नेपाल संवतका विरोधीहरू अझै सक्रिय

कृष्णकाजी मानन्धर



कृष्णकाजी मानन्धर

नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाः नेपाली मात्रका विभूति हुन् भन्नेमा दुई मत छैन । यस संवतको विशेषता मौलिक राष्ट्रिय संवत् हुनुमा छ भन्ने पनि स्थापित भइसकेको तथ्य हो । नेपाल देशकै नाउँमा स्थापित संवत् राष्ट्रिय संवत् हुनु सुखद संयोग पनि हो ।

तत्कालीन नेपाल मण्डलका राजा राघव देवको पालामा शुरू गरिएको यस संवतमा १२ औंसी र ३ सय ५४ दिनको एक वर्ष गणना हुन्छ । प्रत्येक तीन वर्षको एकचोटि अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।

इतिहास र आधारः

तत्कालीन नेपालमा मानदेव संवत, शक संवत््, कलिगत संवत् पनि प्रयोग गरिए । शंखधर साख्वाःले शुरू गरेको नेपाल संवतकाे मौलिकता पृथक छ । कलिगत संवत्् ३९८१ र शक संवत् ८०२ सालमा नेपाल संवत्् सुरू भएको हो । आमजनताको ऋण मोचन गरेर शंखधर साख्वाःले मातृभूमिकै नाउँमा नेपाल संवत्् शुरू गरेका हुन् । संवत् शुरू गरेका साख्वाःको मूर्ति पशुपतिनाथ परिसरमा छ ।

शंखधरले सुरू गरेको संवत् भएर ‘शंखधरकृत नेपाल संवत््’ पनि भनिएको छ । गोपालराज वंशावलीमा ‘श्री राघवदेव वर्षे ६३ मास ४, श्री पशुपति भट्टाकरे संवत्सर प्रवृतिकृता’ उल्लेख छ । यो आधारले पनि राजा राघवदेवको पालामा नेपाल संवत् प्रचलनमा ल्याइएको पुष्टि हुन्छ ।

संवत् सुरू गरेका शंखधर साख्वाःलाई भने फरक अभिलेखमा करिव उस्तैखाले नाउँले जनाएको देखिन्छ । भक्तपुरको जेला टोलमा राखिएको शिलापत्रमा ‘शंख्वा संवत् ८२७ बछलागा दशमी वशुवाः’ उल्लेख छ । तत्कालीन गोर्खाका राजा पृथ्वीनारायण शाहले नेपाल संवत् ८८८ सालमा उपत्यका जितेपश्चात्को भाषा वंशावलीमा साख्वाः र नेपाल संवत् ९६७ को वंशावली साख्वाल उल्लेख छ ।

राष्ट्रिय अभिलेखालयको विक्रम संवत् १९५१ को ‘नेपालदेशीय पञ्चाङ्ग’मा श्रीशंखधरकृत नेपाली संवत् १०१४ उल्लेख छ । यी आधारले फरक कालखण्डमा नेपाल संवत् र शंखधर साख्वाःलाई दुरुस्तै उल्लेख नगरे पनि करिव उस्तै खाले जनाउ दिएको देखिन्छ ।

प्रचलित किंवदन्तीहरूः

ज्योतिषीहरूको दाबीबमोजिम शंखधर साख्वाःले घरमा ल्याएको बालुवा चार दिनपछि सुनमा परिणत भएको थियो । त्यो सुन उनले ऋणमा डुबेका गरिब जनतालाई बाँडेका थिए । अनि जनताले आफ्नो ऋण तिरेको भनाइ छ । अर्को किंवदन्तीअनुसार शंखधर भन्ने एक मनकारी महाजन थिए ।

शंखधरका साथीहरू पनि व्यवसायी थिए । तर, शंखधरको जस्तो व्यापार उनीहरूको हुँदैनथ्यो । ती साथीलाई शंखधरको व्यापारप्रति डाह गर्थे । उनीहरूले जालसाजी गरेर राजालाई ‘यसले अनैतिक व्यापार गरेको छ’ भनी पोल लगाइदिए । यो उजुरीपछि राजाले शंखधरको सम्पत्तिमाथि अतिक्रमण गरे ।

यसबाट विचलित शंखधर जोगीजस्तै भएर हिँड्न थाले । पछि राजाले खोजतलास गर्दा उनी अनैतिक नभएको पत्ता लाग्यो । राजाले पश्चाताप गर्दै ‘तिमी इमान्दार रहेछौ, तिम्रो सम्पत्ति फिर्ता लैजाऊ’ भने ।

गुमिसकेको पैसा र सम्पत्ति फिर्ता पाएका शंखधरले ऋणमा डुबेका जनतालाई सहयोग गरे । सबै जनताको ऋण मोचन भयो । त्यस आधारमा पनि नेपाल संवत् चलेको भनाइ छ ।

पद्मरत्न तुलाधर र नेपाल संवत्को सम्बन्ध 

नेपाल संवत्मा पद्मरत्न तुलाधरको नाउँ स्वतः जोडिन्छ । दशकौंसम्म संवत्को लागि भएको आन्दोलनलाई नेतृत्व गरेका तुलाधरको योगदानलाई बुँदागत रूपमा हेरौंः

– नेपाल संवत्लाई राज्यस्तरबाट राष्ट्रिय संवत्को मान्यता दिलाउन नेपाल भाषा मंका खलःले तीन दशकसम्म सांगठनिक आन्दोलन चलायो । खलःको संस्थापक अध्यक्षको रूपमा पद्मरत्न तुलाधरको नाम उदायो ।

खलःकै नेतृत्वमा नेपाल संवत्् ११०० अर्थात् २०३७ सालमा आयोजित न्हूदँया भिंतुना -यालीले नेपाल संवत्को आन्दोलनको रूप लियो जुन अहिलेसम्म पनि प्रत्येक वर्ष तिहारको गोवद्र्धन पूजा अर्थात् नेपाल संवत्अनुसार कछलाथ्व पारूको दिनमा आयोजना हुन्छ । यही आन्दोलन पछिल्लो समय देशव्यापी रूपमा मनाउन थालिएको छ ।

– बहुदलीय प्रजातन्त्रपश्चात् तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा नेपाल भाषा मंका खलःले सांस्कृतिक कार्यक्रम आयोजना ग¥यो ।

– तत्पश्चात् ल्याय्म्ह पुचः थिमिको १५ औं स्थापना दिवसमा नेपाली कांग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने आश्वासन दिए । त्यसलगत्तै २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा ग-यो ।

नेपाल संवत् आन्दोलनका उपलब्धि 

१) शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा । २०५६ सालमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराई नेतृत्वको मन्त्रिपरिषद् बैठकले नेपाल संवत्का प्रवर्तक शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको हो ।

२) नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिलाइयो । गणतन्त्र नेपालका प्रथम प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको मन्त्रिपरिषद् बैठकको निर्णय । मिति २०६५ कात्तिक ७ गते ।

३) नेपाली पाठ्यक्रममा नेपाल संवत् र शंखधर साख्वाः समावेश गरियो । स्थानीय पाठ्यक्रम लागू हुनुअघि नेपाली पाठ्यक्रमअन्तर्गतको कक्षा ६ को पाठ १६ मा नेपाल संवत् र शंखधर साख्वाःको विषय समावेश छ ।

४) हुलाक टिकटमा शंखधरलाई स्थान दिइयो । नेपाल संवत् ११२४ अर्थात् २०६० सालमा तत्कालीन सूचना तथा सञ्चारमन्त्री कमल थापाबाट हुलाक टिकटमा पहिलो टाँचा लगाइयो ।

५) शंखधरको प्रतिमा अनावरण तथा माल्यार्पण गरियो । नेपाल संवत् ११२२ मा सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाबाट शंखधर साख्वाःको प्रतिमा अनावरण तथा माल्यार्पण कार्यक्रम सम्पन्न भएको थियो ।

६) सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग गरियो । प्रधानमन्त्री गरिजाप्रसाद कोइरालाको कार्यकालमा ११२८ देखि सरकारी लेटर प्याडमा नेपाल संवत्को प्रयोग भएको हो ।

७) नेपाल संवत्को नयाँ वर्षमा सार्वजनिक बिदाको घोषणा । २०७० सालको यस निर्णयलाई नेपाल राजपत्रमा पनि प्रकाशित गरियो ।

८) अमेरिकाको नासामा कार्यरत भक्तपुरका शौनक रञ्जितकारले लामो समयसम्म अन्वेषण गरी वैज्ञानिक रूपमा प्रमाणित गरेपश्चात् नेपाल संवत्, विक्रम संवत् र इस्वी संवत्समेत समेटेर क्यालेन्डर एप अर्थात् पात्रो एप्लिकेसन तयार गरे । विक्रम संवत्् र इस्वी संवत्मा समेत तिथिमिति हेर्न मिल्ने गरी नेपाल संवत्को एप तयार भयो ।

नयाँ तयार गरिएको एपले केही वर्ष यतादेखि नेपाल संवत्मा देखिएको घटबढको समस्या हल हुने विश्वास लिइएको छ । यसअघि, पात्रो ठाउँअनुसारले फरक हुँदा लक्ष्मीपूजा, म्हःपूजा र किजापूजा मनाउने दिनमा अलमल थियो ।

देशका विभिन्न ठाउँमा शंखधर साख्वाःका प्रतिमा स्थापना गरिएका छन् । दोलखाको चरिकोट, गोरखा जिल्लाको गोरखा बजार, कास्कीको पोखरा, झापाको दमक, पाल्पाको तानसेन, बाँकेको नेपालगञ्ज, काठमाडौंस्थित कीर्तिपुरको बाघभैरव परिसर, काठमाडौंकै शंखधर पार्क (रत्नपार्क), मध्यपुर थिमीको शंखधर चोकमा शंघधरको प्रतिमा देख्न सकिन्छ ।

मध्यपुर थिमि शंखधर चोकमा अवस्थित शंखधर साख्वाःको प्रतिमामा केही वर्ष यतादेखि सरकार प्रमुखबाट माल्यार्पण हुँदै आएको छ । यो वर्ष कात्तिक १९ गते अर्थात् नेपाल संवत्् नयाँ वर्ष ११४२ को उपलक्ष्यमा दोलखा, कास्की र गोर्खामा अवस्थित शंखधर साख्वाःको प्रतिमामा पनि माल्यार्पण हुने भएको छ ।

नेपाल संवत्का १२ महिना र पुरुषोत्तम महिनाः

१) कछला २) थिंला ३) पोहेला ४) सिल्ला ५) चिल्ला ६) चौला ७) बछला ८) तछला ९) दिल्ला १०) गुंला ११) ञला १२) कौला । यी बाह्र महिनामध्ये प्रत्येक तीन वर्षमा अनला महिना अर्थात् पुरूषोत्तम महिना हुन्छ ।

नेपाल संवत् आन्दोलन र संवत् विरोधीहरूको राजनीतिः

मध्यकालमा राज्यस्तरले प्रयोग गरेको नेपाल संवत्लाई श्री ३ चन्द्र शमशेरले विस्थापित गरेका हुन् । नेपालका १३औं प्रधानमन्त्री तथा श्री ३ महाराजले १२ राशिका संक्रान्तिलाई प्रवेश गराई भारतीय विक्रम संवत्् नेपालमा चलाएका हुन् । चतुर तथा केही हदसम्म सुधारक शासकको रूपमा उदाएका चन्द्र शमशेरदेखि सुरू भएको नेपाल संवत्विरुद्धको राजनीति अझै कायम छ । राजनीतिको प्रकृति भलै फरक छ, तर यो षड्यन्त्र अझै कायम छ ।

तानाशाही राज्य व्यवस्थामा नेपाल संवत्को पक्षमा नेवार समुदायबाट थालिएको आन्दोलन दबाइए पनि प्रजातन्त्र बहालीसँगै यसको स्वरूप परिवर्तन गरी आन्दोलनलाई पनि निरन्तरता दिइएको छ । नेपाल संवत्लाई राष्ट्रिय संवत् बनाउनुपर्ने मागसहित विभिन्न चरणमा आन्दोलन भए ।

पञ्चायती व्यवस्थामा केही हदसम्म यो आन्दोलन सिथिल भए पनि लोकतन्त्रसँग यसले उच्च सफलता हासिल ग-यो । नेपाल संवत् आफैमा संकीर्ण सोच, जातीय मुद्दा तथा सरकारविरोधी अभियान ठान्नेहरूले फरक प्रकृतिमा उपलब्धि मास्ने कुटिल प्रयास गरेका छन् । त्यसमध्ये तिथिमा अलमल गरेर नेपाल संवत् व्यावहारिक छैन भन्ने प्रमाणित गर्न खोज्नु अर्को नेपाल संवत्विरुद्धको षड्यन्त्र हो ।

नेपाल पञ्चांग निर्णायक समितिका पदाधिकारीहरू पनि यस संवत्को विरोधी देखिएका छन् । एक त सरकारी मान्यता प्राप्त पञ्चांगले सांस्कृतिक पक्षदेखि खगोल विज्ञानलाई सही व्यवस्थापनमार्फत सरोकारवालासँग सहकार्य गरेर अघि बढ्नुपर्ने देखिन्छ भने अर्कोतिर विवादरहित पात्रो प्रकाशन गर्नुपर्ने देखिन्छ ।

आम नागरिकले आधार मान्ने पात्रो नै हो, त्यसमै अलमल भएपछि सांस्कृतिक रूपमा विचलन हुनु स्वाभाविक छ । सभ्य समाजको प्रतिविम्ब रूपी संस्कृतिलाई नै प्रभावित बनाउने नियोजित षड्यन्त्र नेपाल संवत्माथि लाद्नु दुर्भाग्यपूर्ण छ ।

(लेखक मानन्धर सञ्चारकर्मी तथा विभिन्न कलेजमा आमसञ्चार तथा पत्रकारिता अध्यापन गर्ने लेक्चरर हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्