अपराजित हुँदै विश्वकपमा छानिएका देश



लन्डन, (एजेन्सी) । 

आगामी वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपमा अहिलेसम्म १३ राष्ट्रले स्थान पक्का गरिसकेका छन् । आयोजकको हैसियतले कतारसहित ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, सर्बिया, स्पेन, नेदरल्यान्ड्स, डेनमार्क, स्विट्जरल्यान्ड, क्रोएसिया, जर्मनी र इंग्ल्यान्डले सोझै छनोट चरण पार गरी विश्वकपमा स्थान पक्का गरेका हुन् ।

त्यति मात्र होइन, विश्वकपमा अहिलेसम्म छनोट हुने १३ देशमध्ये सात देशले छनोट चरणमा अपराजित रहँदै विश्वकपमा प्रवेश पाएका छन् । अपराजित रहँदै विश्वकपमा छानिनेमा ब्राजिल, अर्जेन्टिना, फ्रान्स, बेल्जियम, सर्बिया, स्विट्जरल्यान्ड र इंग्ल्यान्ड रहेका छन् ।दक्षिण अमेरिकी महादेशबाट भने हालसम्म दुई देश मात्रै विश्वकपमा छनोट भएका छन् । जसमा दक्षिण अमेरिकी महादेशबाट हालसम्म छनोट भएका दुईवटै देश ब्राजिल र अर्जेन्टिना एउटा पनि खेल नहारी विश्वकपमा छानिए ।

ब्राजिल अन्तिम पाँच खेल बाँकी छँदै छनोट भयो भने त्यसपछि अर्जेन्टिनाले ब्राजिलसँग गोलरहित बराबरी खेल्दै अन्तिम चार म्याच खेल्न अगावै विश्वकपमा स्थान बनायो । हरेक समूहबाट समूह विजेता देश सोझै विश्वकपमा छनोट भएका हुन् ।यता, युरोपियन क्षेत्रबाट जम्मा ५ देश अपराजित रहँदै विश्वकपमा छनोट भएका छन् । १० समूहमध्ये ५ समूहका विजेता विश्वकपमा छनोट भएका हुन । जसमा समूह ‘ए’ बाट सर्बिया अपराजित रहँदै सोझै विश्वकपमा छानियो । सर्बियाले अन्तिम खेलमा पोर्चुगललाई उसैको घरमा स्तब्ध बनाउँदै अपराजित यात्राका साथ कतारमा स्थान बनायो भने पोर्चुगल अप्रत्यासित रूपमा प्लेअफमा धकेलियो । सर्बियाले कुल २० अंक जोड्यो ।

समूह ‘सी’ बाट स्विट्जरल्यान्ड अपराजित रहँदै विश्वकपमा छानियो । स्विजरल्यान्डले ८ मध्ये ५ खेल जित्यो भने ३ खेलमा बराबरी ग¥यो । उसले जम्मा १८ अंक जोडेर समूह विजेता बन्यो । सो समूहबाट यस वर्षको युरो कप विजेता इटाली भने अप्रत्यासितरूपमा दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ । अन्तिम खेल जित्न नसक्दा इटालीले विश्वकपमा छानिन प्लेअफमा संघर्ष गर्नुपर्ने भएको छ ।समूह ‘डी’ बाट डिफेन्डिङ च्याम्पियन फ्रान्स अपराजित रहँदै विश्वकपमा छानियो । उसले ८ मध्ये ५ खेल जित्यो भने ३ खेल बराबरी ग-यो । सोही समूहको अर्को टिम युक्रेन पनि अपराजित छ । तर, अपराजित रहे पनि युक्रेन दोस्रो स्थानमा रहेर प्लेअफमा पुगेको छ ।

युक्रेनले मात्रै २ खेल जित्दा ६ खेल भने बराबरी गरेको छ । यस समूहबाट फ्रान्स १८ अंकका साथ समूह विजेता बनेर विश्वकपमा छानियो ।
समूह ‘ई’ बाट फिफा वरीयताको शीर्ष स्थानमा रहेको देश बेल्जियम पनि अपराजित रहँदै विश्वकपमा छानियो । उसले ८ मध्ये ६ खेल जित्यो भने २ खेल बराबरी ग¥यो । बेल्जियमले कूल २० अंक जोडेर आफ्नो समूहको विजेता बन्यो । सो समूहबाट वेल्स दोस्रो बनेर प्लेअफमा पुग्यो । उता, समूह ‘आई’ बाट इंग्ल्यान्ड पनि अपराजित रहँदै विश्वकपमा छानियो । उसले १० मध्ये ८ खेल जित्यो भने २ खेल बराबरी ग¥यो । उसले जम्मा २६ अंक जोड्यो ।

सोझै छनौट हुन नसकेर प्लेअफमा प्रवेश गर्नेमा फुटबल केही महारथी देश पनि रहेका छन् । जसमा क्रिस्टियानो रोनाल्डोको देश पोर्चुगल, रोवर्ट लेवान्डोस्कीको देश पोल्यान्डदेखि यस वर्षको युरो कप विजेता इटाली पनि प्लेअफमै धकेलिएका छन् । २०१८ को विश्वकप आयोजक देश रसिया पनि प्लेअफमै छ । ग्यारेथ बेलको टिम वेल्सदेखि ज्लाटन इब्राहिमोभिचको देश स्विडेन पनि प्लेअफमै रोकिएका छन् ।

युरोपमा प्लेअफमा कुल १२ देशले प्रतिस्पर्धा गर्नेछन् । जसमा १० देश १० समूहबाट दोस्रो स्थानमा रहेर पुगेका छन् भने यूईएफए नेसन्स लिगमा शीर्ष वरीयताका दुई देशले पनि प्लेफमा प्रवेश पाएका छन् । यी १२ देशले प्लेअफमा सेमिफाइनल र फाइनल गरी दुई म्याच खेल्नेछन् । जसमा २ खेल जित्ने देश मात्रै विश्वकपमा छनोट हुनेछन् । युरोपियन प्लेअफमा जम्मा १२ देशले प्रतिस्पर्धा गर्दा ३ समूहबाट मात्रै ३ देशले विश्वकपमा छनोट हुन पाउनेछन् भने बाँकी ९ देशको विश्वकप यात्रा प्लेअफमै सकिनेछ । अन्य महादेशबाट भने हालसम्म कुनै पनि देश छनोट भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्