गरिमा विकास बैंकको १५औं वार्षिकोत्सवमा रक्तदान



प्रताप बानियाँ, म्याग्दी ।

गरिमा विकास बैंकले आफ्नो १५औं वार्षिकोत्सवको अवसरमा मङ्गलबार म्याग्दी सदरमुकाम बेनीमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । वार्षिकोत्सवको अवसरमा सामाजिक उत्तरदायित्व अन्तर्गत समाजमा योगदान पु¥याउने उद्देश्यले ‘रक्तदान, जीवनदान’ भन्ने मूल नारासहित कार्यक्रमको आयोजना गरिएको हो ।

व्लडव्याग हस्तान्तरण गरी रक्तदान कार्यक्रमको बेनी नरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले वित्तीय कारोबारसँगै गरिमा विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तरगतका शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरतासहित विभिन्न क्षेत्रमा गर्दै आइरेको सहयोगको प्रशंसा गर्नुभयो । आर्थिक कारोबारसँगै सामाजिक क्षेत्रमा पनि बैंक तथा वित्तीय संस्थाले योगदान गर्नुपर्ने उहाँको भनाइ छ ।

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा म्याग्दी अन्तरगत रक्तसञ्चार केन्द्रको प्राविधिक संयोजनमा सम्पन्न रक्तदान कार्यक्रममा ३० जनाले रक्तदान गरेका थिएभने ३० पिन्ट रगत सङ्कलन भएको थियो । कार्यक्रममा जिल्लास्थित उद्योगी, व्यापारी, बैंकका सञ्चालक तथा कर्मचारी, सर्वसाधारणले रक्तदान गरेका थिए । म्याग्दीमा सङ्कलन गरिएको रगतलाई बेनी अस्पतालका बिरामीहरुको आवश्यकताअनुसार प्रयोग गरी बाँकी जिल्ला बाहिर समेत पठाउने गरिएको रक्तसञ्चार केन्द्रका संयोजक सुरत केसीले बताउनुभयो ।

गरिमा विकास बैंकका सञ्चालक दिपेन्द्रकुमार श्रेष्ठको अध्यक्षता, पोखरा कलष्टर प्रमुख भोलाप्रसाद तिवारीको स्वागत र बागलुङ शाखा प्रमुख नारायणहरी शर्माको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको बेनी शाखाका वरिष्ठ सहायक कविता सुवेदीले जानकारी दिनुभयो ।

बैंकको म्याग्दी सदरमुकाम बेनी, पश्चिम म्याग्दीको बाबियाचौर, दरबाङ, उत्तरी क्षेत्रका जनतालाई लक्षित गरी अन्नपूर्णको पोखरेबगरमा शाखा सञ्चालनमा रहेको छ । जिल्लामा धेरै ग्राहक र रेमिट्यान्स प्रवाह गर्ने वित्तीय संस्था समेत रहेको बैंक नियमित सामाजिक उत्तरदायित्व अन्तरगतका कार्यक्रमहरु सञ्चालन गर्ने बैंकमध्ये पर्दछ ।

प्रतिक्रिया दिनुहोस्