वैचारिक विचलनमा नेपाली काङ्ग्रेस !

- लक्ष्मण अधिकारी 



लक्ष्मण अधिकारी

२०१५ सालमा संसदीय निर्वाचन हुने भएपछि गिरिजाप्रसाद कोइरालाले पनि मोरङ वा सुनसरी मध्ये कुनै एक ठाउँबाट चुनाव लड्ने इच्छा विश्वेश्वर प्रसाद कोइरालासमक्ष जाहेर गरे, तर बिपीले गिरिजालाई निर्वाचनको लागि टिकट दिन इन्कार गरे । त्यस बेला नेपाली काङ्ग्रेसको केन्द्रीय सभापति विश्वेश्वर प्रसाद कोइराला र मोरङको ने.का.जिल्ला सभापति गिरिजाप्रसाद कोइराला थिए ।

२००३ सालमा नेपाली काङ्ग्रेस स्थापनासँगै शुरु भएको विराटनगरको मजदुर आन्दोलनमा नेतृत्वदायी भूमिका खेल्दै नेपालको राजनीतिक क्रान्तिमा निरन्तर सक्रिय गिरिजा प्रसादलाई लामो सङ्घर्षबाट प्राप्त संसदीय निर्वाचनमा भाग लिनबाट वञ्चित गरिदा सवैमा कौतूहल भयो ।

त्यसवेला बिपीले गिरिजा प्रसादलाई भनेका थिए, ‘म चुनाव लड्ने भएकाले तिमीलाई टिकट दिन मिल्दैन, तिमीले त पार्टीमा बसेर मलाई सघाउने हो, मैले मेरो भाइ भनेर तिमीलाई प्राथमिकता दिन मिल्दैन ।’ ‘आफ्नालाई प्राथमिकता दिनुहुँदैन’ भनेर बिपीले बसालेको राजनैतिक संस्कृतिलाई बिपीको अवसानपछि नेपाली काङ्ग्रेसका नेतृत्व वर्गले अवलम्बन गर्नुका सट्टा त्यसलाई बिर्से र उपेक्षा गदै आफ्नालाई पद, प्रतिष्ठा, सुविधा, अवसर दिने नीति लिए, जसले गर्दा पार्टीभित्र गम्भीर विचलन ल्यायो ।

आज सकेसम्म आफ्ना श्रीमती, ज्वाइँ, छोराछोरी, सम्धी, पिए आदिलाई च्याप्ने, बढाउने, तान्ने जस्ता प्रवृत्ति बढ्दै गएर पार्टीभित्र परिवारवाद हाबी भएको छ । नेपाली काङ्ग्रेसका लागि आज परिवारवाद नै मूल सिद्धान्त भएको छ, जुन आजको मूल समस्याको रूपमा छ ।

गौरवशाली इतिहास भएको पार्टी भनेर गौरव गर्ने नेपाली काङ्ग्रेसका पछिल्लो नेतृत्व वर्गले कहिल्यै पनि इतिहासको अध्ययनबाट पाठ सिक्ने काम गरेन । उक्त विश्लेषण ‘बिपी विचार राष्ट्रिय समाजद्वारा हालै सार्वजनिक गरिएको ‘बिपी विचार नीति, सिद्धान्त र व्यवहार नामक अनुसन्धानात्मक ग्रन्थमा प्रस्तुत गरिएको छ ।

नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले हालै विमोचन गर्नु भएको उक्त पुस्तकमा, ‘आज नेपाली काङ्ग्रेस नीतिगत विचलनको भासमा नराम्रोसँग फसिसकेको’ उल्लेख गरिएको छ । ‘बिपीको समाजवादी नीति सिद्धान्त कत्ति पनि अनुकरण नगरिएको बरु विचलन भएको भन्न सकिन्छ ।

समाजवादका नाममा राजधानीमा महल सम्पत्ति जोड्ने अभियानबाहेक अरूमा ध्यान दिएको पाइँदैन । नेतादेखि कार्यकर्ताहरूसम्ममा आचरणगत विचलन आएको, समतामूलक समाज निर्माण भन्ने बिपीको नारालाई पनि ध्यान नदिई नेपाली काङ्ग्रेस बजारवादमा गई आर्थिक नीतिगत विचलनमा गएको विश्लेषण गरिएको छ ।

पार्टी नेतृत्वमा जबसम्म सत्तालाई प्राथमिकता दिने लोभ कायम रहन्छ, आफ्नाहरूलाई च्याप्ने प्रवृत्ति अनुरूप नेतृत्व चल्दछ तबसम्म बिपीले रोपेको राजनीतिक संस्कारमा नेपाली काङ्ग्रेस जानै नसक्ने दाबी गरिएको छ । ‘नेपाली काङ्ग्रेसमा वैचारिक विचलन कहाँ र कसरी भयो भन्ने बारेमा विचार प्रवाह गर्ने, मूल्य मान्यताको राजनीति गर्न प्रेरित गर्ने उद्देश्यले स्थापित ‘बिपी विचार राष्ट्रिय समाज’द्वारा प्रकाशित सो पुस्तकमा बिपीले किन नेपाली काङ्ग्रेस पार्टी स्थापना गरेको हो र नेपाली काङ्ग्रेस कता गयो भन्ने बारेमा गम्भीर एवं उपयोगी विवेचना गरिएको छ ।

पुस्तकमा सम्बन्धित क्षेत्रका तीन जना विज्ञ लेखकहरूले गहिरो अध्ययन गरेर सो विश्लेषण गर्नु भएको छ । प्रा डा बद«ीनारायण गौतमले ‘विचलनको बाटोमा नेपाली काङ्ग्रेस’, डा दिनेश भट्टराईले ‘बिपी कोइरालाको परराष्ट्र नीतिः राष्ट्रिय स्वार्थको सर्वोच्चता’ र प्रा डा रामप्रसाद ज्ञवालीले ‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र वर्तमान नेपाली अर्थतन्त्र’ विषयमा अध्ययन गरेर तथ्यहरू सङ्कलन गरी विश्लेषणात्मक प्रस्तुति गर्नु भएको छ ।

प्रा डा बद«ीनारायण गौतमका अनुसार, ‘भारतमा बसेर सङ्घर्ष गर्दा प्राप्त अनुभव समेतका आधारमा जे गर्नु छ अब देश भित्रैबाट गर्नुपर्दछ भन्ने बोध भएकाले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र मेलमिलाप भन्दै भारतबाट नेपाल आएका बिपीले देश भित्रैबाट सबै निर्णय गर्नुपर्ने सन्देश दिएका थिए ।

बिपीकै मार्ग दर्शनका आधारमा गतिशील भएर केही विचलित मनस्थिति समेत देखाउँदै बिपीकै उत्तराधिकारी बनेका गिरिजाप्रसाद कोइरालाले सहमति, सहकार्य, एकता भन्दै दिल्लीमा गएर १२ बुँदे समझदारी गर्ने जुन कार्य गरे त्यहीँबाट नै नेपाली काङ्ग्रेस गलत नीति र गलत बाटोमा बढेको हो ।’

‘नेपाली कांग्रेसलाई विचलन ल्याउने एउटा तत्त्व वैदेशिक तत्त्व हो र नेपाली काङ्ग्रेस  सत्तामा गएपछि विचार र नीतिमा विचलन भएको’ प्रा डा बद्री नारायण गौतमको भनाइ छ । परराष्ट्र मामिला विज्ञ डा दिनेश भट्टराईले, ‘बिपी बाहिर बस्दा, जेलमा बस्दा वा सत्तामा बस्दा कहिल्यै आफ्नो परराष्ट्र नीतिबाट विचलित हुनु नभएको, आप्mनो स्वार्थ पूरा गर्न परराष्ट्र नीतिको दुरुपयोग कहिल्यै नगरेको तर अहिले नेपाली काङ्ग्रेसमा राजनीतिक अवसरवाद हाबी भएकोले यसलाई त्याग्नुपर्ने सुझाव दिनुभएको छ ।

उहाँले, ‘नेपाली काँग्रेसले स्वतन्त्र परराष्ट्र नीतिको वकालत गर्दै आएको, नेपाली कांग्रेसको परराष्ट्र नीति वैचारिक आधारमा भन्दा धरातलीय यथार्थमा आधारित रहेको र बिपीले परराष्ट्र नीतिलाई घरेलु राजनीतिका लागि कहिल्यै उपयोग नगर्नु भएको उल्लेख छ ।

‘परराष्ट्र नीति देशको अस्तित्व र अस्मितासँग जोडिने हुनाले यसको सञ्चालन संवेदनशीलताका साथ जिम्मेवार भएर कुशलतापूर्वक गर्न सक्नुपर्ने’ परराष्ट्र मामलाका जानकार डा दिनेश भट्टराईको भनाइ छ । “नेपालको परराष्ट्र नीतिलाई विगतदेखि नै नजिकबाट अध्ययन गरेका भुवनलाल जोशी र अमेरिकी प्राध्यापक लिई ओ रोजले आफ्नो अध्ययनको सार बर्कले युनिभर्सिटी अफ क्यालिफोर्निया प्रेसबाट प्रकाशित आफ्नो पुस्तक (डेमोक्रेटिक इन्नोभेसन्स् इन नेपाल अ केस स्टडी …)मा उल्लेख गरेका छन् ।

सो पुस्तकमा बिपीको परराष्ट्र नीति सम्बन्धमा पनि उल्लेख छ । सो अनुसार परराष्ट्र नीतिलाई बिपी कोइरालाले आफ्नो राजनीतिक शक्ति सुदृढ पार्नका लागि उपयोग गर्न चाहेनन्’ भनेर टिप्पणी गरेका छन् । बिपी स्वयम्ले पनि ‘म कूटनीतिक स्तरमा राजनीति गर्न चाहन्न’ भन्नु भएको थियो” तर वर्तमान अवस्थामा नेपाली काङ्ग्रेसमा बिपीको त्यो आदर्श र नीतिमा विचलन आएको र राजनीतिक अवसरवाद हाबी भएको डा भट्टराई को भनाइ छ ।

‘बिपी कोइरालाको प्रजातान्त्रिक समाजवाद र वर्तमान नेपाली अर्थतन्त्र’ विषयमा विश्लेषण गर्दै प्रा डा राम प्रसाद ज्ञवालीले प्रजातन्त्र पुन स्थापनापछि नेपाली काङ्ग्रेस सरकारमा हुँदा सञ्चालित केही कार्य तथा नीतिहरू प्रष्ट रूपमा बिपीको समाजवादी चिन्तनबाट विचलित भएको उल्लेख गर्दै भन्नु भएको छ :

‘बिपीले समाजवादी सरकारको प्राथमिकता पानी, मल र बिउको व्यवस्था मिलाउनु हो भन्नु भएको थियो । एउटा मानिस आफ्नो भोजनका लागि बाहिर निर्भर हुनु नपरोस् भन्ने उहाँको परिकल्पना थियो । बिपी आयातित प्रविधिभन्दा आत्मनिर्भर अर्थतन्त्रको पक्षमा हुनुहुन्थ्यो । आयातित प्रविधिले पूँजीको बहिर्गमन हुन्छ ।

विदेशीहरूले रोजगार पाउँछन्, देश परालम्बी भएर जान्छ । अतः मजबुद अर्थतन्त्रका लागि आन्तरिक साधन  स्रोतमा आधारित उद्योगहरू सञ्चालन हुनुपर्छ भन्ने बिपीको धारणा थियो । नेपाली माटो बुझेका अर्थविद्हरूले योजना बनाउन जरुरी छ भन्ने उहाँको भनाइ थियो ।

विदेशी सहायता सम्बन्धमा पनि उहाँको आफ्नै धारणा थियो । विदेशी सहायताले समाजमा नयाँ वर्गको सिर्जना गर्दछ र त्यो वर्ग सम्पन्न हुन्छ तर देशको आर्थिक अवस्थासँग कुनै सम्बन्ध हुँदैन । विदेशी सहायताले भ्रष्टाचार बढाउने गर्दछ उहाँले आफ्नो अन्तिम अन्तर्वार्तामा भन्नु भएको थियो ।

समग्रमा भन्नु पर्दा गरिब मुलुकका लागि पश्चिमा विकसित समाजले देखाएको नमुना उचित छैन । त्यो उच्चस्तरको प्रविधि हामीलाई उपयुक्त छैन । हामीलाई ठिक हुने प्रविधि हामीले प्रयोग गरेको भन्दा केही उत्कृष्ट प्रविधि मात्र हो । हामीलाई यस्तो प्रविधि चाहिएको छ जो हाम्रै मानिसले चलाउन सकुन् । पश्चिमा प्रविधिले धनीलाई झन् धनी र गरिबलाई झन् गरिब बनाउँदै छ ।’

नेपाली काँग्रेसले २०१२ सालमा आफ्नो मूलभूत सिद्धान्तमा समाजवादलाई अङ्गीकार गर्दै आफूलाई समाजवादी पार्टीको रूपमा स्थापित गरेको थियो । नेपालको संविधान २०७२ ले नेपाललाई एक समाजवादी राष्ट्रको रूपमा स्थापित गरिदिएको छ । अर्थात् काँग्रेसले समाजवादी नीति लिएको साडे ६ दशकपछि सबै राजनीतिक दलहरुको सहमतिमा नेपाल संविधानतः समाजवादी राष्ट्रको रूपमा स्थापित भएको छ ।

‘नेपाली काँग्रेसले समाजवाद शब्दलाई नेपाली राजनीतिको जीवनधारा त बनाइदियो तर आफ्नो पार्टीलाई भने बिपीको सिद्धान्तबाट विचलित बनाएको देखिन्छ’ उक्त ग्रन्थका सम्पादक डा वासुदेव खनालको भनाइ छ । बिपीले एक सन्दर्भमा भन्नु भएको छ, ‘एक माना दूध सय जनालाई समान वितरण गर्नु समाजवाद होइन, उत्पादन बढाएर सबैलाई यथेष्ट दूधको व्यवस्था गर्नु नै समाजवाद हो । साम्यवादमा प्रजातन्त्र जोडिदिएपछि समाजवाद हुन्छ र समाजवादबाट प्रजातन्त्र झिकिदिएपछि साम्यवाद हुन्छ ।’

डा वासुदेव खनालका अनुसार, ‘विश्वेश्वर प्रसाद कोइरालाले नेपाली कांग्रेसलाई स्पष्ट सिद्धान्त र दृष्टिकोण दिएर जानु भएको छ, तर पछिल्ला दिनमा बिपीको सिद्धान्त र दृष्टिकोण ओझेलमा परेको छ, जसले गर्दा आज नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिमा कमजोर अवस्थामा आएको हो ।

जुन पार्टीको सिद्धान्त र दृष्टिकोण स्पष्ट हुँदैन त्यो पार्टी जनताको नजरबाट ओझेलमा पर्दै जान्छ । आज नेपाली काङ्ग्रेस आफ्नो सिद्धान्त र दृष्टिकोण मै अलमलिएको हुनाले यो जनताको नजरबाट ओझेलमा पर्दै गएको हो । वि सं २०४६ सालको जनआन्दोलनदेखि लिएर २०६२र६३ सम्मका सबै आन्दोलन नेपाली कांग्रेसकै नेतृत्वमा सफल भए तथापि जनभावनालाई कदर गर्नुपर्ने बिपीको विचारलाई नेपाली काङग्रेसले कुल्चिएको छ ।’

बिपी विचार राष्ट्रिय समाजले अहिलेसम्म प्रकाशित गरेका यस्तै सोध ग्रन्थ मध्ये पछिल्लो यो पुस्तक नै उत्कृष्ट रहेको र प्रस्तुत ग्रन्थको अध्ययनबाट नेपाली कांग्रेसको नयाँ पुस्ताले नेपाली कांग्रेसको पृष्ठभूमि, विश्वेश्वरप्रसाद कोइराला, नेपाली काँग्रेसले लिएको नीति, कार्यक्रम आदिका सम्बन्धमा बुझ्न सफल हुने विश्वास सो समाजले लिएको जानकारी गराइएको छ ।

समाजका अध्यक्ष तथा नेपाली काङ्ग्रेसका नेता कुल बहादुर गुरुङले, ‘पार्टीलाई बिपीको आदर्श र सिद्धान्तअनुसार चलाउनका लागि प्रस्तुत ग्रन्थले मार्गदर्शन गर्ने विश्वास लिएको’ बताउनु भएको छ । नेपाली काङ्ग्रेसलाई राष्ट्रियता, प्रजातन्त्र र समाजवाद लगायतका वैचारिक धरातल बिपीले दिनु भएको हो ।

राजनीतिको व्यवसायीकरण नहोस् राजनीति सेवामुखी होस् भन्ने बिपीको ध्येय भए पनि आज उहाँले दिएको विचारमा विचलन आएकोले यसमा सुधार गर्न झकझक्याउने उद्देश्यले उक्त पुस्तक प्रकाशित गरेको देखिन्छ ।

यस पुस्तकलाई वर्तमान पुस्ताले अध्ययन, चिन्तन र अवलम्बन गर्ने हो भने नेपाली राजनीतिमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गर्न सकिन्छ । नेपाली काङ्ग्रेको १४ औँ महाधिवेशनको पूर्व सन्ध्यामा प्रकाशित भएकाले यो सोधमूलक ग्रन्थको सान्दर्भिकता अझ वृद्धि भएको महसुस हुन्छ । ३८३ पृष्ठको उक्त पुस्तकको मूल्य रु ८ सय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्