वैदिक सनातन हिन्दु धर्म सेवा समितिले मनायो महाकवि देवकोटाको जन्म जयन्ती



न्युज अफ नेपाल, काठमाडौं । 

कीर्तिपुरको गाम्चा बुद्ध भगवानस्थान चौरस्थित वैदिक सनातन हिन्दु धर्म सेवा समितिले शनिवार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११३ औँ जन्म जयन्ती मनाएको छ । कार्यक्रममा कवि श्यामकृष्ण रिजालले ‘आफू हेर्न त ऐना चाहिन्छ’ कविता, संस्कृतविद्  एवं लेखक गोविन्द चन्द्र सुबेदीले देवकोटाको जीवनी र कवित्वका  बारेमा प्रस्ट बताउँदै  ‘बनकुसुम’ कविता समेतको चर्चा गरेका थिए ।

दिननाथ पौडेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपप्राध्यापक गोविन्द थापाले कस्ता कविता लेखिन्थे होला ‘देवकोटा बाचेका भए’ नामक कविता वाचन गरे। प्राडा मोतीलाल घिमिरे प्रमुख अतिथि रहेको कार्यक्रमको सञ्चालन समाजसेवी एवं योग शिक्षक केशव अधिकारीले गरेका थिए  ।

कार्यक्रममा महाकवि देवकोटाको प्रतिमामा पुष्प गुच्छा चढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो । कार्यक्रममा सहप्राध्यापक उमाकान्त सिंहले अतिप्रतिभाशाली देवकोटाको जीवनी  र साहित्यमा त्रिविमा गरिएको योगदानबारे  चर्चा गरेका थिए ।
त्रिभुवन विश्वविद्यालयका पूर्वसहप्राध्यापक स्थानीय मधु सुदन ढुङ्गानाले देवकोटाको ‘यात्री’ कविता र  ‘के नेपाल सानो छ’ भन्ने निबन्धमाथि चर्चा गर्दै देवकोटा पहिले अनिश्वरबादी भए पनि अन्तमा चाही ईश्वरवादी बनेको विषयमा विवेचना गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्