यसका लागि स्वदेशी एवं विदेशी लगानीलाई प्रोत्साहन गर्ने, विभिन्न आन्दोलनका घाइते, अपाङ्ग एवं द्वन्द्व पीडितलाई शैक्षिक अवसर प्रदान गर्नेे, प्रत्येक पालिका, प्रदेश र राष्ट्रियस्तरमा प्रविधिमैत्री नमुना विद्यालय स्थापना गर्ने रहेका छन् ।

तीबाहेक साक्षर घोषणा, संघीय शिक्षा ऐनको मस्यौदा तत्काल तयार गर्ने, अनिवार्य तथा निःशुल्क शिक्षा ऐन नियमको कार्यान्वयन, सामुदायिक विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन, विद्यालयहरूमा भौतिक पूर्वाधार निर्माण गर्ने, शिक्षक विज्ञापन गर्ने, दरबन्दी मिलान गर्ने लगायतका विगत लामो समयदेखि कार्यान्वयन गर्न कठिन विषयलाई प्राथमिकतामा समेट्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्