१२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह: मन्त्री पौडेल



काठमाडौं  ।

१२ वर्षमाथिका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउने विषयमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडासँग छलफल गर्नुभएको छ ।

मंगलबार दिउँसो स्वास्थ्य मन्त्रालय पुगेर शिक्षामन्त्री पौडेलले स्वास्थ्य मन्त्री खतिवडासँग छलफल गर्नुभएको हो । मन्त्री पौडेलले भौतिक उपस्थितिमा विद्यालय सञ्चालन भएपछि १२ वर्षमाथिका सबै विद्यार्थीलाई तत्काल खोपको व्यवस्था गर्न आग्रह गर्नुभएको छ ।  ‘विद्यालय खुले सकेका छन् मन्त्री पौडेलले भन्नुभयो,’  १८ वर्षमाथि उमेर समूहका धेरैले खोप लगाइसकेका छन् त्यस मुनीका विद्यार्थीलाई पहिलो प्राथमिकतामा राखेर तुरुन्त खोपको व्यवस्थापन हुनुप-यो ।

शिक्षामन्त्रीले बालबालिकाहरूलाई विद्यालयमै पुगेर कोरोनाविरुद्धको खोप लगाउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो ‘प्रत्येक विद्यालयमा पुगेर एक हप्ते कोरोनाविरुद्धको खोप अभियान सञ्चालन गरौँ ।, ‘शिक्षा मन्त्रालयले त्यसको समन्वय गर्छ खोपको व्यवस्थापन स्वास्थ्य मन्त्रालयले गरिदिनुप-यो ।’स्वास्थ्य मन्त्री खतिवडाले १८ वर्षमुनिका बालबालिकाको लागि १ करोड डोज खोप ‘बुक’ भइसकेको जानकारी दिनुभयो । ‘बालबालिकाको लागि १ करोड डोज खोप अमेरिकाबाट आउने भएको छ, मन्त्री खतिवडाले भन्नुभयो,  ‘आउने बित्तिकै विद्यार्थीले खोप पाउँछन् ।’

मन्त्री खतिवडाले ३ करोड, २० लाख डोज खोप पाइप लाइनमा रहेको जानकारी दिनुभयो । १२ वर्षभन्दा मुनिका बालबालिकालाई डब्लूएओले कोरोना विरुद्धको खोप लगाउन स्वीकृति  दिएको छैन । १२ वर्षमाथिका विद्यार्थीका लागि १ लाख डोज खोप आएकाले लगाउने काम भइरहेको मन्त्री खतिवडाले बताउनुभयो । शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार कक्षा १२ सम्मका ६७ लाख  ५१ हजार ४ सय ४९ जना विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाउनुपर्ने छ । जसमा ५ देखि ९ वर्ष उमेर समूहका ३१ लाख ९ हजार १ सय ७५ रहेका छन् । ९ देखि माथि उमेर समूहका ३६ लाख ४२ हजार २ सय ७४  जना रहेको मानव स्रोत विकास केन्द्रका महानिर्देशक चूडामणि पौडेलले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्