म को हुँ ?



ए ! मान्छेहरू हो
भनी दिनुहोस् म को हुँ ?

मैले छोएको पानी चल्दैन
म मन्दिर भित्र पसे देउता रिसाउँछन्
मैले हिँडेको बाटो अछुत हुन्छ ।
आखिर म को हुँ ?

तपाईँले हेर्ने आकाश
मैले हेर्ने आकाश एउटै होइन र
तपाईँले गाउने गीत
मैले गाउने गीत एउटै होइन र
तपाईँले गर्ने प्रेम
मैले गर्ने प्रेम एउटै होइन र
तपाईँले लिने हावा
मैले लिने हावा एउटै होइन र
तपाईँले पिउने पानी
मैले पिउने पानी एउटै होइन र ।

तपाईंको शरीरमा बग्ने रगत
मेरो शरीरमा बग्ने रगत एउटै हो
तपाईँले टेक्ने जमिन
मैले टेक्ने जमिन एउटै होइन र ।।

तपाईँले बाच्ने जीवन
मैले बाच्ने जीवन एउटै होइन र
तपाईँले पुज्ने भगवान्
मैले पुज्ने भगवान् एउटै होइन र
तपाईँले देख्ने संसार
मैले देख्ने संसार एउटै होइन र ।।

आखिर कसरी भयो फरक
मैले छोएको पानी नचल्ने
म मन्दिरमा गए देउता रिसाउने
ए ! मान्छेहरू हो
भनी दिनुहोस् म को हुँ ?

तिमी बोल्छौँ म बोल्छु
तिमी देख्छौं म देख्छु
तिमी हास्छौं म हाँस्छु
तिमी रुन्छौं म रुन्छु
तिमी हिड्छौं म हिँड्छु
तिमी मर्छौं म मर्छु
आखिर हामीमा फरक के छ ?
म मान्छे हो
यदि होइन भने म को हुँ ?

अर्जुन लुहार 

प्रतिक्रिया दिनुहोस्