जनगणनाको महत्व



जनगणना शुरू भएको १ सय १० वर्षपछि नेपालमा १२औँ जनगणना शुरू भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा पुगेर शुरू भएको जनगणना १५ दिनसम्म चल्नेछ । जनगणना शुरु भएको खुसीयालीमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, विभिन्न दलका नेताले शुभकामना दिएका छन् । शुभकामनासँंगै सबै नेपालीले साँचो विवरण दिन देशवासीको नाममा सन्देश दिएका छन् । जनगणना मात्र ठूलो कुरो होइन, सत्य–विवरण ठूलो कुरा हो भन्ने सन्देश सबैतिरबाट प्रकट भएको छ ।

हरेक १० वर्षपछि देशको भूगोलअनुसारको जनसंख्या, पेसा–व्यवसाय, विभिन्न जातजाति, भाषाभाषी, धर्म–संस्कृति, घर–परिवार, पशुपक्षीको संख्यालगायत सबै विवरण जानकारी गराउन जनगणना गरिन्छ । वास्तवमा मुलुककै बारेमा आधिकारिक जानकारीको स्रोत मानिएको जनगणनामा यथार्थ विवरण टिप्न र टिपाउन सबैलाई आह्वान गरिएको छ । नेपालमा गणतन्त्र आएपछि शुरु भएको जनगणनामा कसैले पनि झुटो विवरण पेस नगर्न सरकार प्रमुखले आग्रह गरेका छन् । केन्द्रीय तथ्याङ्क विभागले झुटो विवरण पेस गर्दा गम्भीर समस्या देखिने भन्दै त्यसो नगर्न सार्वजनिक अपिल गरिसकेको छ । दैशैभर करिब ४० हजार गणक घर–घरमा पुगेका छन् । ९ हजार कर्मचारी अनुगमनमा खटिएका छन् । उनीहरु सबैलाई सहयोग गर्नु हाम्रो कर्तव्य र दायित्व बनेको छ । विभागले ७ सय ५३ वटै स्थानीय तहका प्रमुख तथा वडा अध्यक्षबाट गणना शुरु गरेको छ । यसमा सबै स्थानीय तहका जनप्रतिनिधिले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । राजधानीलगायत काठमाडौं जिल्लाका ६ स्थानीय तहमा पहिलोपटक डिजिटल पद्धतिमा आधारित ट्याबलेट कम्प्युटरको प्रयोग भएको छ । यसले गर्दा राजधानीमा जनगणना सहज हुनेछ । मंसिर ९ गतेसम्म हुने जनगणनामा केन्द्र र प्रदेश सरकारको सहयोग त आवश्यक छ नै जनताको सहयोग अझ बढी आवश्यक छ । गणकले हरेक घर–परिवारसम्म पुगेर कुल ८० प्रश्न सोध्ने छन् । औसतमा एक गणकले एक परिवारका लागि २० मिनेट समय खर्चिनेछन् । १५ दिनमा एक जना गणकले १ सय ७५ परिवारको गणना गर्नेछन् । सातै प्रदेशमा जनगणना कार्यालय स्थापना भएका छन् । ८७ जिल्लामा गणना कार्यालय र त्यसअन्तर्गत ३ सय ४९ स्थानीय जनगणना कार्यालय स्थापना भएका छन् । पहिलो सामुदायिक गणना मानिएको गणना प्रक्रियाका सबै कार्य सकिएपछि वडा–वडादेखि राष्ट्रिय विवरण छर्लङ्ग हुनेछ ।

जनगणनाको नतिजा सबैका लागि प्राप्य हुन ६ देखि ८ महिना लाग्नेछ । तर, प्रारम्भिक नतिजा ३ महिनाभित्र दिने तयारीका साथ काम भएको बताइएको छ । नेपालको नयाँ नक्सामा समेटिएको दार्चुलाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा स्याटेलाइटबाट गणना हुनेछ । पहिलोपटक विदेशी नियोगमा कार्यरत नेपाली कर्मचारी र आश्रित परिवारको समेत गणना हुनेछ । राष्ट्रको नीति निर्माणका लागि महत्वपूर्ण आधार मानिएको जनगणनाको महत्व आम नागरिकले बुझेमा यसप्रति सबैको सहयोग अवश्य प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्