नेपालबाट भारततर्फ इन्धन तस्करी



नेपाल समाचारपत्र, काठमाडौं ।

सीमावर्ती क्षेत्रमा नेपालबाट भारततर्फ इन्धन तस्करी बढेको छ । भारतीय बजारमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य निक्कै सस्तो भएपछि नेपालबाट भारततर्फ इन्धन तस्करी भएको हो ।

सीमा क्षेत्रका कारोबारीले भारततर्फ इन्धन तस्करी बढाउँदा इन्धनका कारण नेपालमा भइरहेको व्यापार घाटा र नेपाल आयल निगमको घाटामा वृद्धि गराएको छ । सीमावर्ती भारतीय बजारको तुलनामा नेपाली बजारमा अहिले पेट्रोल प्रतिलिटर ३७ रुपियाँ ५३ पैसा, डिजेल प्रतिलिटर ३० रुपियाँ ६५ पैसा सस्तो रहेको छ । त्यस्तै हवाई इन्धन र एलपी ग्यास पनि भारतमा भन्दा नेपालमा सस्तो छ । तर, पेट्रोल र डिजेलको तस्करी हुने गरेको नेपाल आयल निगमले स्वीकार गरेको छ । सीमावर्ती क्षेत्रमा नेपालबाट इन्धन खरिद गरी भारतमा लगेर बिक्री गर्दै आएका छन् । नाकाबन्दीका बेला भारतबाट इन्धन खरिद गरी नेपालमा बिक्री गरेजस्तै तरिकाबाट इन्धनको तस्करी हुने गरेको स्थानीयको भनाइ छ । एकैपटक ठूलो परिमाणमा इन्धन भारत तस्करी नभए पनि सानो–सानो परिमाणमा धेरै जनाले इन्धन तस्करी गर्दा नेपालमा नोक्सानी बढेको हो ।

तस्करीका कारण नेपाली बजारको मागभन्दा कयौं गुणा बढी इन्धनको आयात भइरहेकाले तस्करी नियन्त्रण गर्नुपर्नेमा सरोकारवालाको जोड छ । निगमले भारतमा महँगो मूल्यमा इन्धन खरिद गरी नेपालमा सस्तो मूल्यमा बिक्री गर्र्र्दै आएको छ । नेपालबाट भारत जाने गाडीले फुल ट्याङकी इन्धन भरेर सीमा पारी जाने र उता गएर इन्धन निकाल्ने एकथरी रहेका छन् भने अर्कोतिर कृषि प्रयोजनका लागि भन्दै ड्रममा इन्धन भर्ने र सीमा पारी लगेर बिक्री गर्ने गिरोह पनि सक्रिय रहेको जनाइएको छ । भारतमा भन्दा नेपाली बजारमा इन्धनको मूल्य सस्तो भएपछि अहिले ठूलो समूह इन्धन तस्करीमा सक्रिय रहेको छ ।

सीमावर्ती क्षेत्रमा हुने इन्धनको तस्करी रोक्न चुनौतीपूर्ण रहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेल बताउनुहुन्छ । उहाँले भन्नुभयो–‘इन्धन तस्कारी नियन्त्रका लागि निगमले निक्कै प्रयास गरे पनि पूर्ण सफल हुन सकिएको छैन । हामीले तस्करी नियन्त्रका लागि सीमावर्ती क्षेत्रका पेट्रोल पम्पलाई दिँदैको इन्धनको कोटा कटौती र एकपटकमा एउटा भारतीय गाडीलाई सय लिटरसम्म मात्रै इन्धन भर्न दिने व्यवस्था गरेका छौं । त्यस्तै कृषि प्रयोजनका लागि किसानले स्थानीय तहको सिफारिस लिएर आएको अवस्थामा ग्यालिन वा ड्रममा भर्न दिने व्यवस्था गरेका छौं । तर पनि तस्करी भइरहेको छ ।’ तस्कारी नियन्त्रणका लागि क्युआर कोड र मोबाइल फोनबाट भुक्तानी गर्ने लगायतका विषयमा छलफल भइरहेको पौडेलले बताउनुभयो । पौडेलका अनुसार पछिल्लो मूल्यवृद्धि पछि पनि निगमलाई पेट्रोलमा प्रतिलिटर १७ रुपियाँ ५८ पैसा, डिजेलमा प्रतिलिटर १३ रुपियाँ १४ पैसा घाटा हुँदा नगमलाई करिब ३५ अर्ब रुपियाँ नोक्सान रहेको छ । निगमका अनुसार गत आर्थिक वर्षमा निगमको कुल कारोबारमा डिजेल ५९ प्रतिशत, पेट्रोल २१ प्रतिशत एलपी ग्यास १७ प्रतिशत हवाई इन्धन २ प्रतिशत र मट्टितेलको हिस्सा एक प्रतिशतमात्रै रहेको छ ।

नेपाल–भारतबीच इन्धनको मूल्य अन्तर

प्रतिक्रिया दिनुहोस्