अमेरिकाको विकास र सन्तानको माया



  • भगवती तिमल्सिना

अमेरिका एउटा त्यस्तो मुलुक हो जहाँ विश्वमै नभएको विकास भएको छ र विश्वका मानवजातीको ध्यानाकर्षण भएको छ । मानवजातीको परिवर्तनशील स्वभाव र चाहनाको कदर अमेरिकाको नीति–नियम र कार्यान्वयनको बलियो अवधारणाले बनाएको छ । हरेक मानिसमा कुनै न कुनै तरिकाबाट आफूले आफूलाई चिन्न सक्ने खूबीको बिकास गरेको छ । यहाँका हरेक मानिस आफ्नो काम आफैँ गर्न रुचाउँछन् । आफ्नो रुचिअनुसारको पढाइ, काम, व्यवहार र जिम्मेवारी आफैँ लिने शिक्षा पाएका छन् ।

अमेरिकाको शिक्षा व्यावहारिक, जीवनोपयोगी भएकै कारण यहाँका हरेक मानिसले सबैभन्दा पहिला बच्चालाई जन्मिएर एक–दुई महिनाको हुँदैदेखि हातगोडा चलाउँदासमेत व्यावहारिक शिक्षा गुन्जने खेलौना खेल्न सिकाउँछन् । बच्चा रोइरहँदा बच्चाको ध्यान खिच्ने सुमधुर आवाज बच्चाको वरिपरि गुन्जने गरी सांगीतिक आवाज बज्ने वातावरण बनाइन्छ । बच्चाले हातगोडा दायाँ–बायाँ चलाउँदा छुट्टै सांगीतिक स्वरमा वान, टु, थ्री, ए, बी, सी, डी, डेडी, ममी भन्दै आवाज आउन थाल्छ । बच्चाको मानसपटलमा यस्ता स्वर, आवाज गुन्जिरहन्छ र बच्चाको बोली पनि यसरी नै शुरु हुन्छ ।

बालबालिकालाई खानेकुराका नाम बोली शुरु हुँदादेखि नै कण्ठ हुने गरी वरिपरि किताब, संगीत, खेलौनाजस्ता सामग्री तयार पारिएको छ । बालबालिकालाई नैतिक शिक्षा घरमै सिकाइन्छ । बिहान सबेरै उठ्ने, अभिभावकलाई अभिवादन गर्ने, व्यायाम गर्ने, पानी, चिया, कफी, नास्ता खाने, समयमै स्कुल जानेजस्ता विषयमा पोख्त बनाइएको हुन्छ । विद्यालयको समय र विद्यालयको होमवर्क कसरी गर्ने भन्ने बारेमा बालबालिका मात्र हैन अभिभावक पनि उत्तिकै चनाखो हुनुपर्छ । कहिलेकाहीँ अभिभावकलाई पनि बच्चाको विशेष कार्यक्रममा राख्ने र उनीहरुसँग अभिभावकले पनि आफूलाई मन पर्ने चित्र बनाउने वा फोटो टाँस्ने, त्यसको बारेमा बच्चाहरुको बीचमा बसेर व्याख्या गर्ने गर्नु यहाँको सामान्य चलन रहेछ । यसो गर्नुको मूल कारण अभिभावक पनि जानकार हुनुपर्छ र बच्चालाई हौसला प्रदान गर्नका लागि ऊसँगै बसेर आफूले पनि लेखपढ गर्दा बच्चामा थप जोश–जाँगर आउनुका साथै इमानदारितापूर्वक आफ्नो काममा ध्यान केन्द्रित गर्छन् भन्ने रहेछ ।

यति मात्र नभई बच्चालाई अभिभावकले अनुशासित र मर्यादित बनाउनका लागि आफूले व्यावहारिकरुपमा गरेर देखाउने र सिकाउने गर्नुपर्छ भन्ने मान्यता यहाँको शिक्षामा रहेछ । त्यसैले त अमेरिकाका बच्चाहरु अभिभावकले गरेका हरेक कामको सम्मान गर्छन् र आफू पनि त्यसरी नै अनुशासित र मर्यादित भएर काममा तल्लीन हुन्छन् । तर नेपालको शिक्षा भने विदेशमुखी र अव्यावहारिक भएकै कारण अलिकति शिक्षा पाएका बालबालिका घरको काम गर्न लजाउने, आफ्नो काम पनि आमाबुबाले गरिदिनुपर्छ भन्ने सोचमा हुर्कंदै छन् । तिनै बालबालिका विदेश गएपछि सबै खाले काम गर्न तयार हुन्छन् । यसको मूल कारण नेपालमा काम गर्नुपर्छ भन्ने शिक्षा पाएकै छैनन् र वातावरण पनि त्यस्तो बनेकै छैन । विदेशमुखी शिक्षा नीतिले नेपालको उत्पादन विदेशी भूमिमा गएर श्रम गर्नका लागि मात्र तयार गरिएको छ । नेपालकै विकासका लागि केन्द्रित शिक्षा र वातावरण बनाउनु आजको आवश्यकता हो ।

हामी नेपालीलाई बच्चा स्कुल पठाएपछि बच्चालाई सबै कुरा विद्यालयबाट शिक्षकले सिकाउनुपर्छ भन्ने भ्रम छ । तर बच्चाको पहिलो गुरु बाबुआमा हुन् भने पहिलो पाठशाला घर र अभिभावक नै हुन् । बच्चाले नौ महिनासम्म आमाको गर्भमा बसेर आमाले खाएको खाना र आमाको दैनिकीलाई भोग्दै र सिक्दै आएको हुन्छ । जब बच्चाको जन्म हुन्छ त्यसपछिका दिन भनेको बुबा, घरपरिवारका अन्य सदस्य, आफन्तको न्यानो काखमा हुर्कन्छन् । हरेक दिन बच्चाको व्यवहारमा परिवर्तन आउँछ र उसले नयाँ–नयाँ कुरा सिकिरहेको हुन्छ । यो नै उसले सिकेको सिकाइ र भोगाइ हो । प्रत्यक्षरुपमा बच्चालाई नजिकैबाट चिन्ने आमाबाबुले जस्तो शिक्षा दिन सक्यो उसको जीवनको उतराद्र्धमा त्यस्तै प्रतिफल मिल्छ । त्यसैले बच्चाका लागि आमाबाबुको भूमिका अत्यन्तै महत्वपूर्ण हुन्छ ।

मानवजीवन के हो र कसरी जिउने भन्ने कला सिक्ने पहिलो पाठशाला आमाको कोखबाट नै शुरु हुने हुनाले कोखमा बच्चा बसेदेखि नै आमा र बच्चाको स्वास्थ्यको बारेमा बच्चाको बाबु, परिवारका अन्य सदस्यले विशेष ध्यान दिनुपर्छ । यदि समयमै आमाको बारेमा ध्यान दिन सकियो भने बच्चा र आमा दुवै स्वस्थ र सुन्दर हुन्छन् भन्ने शिक्षा हरेक मानवमा हुनु जरुरी छ । यिनै कमी–कमजोरीका कारण अन्य मुलुकको दाँजोमा विकासोन्मुख देशहरुमा मातृ मृत्युदर अत्यन्तै उच्च रहेको छ । यिनै कारणले स्वास्थ्य, शिक्षा, आर्थिक विकासमा पनि पछि परेको छ । विकासको माध्यम र आधार हरेक व्यक्तिको सक्रियता, इमानदारिता र लगनशीलतामा नै हुन्छ भन्ने कुराको ज्वलन्त उदाहरण विकसित मुलुकको दैनिकीले प्रस्ट पार्छ ।

विकसित मुलुक अमेरिकाको दैनिकी कतिलाई भेउ नपाएर अप्ठ्यारो लाग्नु स्वाभाविक नै हो । तर अमेरिकाबाट धेरै कुरा सिक्न र गर्न सकिन्छ । नेपाल र नेपाली नागरिकले अमेरिकाको विकासमा के–कस्ता त्याग, लगनशीलता, परिश्रम भएका छन् भन्ने बारेमा ध्यान दिनु जरुरी छ । अमेरिकाका बालबालिकाका बारेमा माथि उल्लेख गरिएजस्तै व्यावहारिक जीवनमा पनि परिपक्व बनाउन उत्तिकै मेहनत र शिक्षा दिइएको छ । यहाँका बालबालिकालाई घोकन्ते शिक्षा हैन व्यावहारिक शिक्षा दिइन्छ । एउटा बच्चालाई साइकलको बारेमा सिकाउनु छ भने साइकलका हरेक पार्टपुर्जाको नाम, कुन पार्टले के काम गर्छ, कसरी साइकल बन्छ, त्यसलाई कसरी चलाउने भन्ने बारेमा शिक्षा दिइन्छ । जब बच्चाले साइकल चिन्छ उसलाई गुडाउने तरिका र नियम सिकाइन्छ । बच्चाले साइकल गुडाउन सक्ने भएपछि सडकको ज्ञान दिइन्छ र आफू साथैमा बसेर साइकल गुडाउने लेन चिनाइन्छ । यसरी दिएको शिक्षा नै अमेरिकाको हरेक क्षेत्रको विकासको आधारस्तम्भ हो ।

यसका साथै देशको विकास, सम्भावित अवसर, चुनौती, कुन–कुन क्षेत्रमा के–केको सम्भावना छ भन्ने बारेमा पनि सिकाइन्छ । बच्चालाई १८ वर्ष हुँदासम्म स्कुल शिक्षा पूरा गरी कलेज र कामको खोजी आफैँले गर्ने अनि घरबाहिर बसेर संघर्ष गर्ने शिक्षा घर–परिवार, विद्यालय, साथीसंगी, सामाजिक वातावरणले तय गरिसकेको हुन्छ । बच्चाको पालनपोषण र शिक्षादीक्षाको जिम्मेवारी १८ वर्षसम्म बाबुआमाले विशेष जोड दिएर बहन गर्छन् । त्यसपछिका दिनमा स्वतन्त्रपूर्वक आफ्नो जीवन कस्तो बनाउने आफैँले निर्धारण गर्र्ने स्वतन्त्रता प्रदान गरेको पाइन्छ । यसो गर्नाले व्यक्ति–विकास र देश–विकासमा ठूलो टेवा पुगेको छ । उनीहरु लोभलालचभन्दा पनि जिम्मेवारीबोध गर्ने र इमानदारिताका साथ आफ्नो कर्तव्य पूरा गर्नेतर्फ केन्द्रित हुन्छन् ।अर्थतन्त्रको महत्व बुझेकै कारण आफ्नो खर्च आफैँले जुटाउनेदेखि काम गर्नलाई लजाउँदैनन् । अमेरिकामा बसोबास गर्नेहरुमा सकारात्मक सोचको विकास भएको पाइन्छ । साथै उनीहरुमा शान्त, नम्र, भद्र एवं अरुलाई सत्कार गर्नुपर्छ भन्ने भावना हुन्छ । अरुको चियोचर्चो नगर्ने, कामकाजपछि बचेको समयमा अध्ययन, मनोरञ्जन, भ्रमण गर्नुका साथै नयाँ विषयको खोजीमा केन्द्रित भएकै कारण अमेरिकाको विकासमा यहाँका नागरिकको ठूलो योगदान रहेको छ ।

विशेष गरी एउटै ठाउँमा बस्नेभन्दा फरक–फरक स्थानमा जाने, अध्ययन गर्ने, अहोरात्र डटेर काम गर्ने व्यक्तिहरुमा सोचको विकासका साथै नयाँ–नयाँ योजना र काम गर्ने आधार तय भएको पाइन्छ । यस्ता कार्यका लागि घर–परिवार, राज्य सबैले उत्तिकै सघाउने परम्परा यहाँ छ । अमेरिकामा काम गर्छु भन्ने मान्छेका लागि कामको खाँचो छैन र सरकारले पनि मेहनत गर्नेका लागि सक्दो सहयोग, सद्भाव र वातावरण सृजना गरेको छ । कोभिड १९ ले थलिएको विश्वको आर्थिक मन्दीले अमेरिकालाई पनि उत्तिकै चपेटामा पारेको छ । तर अमेरिकी सरकारले संकटका बेला हरेक व्यक्तिलाई व्यक्तिगत विवरण माग गरी कसलाई कसरी सहयोग गर्नुपर्ने हो भन्ने पहिचान गरेर आर्थिक, सामाजिकरुपमा सहयोग गर्नुले अमेरिकामा बसोबास गर्ने हरेक मानिसको मन जित्न सफल भएको छ ।

सरकारले नागरिकलाई परेको बेलामा सहयोग गरेकै कारण यहाँका नागरिकले पनि राज्यको विकास नै आफ्नो विकासको मूल आधार हो भन्ने ठानी हरेक काममा तल्लीन भएर लागेका छन् । यहाँको विकास एउटा व्यक्ति र एउटा बुद्धिले गरेको होइन । विश्वका बुद्धिजीवी, शिक्षित, वैज्ञानिक, विद्यार्थी, गुरुवर्ग, योजनाकार, अनुसन्धानकर्ता, कानुनविद्, व्यापारी, व्यवसायी, किसान, कामदार सबैले नियम–कानुनको पालना गरी सरकारलाई सही मार्गमा हिँड्न सिकाएकै कारण अमेरिका आज विश्वको उच्च विकास भएको मुलुकका रुपमा चिनिएको छ ।यसरी नै हरेक मुलुकका मानिसले रातदिन नभनी मेहनत गर्ने र इमानदारिताका साथ काम गर्ने÷गराउने वातावरण पाउने थिए भने देशको विकासका लागि यति धेरै भौँतारिनुपर्ने थिएन ।

नेपाली नागरिकले अन्य मुलुकमा गएर श्रम गरी देशको आर्थिक अवस्थालाई सुधार गरेको विषय मात्र औँल्याएर सरकारले आफ्नो दायित्व बिर्सनुहुँदैन । युवाशक्तिलाई विदेशी भूमिको विकासका लागि सधैँ बेच्ने सम्झौता गर्ने नभई सरकारले आफ्नै देशको विकासका लागि युवाशक्ति, बुद्धिजीवी, विज्ञान–प्रविधिका ज्ञाता, कृषक, विद्यार्थी, शिक्षक, राजनीतिज्ञहरुलाई व्यावहारिक शिक्षाका साथ आवश्यक कामकाजका लागि वातावरण बनाएर अघि बढ्नुपर्छ । अर्काको देशको विकास गरेर नेपाल र नेपालीको आर्थिक उन्नति हुने सपना देख्नु गलत हो ।

विश्वका विकसित मुलुकहरुको सहयोग र सद्भावको सम्मान गर्दै आफ्नो मुलुकको रक्षा अनि नागरिकको सुरक्षाका लागि राज्यले हदैसम्मको इमानदारिता देखाउनुपर्छ । विनाभेद्भाव सबै नेपालीलाई बाँच्ने आधार तय गर्नेतर्फ सरकारको योजना आउन ढिला भैसकेको छ । देशका नेताहरुको काम जनतामाथि शासन गर्ने र देशलाई खोक्रो बनाएर सर्वसाधारण नागरिकलाई उठिबास लगाउने नभई सबै नागरिकलाई समान व्यवहार गरी न्यायपालिकालाई स्वतन्त्रपूर्वक काम गर्न दिनुपर्छ । न्यायालयको काम, कर्तव्य र अधिकारका बारेमा सर्वसाधारणले औँल्याउने, यो वा त्यो भनेर बाहिरबाट औँला ठड्याउने नभई योग्यता र दक्षताका आधारमा जिम्मेवारी निर्वाह गर्ने वातावरण बनोस् । अधिकतम् विद्युत् उत्पादन गरी मुलुकमा खपत गराएर पेट्रोलियम पदार्थ÷एलपी ग्यास कटौती गर्नेतर्फ सरकारको ध्यान पुगोस् ।

नागरिकको नैसर्गिक अधिकार गाँस, बास, कपास, स्वास्थ्य, शिक्षालाई संविधानमा सीमित नराखी अनि विदेशीको मुख नताकी आफैँमा आत्मनिर्भर हुनेतर्फ लाग्नुपर्छ । कृषि, विद्युत्, सिंचाइ, साना उद्योग, करेसा बारीको उत्पादनमा सरकारको ध्यान पुगोस् । आफ्नै देशको उत्पादनमा प्राथमिकता र बजारीकरणमा सरकारको ध्यान पुग्ने हो भने नेपालको विकासका लागि युवाशक्तिले हातमा हात मिलाएर निश्चय नै साथ दिनेछन् । आफ्नो देश बनाउनेतर्फ हरेक नेपालीले आ–आफ्नो ठाउँबाट सोचौं । सरकारले पनि देशको विकासका लागि नागरिकको सम्मान गर्दै क्षमता र दक्षताका आधारमा कार्य विभाजन गरेर सहज वातावरण बनाओस् ।

(लेखक तिमल्सिना हाल अमेरिकामा हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्