अमेरिकामा डलर कमाउनै ध्यान हुन्छ, सिर्जना फुर्दैन: कन्हैया सिंह परियार



नेपाली आधुनिक गीत गायन, रचना र संगीत सिर्जनामार्फत लोकप्रियता कमाएका कन्हैया सिंह परियार १३ वर्षदेखि अमेरिका बस्दै आएका छन्। तर, उनले संगीत कर्मलाई माया मार्न सकेका छैनन्।

करिब तीन सय आधुनिक, फिल्मी, राष्ट्रिय, प्रगतिशील, लोक, पप, लोक पपसँगै विभिन्न भाषा भाषिका गीत गाएका छन्। पछिल्लो समयमा जुन गीत सुनेर बोलको १६ जना नेपाली गीत संगीतका हस्तीका बारे गीत तयार गरेर वाहवाही कमाएका उनका नेपालगञ्ज बजारैमा, तिम्रो साथ, अपेक्षा, पिरतीको फुल, आलाप (तिमीले भुल्न सके पनि), आलाप–२ (मन हुनेको माया), आलाप–३ (वा रे वा) जस्ता एल्बम प्रकाशित छन्। गीत गायन तथा संगीत सिर्जनाबाट दर्जनौं अवार्ड चुम्न सफल साहित्यकार, संगीतकर्मी र कलाकारहरूको अन्तर्राष्ट्रिय संस्था इनास अमेरिका च्याप्टरका अध्यक्ष रहेका उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत छ:

  • विदुर गिरी

हाल के गर्दै हुनुुहुन्छ?

यसपटक व्यक्तिगतभन्दा पनि संस्थागत कामका लागि नेपाल आएको हुँ। इनास अमेरिकाको अध्यक्षको नाताले तेस्रो ग्लोबल महाधिवेशनको प्रतिनिधि पात्रको रूपमा आएको थिए। त्यसबाहेक सांगीतिक कर्महरू पनि गरेँ। नेपाल आउँदा गायक संगीतकारको रूपमा जहिले पनि केही न केही गरिरहेको हुन्छु। शम्भुजित बासकोटाको रचना र संगीतमा लोक आधुनिक फ्लेवरको गीत रकेर्ड गरे भने ज्योति प्रकाशको रचना तथा संगीतमा अर्को गीत रेकर्ड गरेको छु। आफैंले एक सांगीतिक सम्मान कार्यक्रमको आयोजना गरेर लोक गायिका चन्द्रकला शाहलाई सम्मान पनि गरे।

अमेरिकामा नेपाली कलाकार, साहित्यकार, तथा संगीतकारहरू कतिको संगठित छन्?

परदेशमा छिमेकी पनि आफ्नो पारिवारिक सदस्यजस्तो अनुभव हुन्छ। त्यसैले, परदेशमा हामीहरू झन् संगठित हुन्छौं। संस्था (इनास) मा अग्रजदेखि अनुजसम्मका कलाकार आबद्ध हुनुहुन्छ।

अमेरिकाबाट आउन पाएको छैन, अवार्ड र सम्मानको ओइरो लागेको छ त?

अरूले पैसा र बैंक ब्यालेन्समा ध्यान दिन्छन्। मैले कहिल्यै पनि त्यो सोचिन। मेरो एउटा खुट्टा परदेशमा भए पनि भने अर्को खुट्टा स्वदेशमै हुन्छ। म बेला–बेलामा नेपालमा आइरहन्छु र आएको बेला संगीत कर्ममा जोडिएकै हुन्छु। त्यसैको फलस्वरूप आयोजक तथा जुरी मेम्बरले मुल्याकंन गर्नुहुन्छ र सम्मान तथा अवार्ड दिनुहुन्छ। सानोमा नारायण गोपाल, गोपाल योञ्जन, अरुण थापा, अम्बर गुरुङलगायतका श्रष्टाका गीत संगीत सुनेर हुर्के बढेको मैले उहाँहरूबाटै गीत गाएर संगीत यात्रा शुरू गरेको थिए। उहाँहरूकै नाम लिएर १६ जना स्रष्टाबारे बनाएको गीतबाट सगरमाथा म्युजिक अवार्डमा वर्ष गायकको अवार्ड चुमेँ। एएनपी मिडिया हाउसले एएनपी नेसनल अवार्डमा डायस्पोरा संगीतकर्मी सम्मानका लागि सम्झियो। मैले सांगीतिक करिअरमा अवार्ड र सम्मान त धेरै पाए, तर डायस्पोरा सम्मानले चाहिँ परदेशी भूमिमा रहेर नेपाली कला साहित्यका लागि गरेका कार्यप्रतिको उच्च मँल्याकंन भएको महसुस गरेको छु।

यति प्रतिभावान् मान्छे अमेरिका जानुपर्ने बाध्यता के थियो?

अहिलेको समयको कुरा गर्दा कुनै पनि संगीतकर्मीलाई अमेरिका जानुपर्ने अवस्था छैन। तर, आजभन्दा १३-१४ वर्ष अगाडिको कुरा गर्ने हो भने अरू पनि गएका भए हुन्थ्यो भनेर सोच्ने स्थिति थियो। नेपालमा द्वन्द्वकाल थियो। संविधान बनेको थिएन र राजनीति अवस्था पनि त्यस्तै थियो। जब देश राजनीतिकरूपमा बलियो हुन्छ, कला साहित्य, संगीत, पत्रकारिता हरेक क्षेत्र बलियो बन्छ। त्यो बेला अन्य क्षेत्रजस्तै गीत–संगीतको क्षेत्र पनि धराशायी स्थितिमा थियो। अडियोको व्यापार थिएन। आफ्ना सिर्जना प्रस्तुत गर्न पाइँदैन, योगदानको मूल्यांकन हुँदैन र आम्दानीको स्रोत छैन भने कसरी जीवन निर्वाह गर्ने? त्यस्तो अवस्थामा अमेरिका जान पाएको अपच्र्युनिटीलाई समातेको हो। म त्यहाँ गए पनि नेपाली गीत–संगीतको प्रचार र जगेर्ना गरिरहेको छु नि त।

तपाईं त बाध्य भएर अमेरिका जानुभयो। अहिले त अमेरिका जान कलाकारहरूको लर्को लागेको छ त, खासमा अमेरिकामा के छ त्यस्तो?

यसको दोषी त म आफैंलाई पनि ठान्छु र सामाजिक सञ्जाल पनि दोषी छ। मसँगै संघर्ष गरेका साथीहरू अहिले पनि कोठामा हुनुहुन्छ र म यो ठाउँमा छु। मेरो दिनचर्या सामाजिक सञ्जालबाट उहाँहरूले हेर्नुहुन्छ। उहाँहरूलाई आफँ पनि डेराको संघर्षको जीवनलाई समाप्त गर्न सकिन्छ कि भन्ने लागेको हुन सक्छ।

अमेरिका गएपछि सबैलाई धन सम्पत्ति र सुखसयल प्राप्त हुन्छ?

हो। त्यहाँ धन सम्पत्ति सुखसयल पर्याप्त हुन्छ, तर त्यो नै ठुलो कुरा होइन। मानिस कति खुसी र सन्तुष्ट छ, उसको मनमा कति शान्ति छ, त्यो महत्वपूर्ण हुन्छ। धन सम्पत्ति, सुखसयल र लक्जरी लाइफलाई मात्र हेर्ने हो भने म यति बेला नेपाल आएर गीत संगीतका काममा व्यस्त हुँन्न थिएँ होला।
अमेरिकामा रहँदा संगीत कर्म कतिको गर्नुहुन्छ?

नेपालमा जस्तो धेरै हुँदैन, तर अमेरिका बस्ने कलाकारमा म धेरै नैै संगीत कर्म गर्छु जस्तो लाग्छ। इनास अमेरिकाको अध्यक्ष भइसकेपछि मेरो कर्म पनि त्यही हो। अमेरिका गएपछि सिर्जनाको क्रम थामिएको छ। मलाई १६ जना स्रष्टाबारे गीत बनाउनै २-३ वर्ष लाग्यो। तर, म त्यही मान्छे हो, जो काठमाडौंमा बस्दा काली सुन्दरी गीत सिर्जना र संगीत आधा घण्टामा गरेको थिए। अमेरिका गएपछि सिर्जना करिब नगण्य अवस्थामा छ, तर प्रस्तोताको रूपमा सक्रिय छु। संगीत सिर्जना र रेकर्ड पनि गर्न सकिन्छ, तर भित्रैबाट फुर्दैन।

कन्हैया सिंह परियारलाई प्रतिभाको हिसाबले के भन्नुहुन्छ, गायक कि संगीतकार?

म गीत पनि अलिअलि लेख्छु, संगीत पनि गर्छु, तर गीत गायनका कारण धेरैले गायक भनेर चिन्नुहुन्छ। तर, म आफँलाई सर्जकको रूपमा लिन्छु। दर्शकले माया गरेर गायकको रूपमा चिन्नुहुन्छ, त्यो मैले मान्नै पर्छ।

तपाई गायक, संगीतकार र गीतकार अनि श्रीमती अञ्जना गुरुङ गायिका? र पनि किन उता संगीत सिर्जना गरी रेकर्डिङको वातावरण बनेन?त्यहाँ ‘एनी हाउ डलर कमाऊ’ भन्ने हुन्छ। केमा आम्दानी छ, कुन जब या बिजनेसमा डलर छ भन्ने भइरहेको हुन्छ। त्यहाँ संगीत प्राइमरी भन्दा पनि सेकेन्डरी कुरा हो र संगीतकर्मका लागि वातावरण हुँदैन। त्यहाँ कुनै चाडपर्व, दशैं तिहार आदिमा मात्र कार्यक्रम आयोजना हुन्छ। तर, नेपालमा संगीतकर्मका लागि कुनै विशेष दिन र अवसर कुर्नुपर्दैन। यहाँ सधैं कलाकारिता तथा गीत–संगीतको माहोल र अवसर हुन्छ।

गायक कन्हैया सिंह सफल कि गायिका अञ्जना गुरुङ?

गायिका अञ्जना गुरुङ नै सफल। यसमा दुई मत नै छैन। अञ्जना भनेको आज भन्दा १०-११ वर्ष अघि नम्बर वनमा अएकी गायिका हुन्। काली सुन्दरी, बदनाम भए म तिम्रै कारणले, जसले मुटु चुडेर लग्योजस्ता लोकप्रिय गीतकी व्यावसायिक गायिका हुन्। उनी पाश्र्व र आधुनिक गायनमा जमेकी गायिका हुन्। त्यस कारण गायनमा म उनलाई आफुभन्दा माथिको स्थानमा राख्छु।
 

पाश्र्व, आधुनिक गायन तथा संगीत सिर्जना गर्नुहुन्छ, यीमध्ये गाह्रो कुनमा हुँदो रहेछ?

संगीत सिर्जनामा गाह्रो भनेको चलचित्र विधा हो। कतिपय निर्माताले भारतीय फिल्मको कपी गर्नु भन्दै गीत ल्याउनुहुन्छ। मैले सिर्जना अर्कै गरेको हुन्छु। निर्माताले एउटा भन्नु हुन्छ, निर्देशकको अर्कै प्रस्ताव हुन्छ। सबैको चित्त बुझाउनुपर्छ। त्यहाँ बाउन्ड्री बढि हुन्छ। त्यसभित्र रहेर पनि राम्रो काम गरेर त्यसलाई सफल बनाउनुचाहिँ ठुलो सर्जक हो। फिल्ममा आफुलाई स्ट्याबलिस्ट गर्न सक्यो भने उ सर्वमान्य सर्जक हो। सजिलोचाहिँ आधुनिक र आफ्ना एल्बमको काम हो। जहाँ आफ्नो कल्पनाअनुसार फ्री भएर गाउन सकिन्छ।

संगीत क्षेत्रमा कसरी आकर्षित हुनुभयो?

मेरो माइलो दाजु सुरेश सिहं परियार म सानो हुँदादेखि नै गितार बजाएर गाउनु हुन्थ्यो। गीत गायनबाट उहाँको लोकप्रियता टोलदेखि जिल्ला तथा क्षेत्रीय स्तरसम्म थियो। भारतीय कलाकारहरू सहभागी भएको कार्यक्रममा समेत उहाँलाई बोलाइन्थ्यो। उहाँको लोकप्रियताबाट प्रभावित भएर गायनमा आकर्षित भए। दाइसँग गितार सिकेँ, पवन विश्वास भन्ने दाइको साथीले बाधा परून् जति नै भन्ने गीत सिकाउनुभएको थियो। त्यहीबाट गायन यात्रा शुरू गरे।

संगीतमा आउँदाका शुरुआती दिनका संघर्षलाई कसरी सम्झनुहुन्छ?

ती दिन एकदमै पीडादायी थिए। म पश्चिमबाट आएको मान्छे, त्यो बेला नेपालगञ्जबाट आधुनिक गीत गायनमा आउने कम थिए। शुरुआतमा आफ्नो गाउँ ठाउँ र भेगका मानिसको साथ सर्पोट जरुरी हुन्छ। तर, त्यस्तो वातावरण थिएन। तर, पनि संगीतकर्म गरिरहे, गीत सिकिरहेँ, रेकर्डिङ गरिरहे, धेरै अग्रजहरूको कुण्ठाका कारण निराशा भइरहेँ, आर्थिक समस्या त छँदै थियो। पश्चिमका मानिसले आधुनिक कमै गर्छ भन्ने थियो। संगीतकारहरूबाट रचना, संगीत पाउन पनि समस्या थियो। जसरी पनि इच्छा आकांक्षा पँरा गर्छु भनेर लागिरहेँ। पहिलो एल्बम नेपालगञ्ज बजारैमा ल्याए।

जसबाट राष्ट्रिय गायकको पहिचान मिल्यो। अहिले मान्छे गाउँबाट आएको केही समयमै गीत गाउन शुरू गर्छन् र युट्युबमा हाल्छन्। तर, त्यो बेला एल्बम गर्नका लागि मैले १० वर्ष संघर्ष गर्नुप-र्यो। मेरो जीवन र सफलतामा मेरी आमा टीकामाई देवी परियारको एकदमै ठुलो भँमिका छ। उहाँले मलगायत आफ्ना सन्तानहरूका लागि निकै संघर्ष गर्नुभयो। उहाँकै स्मृतिमा मैले आलाप एल्बम तयार पारेको थिए। आमाकै आशिर्वादले त्यो एल्बम अत्यधिक सफल भयो। म सानै हुँदा बुबा गोपाल सिंह परियार प्रहरीमा जागिरे हुनुहुन्थ्यो। गाउँलेको मिलेमतोमा डाँकाहरूबाट बुबामाथि हमला भयो। बुबा हातखुट्टा भाँचिएर थला पर्नुभयो। व्यापार असफल र बुबा पनि अपाहिज हुनुभएपछि आमालाई बुबाको स्याहार गर्नुपर्ने हुन्थ्यो भने हाम्रो हेरचाह पनि गर्नुपथ्र्यो। हामी स्कुलबाट आउँदा भोक लाग्थ्यो र खाने कुरा माग्थ्याै।

आमासँग हामीलाई दिन खानेकुरा हुन्थेन र छिमेकीहरूसँग मागेर हामीलाई खुवाउनुहुन्थ्यो। संगीतप्रतिको मेरो रुचि देखेर आमाले मलाई सधै संगीत क्षेत्रमा लाग्न प्रेरित र सहयोग गर्नुहुन्थ्यो। बेला–बेलामा आफुलाई यस क्षेत्रमा अगाडि बढा, त ओझेलमा नपरेस् भन्नुहुन्थ्यो। उहाँ दमको रोगी हुनुुहुन्थ्यो, बिरामी अवस्थामा मेरो गीत टेलिभिजनमा हेर्नु भएछ। त्यसपछि गीत रेडियोमा सुने टिभीमा देखे, खुसी छु भनेर भावविह्वल भएर कुरा गर्नुहुन्थ्यो। मेरो गीत सुने पनि आमाले मेरो सफलता देख्न पाउनुभएन।

(कन्हैया आमालाई सम्झेर एकाएक भावविह्वल भए, केही बोल्न सकेनन् र अन्त्यमा भक्कानिए।)

प्रतिक्रिया दिनुहोस्