सञ्चित कोष १ खर्ब ७ अर्बले धनात्मक



काठमाडौं, (नेस) । 

गत आर्थिक वर्षमा राजस्व संकलन ८२ दशमलव ८१ प्रतिशत भएको छ । कुल राजस्वमध्ये करतर्फ ९ खर्ब १२ अर्ब ९४ करोड ९० लाख र अन्य कर राजस्व १ खर्ब ५९ अर्ब ३३ करोड ७१ लाख गरी कुल १० खर्ब ७२ अर्ब २८ करोड ६१ लाख राजस्व संकलन गर्ने लक्ष्य राखेकोमा ८ खर्ब ८८ अर्ब १ करोड ४२ लाख रुपियाँ राजस्व संकलन भएको हो ।

मंगलवार महालेखा नियन्त्रकको कार्यालयले अर्थमन्त्री जनार्दन शर्मासमक्ष पेस गरेको आर्थिक वर्ष २०७७-७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदनमा सो कुरा उल्लेख छ प्रतिवेदनअनुसार कुल विनियोजन रकम १४ खर्ब ७४ अर्ब ६४ करोड ५४ लाखको ८१ दशमलव १५ प्रतिशत रकम अर्थात ११ खर्ब ९६ अर्ब ६० करोड ३० लाख खर्च भएको छ ।

यस्तै आर्थिक वर्ष २०७७-७८ को कुल खर्चमा नेपाल सरकारको स्रोतबाट ८२ दशमलव ३२ प्रतिशत तथा कुल खर्चको १७ दशमलव ६८ प्रतिशत वैदेशिक स्रोतबाट व्यहोरिएको छ । उक्त वैदेशिक स्रोतमा अनुदानको हिस्सा ३ दशमलव ४ प्रतिशत र ऋणको हिस्सा १४ दशमलव ६४ प्रतिशत रहेको छ । आव २०७७-७८ मा संघीय सरकारको सञ्चित कोषमा १२ खर्ब ६७ अर्ब ४९ करोड ८८ लाख प्राप्ति र खर्च ११ खर्ब ६० अर्ब ३३ करोड ३३ लाख भुक्तानी भई चालू आव कोष अवस्था १ खर्ब ७ अर्ब १६ करोड ५४ लाखले धनात्मक रहेको छ ।

प्रतिवेदन बुझ्दै अर्थमन्त्री शर्माले प्रणालीगत सुधार गरी राजस्व संकलन र बेरुजु फछ्र्योटमा देखिएका समस्या समाधान गर्नतर्फ सरकारको ध्यान गएको बताउनुभयो । उहाँले विकास खर्च बढाउन संस्थागत सुदृढीकरणको साथै ऐन कानुनमा परिमार्जन गर्ने र दृढ इच्छाशक्तिका साथ काम गर्ने परिपाटीको विकास गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा महालेखा नियन्त्रक सुमनराज अर्यालले आव २०७७-७८ को आन्तरिक लेखा परीक्षण प्रतिवेदन पेस गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस्