भरतपुर सबस्टेसनको मर्मत पूरा



काठमाडौं, (नेस)  ।

चितवनको भरतपुर महानगरपालिकास्थित बसेनीमा रहेको १३२/११ केभी भरतपुर सबस्टेसनमा रहेका दुईवटै पावर ट्रान्सफर्मर सञ्चालनमा आएका छन् । नेपाल विद्युत प्राधिकरणले ट्रान्सफर्मरहरु पूर्ण रुपमा सञ्चालनमा आएपछि भरतपुर क्षेत्रमा रहेका उद्योगहरुलाई पनि आइतबार साँझबाट विद्युत् आपूर्ति दिएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्ममध्ये एउटामा १३ र अर्कोमा १६ कात्तिकमा समस्या आएको थियो । प्राधिकरणले बिग्रिएको ट्रान्सफर्मरलाई हटाएर सबस्टेसनमा जगेडामा रहेको २२ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी बिहीबारबाट घरायसी ग्राहकका लागि विद्युत् आपूर्ति दिएको थियो । एउटा ट्रान्सफर्मर जडान गरी ३६ घण्टापछि विद्युत् आपूर्ति शुरू गरिएको थियो ।

कास्कीको लेखनाथ सबस्टेसनमा रहेको २२ दशमलव ५ एमभीए क्षमताको ट्रान्सफर्मर ल्याई भरतपुर सबस्टेसनमा जडान गरी त्यसलाई पनि आइतबार साँझबाट सञ्चालनमा ल्याइएको हो ।

सबस्टेसनको क्षमता अब ४५ एमभीए रहेकाले औद्योगिकसहितका सबै ग्राहकलाई विद्युत् आपूर्तिको कुनै समस्या नरहेको प्राधिकरणको वितरण तथा ग्राहक सेवा केन्द्र भरतपुरका प्रमुख राजीवकुमार सिंहले बताउनुभयो ।

सिंहका अनुसार आँपटारीस्थित अर्को १३२/११ केभीको सबस्टेसनमा १५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान शुरू गरिएको छ । उक्त सबस्टेसनबाट विद्युत् आपूर्तिका लागि तीन वटा फिडर निकालिसकिएको छ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएपछि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोली मर्मतस्थलमा खटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्