मूल सफा गर्ने कि टुटी ?



पछिल्लो समय न्यायालयको नेतृत्वमाथि उठेको प्रश्नले पूरै देश तरंगित छ । प्रधानन्यायाधीशका साथै न्यायाधीहरुको सवालमा समेत पक्ष–विपक्षमा बहसहरु भइरहेका छन् । न्यायका लागि आम नागरिककोे आशा र भरोसाको केन्द्र रहेको सर्वोच्च अदालत अहिले खेल मैदानजस्तो बनेको छ । न्यायालयमाथिको आम जनविश्वास गुम्ने अवस्थामा पुगेको छ । यसअघि पनि न्यायालयमा हुने कार्यसम्पादनमाथि प्रश्न उठाउँदै तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग प्रस्ताव नै दर्ता भएको थियो । प्रमुख राजनीतिक दलहरुले दर्ता गराएको महाअभियोग प्रस्ताव पछि फिर्ता पनि गरियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेतृत्वको विषयलाई लिएर पनि बेला–बेलामा यस्तै चर्चा–परिचर्चा हुने गरेको छ । अख्तियारको सवालमा भ्रष्टाचार निवारण गर्ने संस्थाको नेतृत्व नै भ्रष्ट भएको भन्दै आन्दोलनसमेत भएको थियो ।

अदालत, अख्तियारलगायत संवैधानिक अंगहरुको नेतृत्वले गर्ने कार्यसम्पादनमाथि पटक–पटक प्रश्न उठ्ने गरे पनि नेतृत्व उत्पादन गर्ने अथवा नेतृत्वमा नियुक्ति गर्नेको सवालमा कमै मात्र प्रश्न उठ्ने गर्छ । नियुक्तिको सवालमा राजनीतिक दलहरुको भागवण्डाको कुरा धेरै उठे पनि ‘हाम्रो’ होइन ‘योग्य र राम्रो’ मान्छे ल्याउनुपर्छ भन्ने कुरामा नियुक्तिको पहँुच राख्ने राजनीतिक दलका नेताहरुको ध्यान गएको देखिँदैन । दलका नेताहरु मात्र होइन शासन सत्ता सञ्चालनको जिम्मेवारी पाएका नेताहरुले पनि यस कुरामा ध्यान पु¥याएको देखिँदैन । संवैधाननिक अंगहरुको सबै नियुक्तिहरु खाली भागवण्डामै सीमित रहेको पाइन्छ । राजदूत नियुक्तिको सवाल होस् वा सार्वजनिक संस्थानहरुको नेतृत्व नियुक्ति गर्ने सवाल होस् सबैमा ‘हाम्रोे’ मान्छे खोजिन्छ ‘राम्रो’ मान्छे खोजिँदैन ।

एउटा चर्चित भनाइ नै छ, मूल सफा नभई टुटी मात्र सफा गरेर धारामा सफा पानी आउँदैन । राजनीतिक दलको नेतृत्व भनांै वा शासन सत्ताको नेतृत्वकर्ता स्वयं इमानदार नभएसम्म उनीहरुले नियुक्ति गर्ने मानिसहरु राम्रो र योग्य हुन्छन् भनेर विश्वास गर्न सकिँदैन । ‘एकथोक भन्ने अर्को थोक गर्ने’ राजनीतिक दलका नेताहरुको कारण नै अहिले आम नागरिकको आशा र भरोसा रहेको संवैधानिक निकायहरुमाथिको जनविश्वास घट्दै गएको हो । स्थायी सरकारका रूपमा रहेको कर्मचारीतन्त्रसमेत राजनीतिक दलको भ्रातृ संस्थाजस्तो बनिसकेको अवस्थामा मूलनीति राजनीतिलाई इमानदारिताको कसीमा नल्याएसम्म यस्तो नियति भोगिरहनुपर्छ । आम नागरिकले मात्र हैन राजनीतिक दलका इमानदार नेता कार्यकर्ताहरुले पनि धारामा सफा पानी ल्याउन टुटी हैन मूल सफा गर्नुपर्छ भन्ने सत्य कुरालाई इमानदारिताका साथ कार्यान्वयन गर्न दबाब दिनैपर्छ । जबसम्म मूल नीति राजनीति गर्ने नेतृत्वलाई देश र जनताप्रति इमानदारी बनाउन सक्दैनौं तबसम्म आफ्नो पार्टी र कार्यकर्ताप्रति इमानदारी देखाउने प्रवृत्ति अन्त्य हुन सक्दैन । त्यति बेलासम्म देशले यस्तो नियति भोगिरहनुपर्छ ।

देश चलाउनलाई नेता मात्र भएर हुँदैन, असल नेता चाहिन्छ । अझ असल नेतामा नेतृत्व गर्ने खुबी अपरिहार्य हुन्छ । यति बेला नेतृत्वको खडेरी परेको छ । असल नेतृत्व नहुँदा मुलुक अनिर्णयको बन्दीमा छ । व्यवस्थापिका, कार्यपालिका तथा न्यायपालिका कुनै पनि राजनीतिभन्दा माथि उठेर देश र जनताको पक्षमा चल्न सकेका छैनन् । जताततै विसंगति विकृति र भ्रष्टाचारले जरो गाडेको छ । यस्तो विषम परिस्थितिमा टुटी मात्र सफा भएर हुँदैन, पानी आउने मूल नै सफा हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्