सञ्चय कोषले जग्गा किन्न पनि ऋण दिने



काठमाडौं, नेस  । 

कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा शुरू गरेको छ । कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चय कोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।

जग्गा खरिद सापटीको अधिकतम् सीमा धितो मूल्यांकनबाट कायम भएको रकममा नबढ्ने गरी सञ्चयकर्ता कार्यरत तह वा श्रेणीको शुरु तलबमा र सेवा अवधिको आधारमा १० वर्षको तलब वा अधिकतम् ५० लाख वा जग्गा खरिदबिक्री गर्ने व्यक्ति, सरकारी निकाय वा कम्पनीले निर्धारण गरेको मूल्यमा नबढ्ने गरी सापटी रकम प्रदान गर्ने छ ।

सञ्चयकर्ताले पहिले लिएको जग्गा खरिद सापटी चुक्ता गरेमा पुनः दुईपटक मात्र जग्गा खरिद सापटी लिन सक्नेछन् । जग्गा खरिद सापटीको धितोको लागि न्यूनतम चार मिटरको बाटो भएको काठमाडौं उपत्यकाभित्र कम्तीमा तीन आना र उपत्यका बाहिर कम्तीमा आठ धुर वा पाँच आना क्षेत्रफल र तोकिएको मापदण्ड पूरा भएको जग्गा हुनुपर्ने छ ।

कोषले कात्तिक मसान्तसम्ममा सञ्चयकर्ताको आवास निर्माणका लागि ३७ अर्ब ७८ करोड, शैक्षिक सापटी ५९ करोड, घर मर्मत सापटी १ अर्ब ८७ करोड र सरल चक्र कर्जा ४ अर्ब ९२ करोड गरी ४५ अर्ब १७ करोड रुपियाँ लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्