बालबालिकामा कोभिडको असर



कोभिडले विश्व–सभ्यतामै गहिरो रेखा को-यो । विगतमा प्रथम विश्वयुद्ध वा द्वितीय विश्वयुद्धपछि आएको परिवर्तन भनेर सीमारेखा कोर्ने गरिएजस्तै ‘कोभिडको महामारीपछि’ भनेर कालखण्डको वर्गीकरण गर्नुपर्नेभयो । कोभिडको प्रहारले विश्वमा नयाँ अभ्यासहरू शुरू गरायो ।

शिक्षा वा प्रशिक्षण प्राप्त गर्ने, सूचना सम्प्रेषण गर्ने र बैठक आदि सञ्चालन गर्ने विधामा मात्र होइन स्वास्थ्य सतर्कताका कारण मित्रता र समीपताको अभिव्यक्ति दिने सभ्यतामा पनि कोरोनाले परिवर्तन ल्याइदिएको छ । कोरोनाले अधिकांशतः असर नै पारेको भए तापनि कतिपय क्षेत्रमा प्रभाव पनि देखाएको छ । यद्यपि, अधिकांशतः असर नै देखिन्छ, नोक्सान नै पाइन्छ तर पनि कोभिडका सकारात्मक प्रभाव पनि छन् । त्यसलाई स्वीकार गर्नु स्वाभाविकै हुनेछ ।

कोभिडको असरको कुरा गर्दा निश्चित रूपमा यसले ५२ लाख नागरिकको ज्यान लिएको सन्दर्भ नै सबैभन्दा चोटिलो पक्ष हो भनेर मान्नैपर्छ । काठमाडौं उपत्यकामा रहेको जनसंख्याबराबरको परिमाणमा विश्वका नागरिकलाई यसले उदरस्थ बनायो । यसमा स्वदेशमा रहेका नेपाली ११ हजार थिए भने विश्वको विभिन्न मुलुकमा रहेका नेपालीको यकिन तथ्यांक बनाउन सकिएको छैन । तर कोभिडकै कारण १ सय ६९ बालबालिका अभिभावकविहीन भएको, ७ सय ५३ वटै स्थानीय तहमा गरिएको अध्ययनले देखाएको छ ।

राष्ट्रिय बाल अधिकार परिषद्ले गरेको अध्ययनले यस्ता बालबालिका अहिले सहयोगको प्रतीक्षामा छन् । अन्तर्राट्रिय बालअधिकार दिवसको अवसरमा परिषदले सार्वजनिक गरेको ‘नेपालमा बालअधिकार स्थिति प्रतिवेदन’ मा कोभिडको कारण सयौं बालबालिका समस्यामा रहेको उल्लेख छ । परिषद्को पहलमा ती बालबालिकालाई अभिभावकत्व ग्रहण गराउने प्रक्रिया शुरू गरिएको पनि जनाइएको छ । नेपालमा ५ देखि १७ वर्ष उमेर समूहका १५ दशमलव ३ प्रतिशत बालबालिका श्रममा संलग्न रहेको पनि उल्लेख गरिएको छ ।

यो संख्या सन् २००८ मा भन्दा सन् २०२१ मा ५ लाखले कमी आएको सकारात्मक पक्ष पनि देखाइएको छ । ३ सय ५५ सडक बालबालिकाको विभिन्न क्षेत्रबाट उद्धार गरी संरक्षण तथा पारिवारिक पुनर्मिलन र पुनःस्थापनाको व्यवस्थापन गरिएको बताइएको छ । सडक दुर्घटनामा पनि बालबालिका परिरहेका छन् । सडक दुर्घटनाकै कारण चालु आर्थिक वर्षमा ७ बालबालिकाको मृत्यु, १४ जना गम्भीर घाइते र २ सय ६७ घाइते भएको देखिन्छ । बालविवाहको मार पनि उनीहरू भोगिरहेका छन् । १५ वर्षभन्दा कम उमेरमा विवाह हुनेहरू ५ दशमलव २, १८ वर्षभन्दा कम उमेरमा विवाह हुनेहरू २२ दशमलव ७, १५ देखि १९ वर्ष उमेर समूहका १२ दशमलव ८ विवाहित रहेको तथ्याङ्कमा उल्लेख छ ।
नियमित अवस्था नै बालमैत्री हुन नसकिरहेको मुलुकमा कोरोनाको प्रहार अझ बढी चोटिलो हुनआयो । घाउ भएकै ठाउँमा बारम्बार ठोक्किने र पीडा पुग्ने प्राकृतिक प्रक्रियामा नेपाल प-यो । आज कोरोनाको कहर पनि बालबालिकामाथि नै अझ चोटिलो हुन आयो । अभिभावक गुम्दा पनि समस्यामा पर्ने बालबालिका, आफैं रोगको शिकार हुँदा पनि पीडित हुने बालबालिका, अनि आज खोप नपाउने पनि बालबालिका !

प्रतिक्रिया दिनुहोस्