मरुती सिमेन्टको उत्पादनमा रोक

लापरबाहीको पराकाष्टा



नेपाल समाचारपत्र, काठमाडौं । 

नेपाली बजारमा गुणस्तरहीन सिमेन्ट उत्पादन गर्दै आएको मारुती सिमेन्ट कारबाहीमा परेको छ । विभिन्न आकर्षक विज्ञापन गरेर नेपाली उपभोक्तालाई ठगी गर्दै आएको उक्त सिमेन्ट कम्पनीबाट उत्पादित सिमेन्ट प्रयोग नगर्न समेत नेपाल गुणस्तर तथा नापतौल विभागले उपभोक्तालाई आग्रह गरेको छ ।

सो कम्पनीबाट उत्पादित ४३ ग्रेडको ओपीसी सिमेन्ट प्रयोग नगर्न र बजारमा पठाइएका सबै सिमेन्ट फिर्ता लिन पनि विभागले कम्पनीलाई निर्देशन दिएको छ ।विभागले विभिन्न मितिमा बजार अनुगमन गरी संकलन गरिएको उक्त कम्पनीको ओपीसी ४३ ग्रेटको सिमेन्ट गुणस्तरहीन भएकाले प्रयोग नगर्न आग्रह गरेको हो ।

नेपाल गुणस्तर चिह्न प्राप्त उक्त कम्पनीको सिमेन्ट नेपाल गुणस्तर (प्रमाणपत्र चिह्न) ऐन–२०३७ तथा नियमावली–२०४० बमोजिम कारबाहीको दायरामा ल्याएको पनि विभागले जनाएको छ ।संकलित नमुनाको एमपीए ७ र २८ दिनको मान क्रमशः ३१ र ३७ मात्रै देखिएको थियो । विभागका अनुसार उक्त सिमेन्टको मापन ३३ र ४३ हुनुपर्नेमा उपभोक्तलाई ठगी गर्न उक्त कम्पनीले गुणस्तहीन सिमेन्ट उत्पादन गर्दै आएको देखिन्छ ।

सिराहामा मुख्य उत्पादन कार्यालय रहेको मारुती सिमेन्टलाई विभागले १५ दिनभित्र स्पष्टीकरण दिन पनि निर्देशन दिएको छ । विभागले चित्तबुझ्दो जवाफ नदिए उक्त कम्पनीबाट उत्पादन हुने ओपीसी सिमेन्ट सदाका लागि बन्द गरिदिने चेतावनी पनि दिएको छ ।विभागले धनुषाको जानकी केवल ई. प्रालि र बाराको श्री ग्यास वान प्रालिलाई पनि कारबाही गरेको छ ।

विभागले सो प्रालिले वितरण गर्दै आएको पीभीसी केवल बिक्री–वितरण रोक्न र हालै वितरण गरिएका केवल फिर्ता लिन र १५ दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ ।त्यस्तै, बाराको पिलुवाबाट उत्पादित श्री ग्यास वान प्रालिबाट वितरण गरिएका सबै ग्यास फिर्ता लिन पनि निर्देशन दिएको छ ।

सो कम्पनीले बोटलिङ गरी बजारमा पठाएको ग्यासमा क्याप नलगाएको, पर्जिङ मेसिन प्रयोगमा नल्याएको, सीभीटी मेसिन प्रयोग नभएको, एचएसटी मेसिन प्रयोग गर्नुपर्नेमा सोको प्रयोग नभएको, सिलिन्डर धुने पखाल्ने व्यवस्था नभएको, भल्भसमेत मर्मत नगरेको विभागले जनाएको छ ।विभागले उक्त प्रालिलाई तत्कालै उत्पादन बन्द गर्न र १५ दिनभित्र स्पष्टीकरण दिन पनि आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्