कांग्रेस महाधिवेशन देउवा पक्ष बलियो देखिँदै



रामकृष्ण चापागाईं, काठमाडौं । 

कांग्रेस महाधिवेशनबाट नेतृत्व हत्याउने रणनीतिमा लागेका नेताहरूको विशेष चासो रहेको प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनको नतिजा आउन थालेसँगै सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिएको छ । प्रारम्भिक नतिजामा केन्द्रीय नेतृत्व चयन गर्ने महाधिवेशन प्रतिनिधि आफ्नो पक्षको बढी निर्वाचित भएपछि सभापति देउवा हौसिनुभएको छ ।

केन्द्रीय निर्वाचन समितिले जानकारी दिएअनुसार मंगलबार साँझसम्म ५६ जिल्लामा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको छ । सभापति देउवाको महाधिवेशन केन्द्रित गरी गठन गरिएको सचिवालयले जानकारी दिएअनुसार प्ररम्भिक नतिजामा देउवा पक्षका महाधिवेशन प्रतिनिधि बढी निर्वाचित भएका छन् । देउवा सचिवालयले जानकारी दिएअनुसार काठमाडौं क्षेत्र नम्बर ५ मा देउवा निकट महाधिवेशन प्रतिनिधि १२ जना निर्वाचित भएका छन् भने ललितपुर जिल्लाको निर्वाचन क्षेत्रबाट निर्वाचित महाधिवेशन प्रतिनिधिमध्ये ७० प्रतिशत देउवा पक्षका छन् ।

मकवानपुरमा पनि ७० प्रतिशतको हाराहारीमा आफ्नो पक्ष निर्वाचित भएको दाबी गरिरहेको देउवा सचिवालयले झापामा कृष्णप्रसाद सिटौला पक्षसँग नमिल्दा पनि ३० प्रतिशत महाधिवेशन प्रतिनिधि देउवा पक्षको निर्वाचित भएको जनाएको छ । पाल्पामा भने अधिकांश महाधिवेशन प्रतिनिधि संस्थापनइतर पक्षका निर्वाचित भएको बताइन्छ ।कांग्रेस विधानअनुसार प्रत्येक निर्वाचन क्षेत्रबाट क्षेत्रीय सभापतिसहित २५ जनाको दरले महाधिवेशन प्रतिनिधि चयन हुन्छन् ।

क्षेत्रीय अधिवेशनबाट महधिवेशन प्रतिनिधिको नतिजा आउन थालेसँगै केन्द्रीय नेतृत्व दावी गरिरहेका नेताहरू मंसिर २४ देखि २६ गतेसम्म हुने १४औं महाधिवेशनका लागि टिमसहित नेतृत्व दावी गर्ने रणनीति बनाउन थालेका छन् ।
संस्थापनइतर पक्षबाट एकमात्र साझा उम्मेदवार बनाउन नसके नेतृत्व पुनः देउवाको हातमा जाने बताउँदै आएका महामन्त्री डा. शशांक कोइराला भन्नुहुन्छ– ‘आसन्न महाधिवेशनमा संस्थापनइतर पक्षबाट सभापतिका लागि एकमात्र उम्मेदवार बनाउने बारेमा छलफल भइरहेको छ ।’संस्थापनइतर पक्षबाट सभापतिका लागि वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री कोइरालाका साथै पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एकले अर्कोलाई स्वीकार्न नसक्दा एकमात्र साझा उम्मेदवार तय हुन सकेको छैन । उपसभापति विमलेन्द्र निधि र अर्का नेता कृष्णप्रसाद सिटौलासमेतले सभापतिको दाबी गरिरहेका बेला देउवाले भने छुट्टै संयन्त्रमार्फत महाधिवेशन प्रतिनिधिको जोडघटाउ गरिरहेका छन् ।

‘सीमामा बस्ने नेपाली अब्बल राष्ट्रवादी’

गृहमन्त्री बालकृष्ण खाँणले नेपालको सीमा क्षेत्रमा बसोबास गर्ने सबै नेपाली अब्बल राष्ट्रवादी भएको बताउनुभएको छ । नेपालको राष्ट्रियता, शान र पहिचान सीमा क्षेत्रका नेपाली जनताबाटै कायम रहेको मन्त्री खाँणले बताउनुभयो ।

रूपन्देहीको कोटहीमाई गाउँपालिका–५ मर्चवारीमा रहेको मर्चवारी माई मन्दिरमा पूजा सकी नेपाली कांग्रेसका नेता÷कार्यकर्तासँगको भेटघाटमा गृहमन्त्री खाँणले यस्तो धारणा राख्नुभएको हो । उहाँले सीमा क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकले नेपाललाई मिचिनबाट जोगाएको बताउनुभयो ।सीमामा बसोबास गर्ने नेपालीले सीमा क्षेत्रमा रहेको खेत, खलिहान, आली, बगैंचालगायतका स्थललाई मेरो हो भन्दै जोगाएकाले आज पूरा देश जोगिन पुगेको गृहमन्त्रीको भनाइ थियो ।

कार्यकर्तासँगको भेटघाटमा उहाँले हिउँदे बाली लगाउने बेलामा देखिएको रासायनिक मलसम्बन्धी समस्या छिटो समाधान गरी रासायनिक मल छिटोभन्दा छिटो उपलब्ध गराउने बताउनुभएको छ । त्यस्तै, उहाँले कोटही माईमा प्राविधिक शिक्षालय निर्माण गर्न, सडक, खानेपानी र विजुलीलगायतका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको पनि बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्