नेपालमा जलविद्युत् क्षेत्रका अवसर र चुनौती



नेपालमा अहिलेको अवस्थामा यस क्षेत्रमा काम गर्न चाहने उद्यमीहरुलाई प्रोत्साहन मिल्ने किसिमले विशेष हौसलामूलक गतिविधिहरु सञ्चालन गर्नु जरुरी देखिएको छ । नेपालमा कुनै आयोजना बन्ने क्रममा विदेशी कम्पनी आएर काम गर्न चासो राखेको खण्डमा नेपाल सरकारले ती कम्पनीहरुलाई जुन सुविधा उपलब्ध गराउँदै आएको छ, नेपाली कम्पनीहरुलाई भने त्यस्ता सुविधाहरु उपलब्ध गराएको अवस्था छैन ।

अघिल्लो महिना मात्रै लगानी सम्मेलन आयोजना गरेको सरकारले नेपालमा रहेर काम गरिरहेका कम्पनीहरुलाई सहयोग पुग्ने किसिमका नीतिगत पहल गर्न सकेको छैन । स्वदेशमा नै आयोजना सञ्चालन गर्न चाहने कम्पनीहरुलाई सहयोग पुग्ने किसिमका नीतिगत व्यवस्था गर्न सकेको खण्डमा मात्र नेपाली जलविद्युत् आयोजनाहरु राम्रो तवरले अघि बढ्न सक्छन् ।नेपालीहरुले स्वदेशी पुँजीबाट निर्माण हुने आयोजनालाई सहयोग पूग्ने किसिमका नीतिगत व्यवस्था गर्न सके मात्र मुलुकको आर्थिक समृद्धिमा जलविद्युत् क्षेत्रले महत्वपूर्ण योगदान दिन सक्छ ।

नेपालमा उत्पादन भएको जलविद्युत्को आगामी बजार नेपालमा मात्र नभएर छिमेकी मुलुकहरु भारत र चीनलगायतका देशहरुमा समेत निकै राम्रो देखिएको छ । नेपालमा उत्पादन भएको जलविद्युत् किन्नको लागि भारत, चीन, बंगलादेशलगायतका देशहरुले समेत चासो देखाइरहेको अहिलेको अवस्थामा हामीले ती देशहरुमा यहाँ उत्पादन भएको जलविद्युत् बिक्री गर्नको निमित्त सोही बमोजिम नीतिगत व्यवस्थासहित अघि बढ्नु जरुरी रहन्छ ।छिमेकी मुलुकहरुले समेत नेपालमा उत्पादित जलविद्युत् किन्न तयार भएको अवस्थालाई हेर्दा नेपालमा उत्पादित विद्युत्को बजार राम्रो रहेको बुझ्न सकिन्छ । यद्यपि उत्पादित विद्युत्लाई कहाँ र कसरी बजारीकरण गर्ने भन्ने सम्बन्धमा नेपाल सरकारले नै सोही बमोजिम व्यवस्थापन गर्नु जरुरी छ । यसो भएको खण्डमा मात्र निजी व्यवसायीहरु सहजरुपमा विनाहिच्किचावट लगानी विस्तारको निम्ति तयार हुने अवस्था रहन्छ ।

नेपालमा अहिले ठूला जलविद्युत् आयोजनाहरु धमाधम निर्माण भइरहेका छन् । साथै नेपालीहरुको उत्पादन क्षमतासमेत बढ्दै गइरहेको छ । अहिले नेपालमा उत्पादित जलविद्युत् आयोजनाको क्षमता करिब १ हजार मेगावाट रहेकोमा आगामी २ वर्षमा नै नेपालमा निर्माण भइरहेका जलविद्युत् आयोजनाहरुबाट उत्पादित जलविद्युत्को क्षमता बढेर ३ हजारको हाराहारीमा पुग्ने अवस्था देखिएको छ ।अहिलेको अवस्थामा नेपाल सरकारले ५ हजार मेगावाटको लागि पीपीए गरेको छ । अबका दिनमा यस सीमालाई पुनर्विचार गर्दै नेपाल सरकारले निजीक्षेत्रलाई पर्याप्त जलविद्युत् उत्पादनको निम्ति बजार खुला गरिदिनुपर्छ ।

साथै नेपालमा भएको जलविद्युत् क्षमतालाई पहिचान गरी त्यसलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्नको निम्ति मुख्य भूमिका नेपाल सरकारको नै रहने भएको कारण नेपालमा सोही बमोजिमको व्यवस्था राज्य पक्षबाट हुनु जरुरी छ ।सरकारले बजारको व्यवस्था गरेको खण्डमा नेपालमा जलविद्युत् क्षेत्रको सम्भावनासमेत निकै नै राम्रो छ । पछिल्लो समय नेपालीहरुले समेत आफ्ना दैनिक कार्यहरु अधिकांश जलविद्युत्को प्रयोगबाट नै गर्न लागेका छन् ।खाना पकाउने, लुगा धुने, फ्रिज चलाउने, सरसफाइ, मोबाइल, कम्प्युटरलगायत थुप्रै काममा साधारण मानिसहरुले समेत विद्युत्को उपयोग बढाउँदै गएको अवस्थामा नेपालमा भएको पर्याप्त विद्युत् उत्पादन क्षमतालाई बढाउँदै सोही बमोजिमको व्यवस्था नेपाल सरकारबाट हुनु जरुरी छ ।

नेपालमा जलविद्युत् क्षेत्रम काम गर्ने क्रममा निरन्तररुपमा चुनौतीहरु सामना गर्दै आउनुपरेको छ । नेपालमा अहिले राज्य मातहतका निकायहरुका आ–आफ्ना अलग–अलग नीतिहरु छन् । यसले पनि निजी जलविद्युत् प्रवद्र्धकहरुलाई निकै ठूलो समस्या सृजना भएको छ ।
अहिले नेपाल सरकारले जलविद्युत् क्षेत्रको विकास नभई देश अघि बढ्न सक्दैन भन्ने कुरा बुझेको छ । जनताले पनि बुझेका छन् । कुनै पनि उद्योग स्थापना गर्नको लागि समेत जलविद्युत् अनिवार्य पूर्वाधार हो । बैंकहरुसमेत जलविद्युत् क्षेत्रमा लगानी गर्न निकै सुरक्षित महसुस गरेका छन् ।

यसो हुनुमा जलविद्युत् उत्पादनपश्चात् नेपाल विद्युत् प्राधिकरणमार्फत बैंकले सहजै आफ्नो कर्जा असुल गर्न सक्ने अवस्था कायम रहनु पनि हो । बजार पूर्ण सुरक्षितसमेत रहेको कारण बैंकहरुले यस क्षेत्रलाई रोजाइमा पारेका छन् । जनतासमेत जलविद्युत् क्षेत्रमा लगानी गर्नेबारे सचेत बनिसकेका छन् ।

– नवराज ताम्राकार, अछाम ।

प्रतिक्रिया दिनुहोस्