नौतले दरबारको व्यवस्थापनका लागि चीनको प्रस्ताव



ईश्वरराज ढकाल, काठमाडौं ।

हनुमानढोका दरबार क्षेत्रको नौतले दरबार पुनर्निर्माण गरिरहेको चीन सरकारले दरबारभित्रको सुरक्षा प्रविधिसहित सबै इन्टेरियरको काम गर्न प्रस्ताव अघि सारेको छ ।

चीनले २०७२ साल वैशाख १२ को शक्तिशाली भूकम्पबाट क्षतिग्रस्त नौतले दरबार र दरबारसँगै जोडिएको वसन्तपुरसहित तीनवटा बुर्जाहरू ललितपुर टावर, भक्तपुर टावर र कीर्तिपुर टावरको पुनर्निर्माणको जिम्मा लिएको थियो ।

पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेसँगै चीन सरकारले दरबारभित्र अत्याधुनिक सुरक्षा प्रविधिसहित राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्र संग्रहालयको सबै सामग्री व्यवस्थापन गर्न प्रस्ताव अघि बढाएको हो ।

पुनर्निर्माणको ठेक्का पाएका चिनियाँ कम्पनी एजेन्सी फर इन्टरनेसनल इकोनोमिक कोअपरेसनले पुरातत्व विभागमा चीन सरकारको तर्फबाट संग्रहालयमा सामग्री व्यवस्थापन गर्न सोकेस निर्माण, लाइटिङ र सुरक्षा प्रविधि यन्त्र जडान गर्ने प्रस्ताव पेस गरेको विभागका महानिर्देशक दामोदर गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार विभागले विस्तृत योजनासहित पूर्ण प्रस्ताव पेस गर्न कम्पनीलाई आग्रह गरेको छ ।

महानिर्देशक गौतमले भन्नुभयो– ‘विश्वको शक्तिशाली मुलुकको सुरक्षा प्रविधि जडान गरी उनीहरूकै इन्टेरियरअनुसार संग्रहालय तयार गर्न सके नेपाल सरकारलाई सहयोग हुनेछ ।’ चीन सरकारले योजना तयार गरेपछि सो विषयमा छलफल गरी नेपालको नियम र कानुनका परिधिभित्र रहेर काम गर्न समस्या नपर्ने विभागको भनाइ छ ।

करिब ८० प्रतिशत काम सम्पन्न भएपछि कोरोना महामारीका कारण हाल स्थगित रहेको पुनर्निर्माण कार्य पुनः शुरु भएको छ । चीन र नेपालबीचको सीधा उडान शुरु हुनासाथ चिनियाँ ठेकेदार कम्पनीका कामदारले थप काम शुरु गर्ने गरी तयारी भइरहेको बताइएको छ ।

हनुमानढोका दरबार संग्रहालय विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालले केही महिनापछि पुनर्निर्माण शुरु हुने जानकारी दिँदै भन्नुभयो– ‘संग्रहालय र वसन्तपुर दरबारको सजावट गर्ने विषयमा विभाग र कम्पनीबीच कुराकानी चलिरहेको छ ।’

चीन सरकारको सहयोगमा सन् २०१६ बाट शुरु भएको पुनर्निर्माण कार्य सन् २०२२ सम्म सक्ने गरी सम्झौता भएको हो । चीन सरकारको ९ करोड ५० लाख युआन अर्थात् करिब १ अर्ब ५२ लाख रुपियाँमा अनुदानमा वसन्तपुरस्थित नौतले दरबार पुननिर्माण शुरु गरिएको भए तापनि कोरोना संक्रमणको कारण लागत बढ्ने अनुमान गरिएको छ । ‘टर्न–कि’ परियोजनाअनुसार पुनर्निर्माण भइरहेको दरबारभित्र चीन सरकारले सम्पूर्ण व्यवस्थापन गरे थप सहज हुने विभागको भनाइ छ ।

नेपालको सम्पदा पुनर्निर्माणमा ठूलो सहयोग गर्दै आएको चीनले दरबार हाइस्कुल र नुवाकोटको साततले दरबार, तलेजु रंग महललगायतका संरचना पुनर्निर्माणको पनि जिम्मेवारी लिएको छ । दरबार हाइस्कुल पुनर्निर्माण सम्पन्न भएर सञ्चालनमा समेत आइसकेको छ ।

चिनियाँ र नेपाल सरकारबीच नौतले दरबार र सँगै रहेको तीनवटा संरचना निर्माण गर्ने सम्झौता भएको थियो । सम्झौतामा पुनर्निर्माण परियोजना सम्पन्न भएको १० दिनभित्र परियोजना हस्तान्तर गरी प्रमाणपत्र दिनुपर्ने, पुनर्निर्माण शुरु भएपछि दुई वर्षसम्म चिनियाँ पक्षले अनुगमन गर्ने र दुवै पक्षको सहमतिविना परियोजनासँग सम्बन्धित नक्सा तथा डिजाइन तेस्रो पक्षलाई उपलब्ध गराउन नपाइने लगायतका विषय उल्लेख छ ।

हाल निर्माणाधीन संरचना ‘पुनर्निर्माण निर्देशिका–२०७२’ अनुरूप निर्माण भएको हो । निर्देशिकाकै अनुसार सो क्षेत्रको मौलिकता कायम हुने गरी परम्परागत निर्माण सामग्री प्रयोग गर्दै पुरातत्व विभागको प्रत्यक्ष निगरानी र अनुगमनमा चिनियाँ पक्षले परियोजनाको पुनर्निर्माण शुरु गरेको हो ।

प्रतिक्रिया दिनुहोस्