नेपाल संवतलाई राष्ट्रिय सम्मान : सञ्चार–माध्यमको उल्लेख्य योगदान



  • नरेशवीर शाक्य

नेपाल राष्ट्रको आफ्नै नाममा समर्पित नेपाल भाषा, ने पाल संवत् एवं नेपाल लिपिहरूको संरक्षण राष्ट्रले नगरिरहेको वास्तविकता हो । राज्य शासकहरू जस्तोसुकै राष्ट्रवादको नारा लगाउने गरेता पनि राष्ट्रको नाममा समर्पित राष्ट्रिय सम्पदाप्रति पूर्वाग्रह राख्नु अति नै दुःखद तथ्य हो ।

विश्वमा राष्ट्रको नाममा समर्पित एउटै मात्र मौलिक संवत् ‘नेपाल संवत्’ रहेको तथ्यमा समेत गर्व गर्न नसक्नु र आयातित संवत् विक्रम संवत्लाई सरकारी कामकाजको संवत्को रूपमा मान्यता प्रदान गरिराख्नु स्वाभिमान राष्ट्रमाथि नै प्रश्न उठ्ने गरेको छ । राष्ट्रको मौलिक संवत् नेपाल संवय्लाइ यथोचित स्थान दिएर राष्ट्रको स्वाभिमान जगाउन जरूरी छ ।

नेपालमा ११४२ वर्ष अधिदेखि निरन्तररूपमा सामाजिक, ऐतिहासिक, धार्मिक क्षेत्रमा यसको प्रचलन अद्यापि रहेकै छ ।
नेपाल संवत्को स्थापना विषयमा धेरै ऐतिहासिक तथ्यहरू पाइन्छ । नेपाल संवत्को ऐतिहासिक अध्ययनविना नेपालको इतिहाससमेत अध्ययन गर्न सकिदैन ।

तर पनि यस विषयमा वैज्ञानिक अध्ययन हुन नसक्नु र यर संवत्का प्रणेता शंखधर साख्वाः विषय अध्ययन अनुसन्धान हुन नस्कनुु राज्य शासकहरूको पूर्वाग्रह हो । राज्य शासकहरूले त कुनै समय नेपाल संवत्को अस्तित्वसमेत मेटाउने कोसिस गरेको इतिहास रहेको छ ।

नेपाल संवत् कुनै समय जनताको संवत्, राजकीय संवत्, राज्यको प्रशासकीय संवत् रही देश विदेशमा समेत चलन चल्तिमा आइसकेको संवत् थियो । तर, शाहवंशीय राजा पृथ्वीनारायण शाहको शासन पश्चात् यस संवत्लाई राज्यले प्रशासनिकरूपमा नै दुरुत्साहित गर्ने नीति अपनायो । गोर्खा मूलका शासकहरूको आगमनपछि नेपाल (नेपाल मण्डल)का भाषा, संस्कृति, कला सम्पदामाथि निरन्तर प्रहार हुँदै गयो ।

यसै क्रममा नेपाल भाषा, नेपाल संवत् र नेपाल लिपिको अस्तित्व नै निमिट्यान्न गर्न राज्य शक्ति नै अघि स-यो । राणा शासकहरूले नेपाल भाषामा आफ्ना विचार सम्प्रेषण गरेको आरोपमा पण्डित शुक्रराज शास्त्रीलाई शहीद नै बनाइदिए । मातृभाषा नेपाल भाषामा साहित्य लेखेको आरोपमा जीउज्यान सर्वस्वहरण गरी जेलनेलको जीवनयापन गर्न बाध्य पारियो । मातृभाषा नेपाल भाषामा नै धर्म प्रचार गरेको आरोपमा भिक्षुहरूलाई देशनिकालासमेत गरे ।

यसको निरन्तरता मुलुकमा पञ्चायती शासनको प्रादूर्भावसँगै ‘एक भाषा, एक संस्कृति’को नीतिअन्तर्गत नेपाल भाषा, लिपि, र संवत्का कुरा गर्नेहरूलाई साम्प्रदायिक, देश विखण्डनवादीको संज्ञा दिँदै राज्य प्रशासनले अनेक किसिमका यातना, दण्ड जरिवाना र दमनको नीतिलाई निरन्तरता दिइयो ।

तर पनि नेपाल संवत्को सन्दर्भमा यस चन्द्रमास संवत्का तिथिमितिहरू सम्पूर्ण नेपालीहरूको जनजीवनमा समाहित भइसकेका कारणं पचाङ्ग निर्माणकर्ताहरूले ‘शंखधरकृत नेपाल संवत्’को नाममा यसलाई पात्रो र तिथिमा महत्वपूर्ण स्थान प्रदान गरियो । जनमानसमा नेपाल संवत्का तिथिमिति भनी हेक्का नभएता पनि हरेक धार्मिक पूजाआजा, जात्रा पर्व, कर्मकाण्ड र रीतिरिवाजहरू यसै तिथिका आधारित थिए ।

राज्यका दमन नीतिबाट आक्रान्त देशभरका सम्पूर्ण नेवारलगायत आदिवासी जनजातिहरू संगठित भई आफ्ना मौलिक हकअधिकारको संरक्षणमा एकजुट भएपछि यस आन्दोलनका विभिन्न स्वरूपहरू अघि बढे । यसै क्रममा विभिन्न नेवारहरूको संघ संस्थाको एकीकृतरूपमा पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा मंकाः खलःको गठनपश्चात् यस आन्दोलनले एकीकृत रूप लियो ।

पद्मरत्न तुलाधरको नेतृत्वमा नेपाल भाषा मंकाः खलःले नेपाल संवत् नववर्षको उपलक्ष्यमा भिंतुना आन्दोलन शुरू ग-यो । यसैको परिणामस्वरूप सम्पूर्ण नेपालीहरूबीच आफ्ना मौलिक सम्पदा संस्कृतिप्रति गर्व गर्न सकिने वातावरणको सिर्जना भयो ।

नेपाल भाषा मंकाः खलःले नेपाल संवत् आन्दोलनलाई तीव्रता दिँदै देशका विभिन्न स्थानहरूमा नेपाल संवत् विषियक विचार गोष्ठीको आयोजना ग-यो । नेपाल संवत् राष्ट्रको संवत् हो, यसलाई सरकारले मान्यता प्रदान गर्नु नै पर्ने नारा अंगिकार गरियो । देशको कुना–कुनामा सभा–सम्मेलन, सांस्कृतिक भिन्तुना जुलुस, साइकल र मोटरसाइकल -यालीको आयोजनासहित यस अभियानको सञ्चालन गरियो ।

नेपाल संवत्को अभियानमा नेवार संघ संस्थाहरूको सहभागिता बढिरहेता पनि यो सम्पूर्ण देशवासीको संवत् रहेको र राज्यले यसलाई ओझेलमा राखेका कारणं राष्ट्रकै सम्पदा र गौरव जगेर्नाको निमित्त सबैलाई आह्वान गर्दै अभियान सञ्चालन गर्ने कार्य अघि बढ्यो ।

त्यसबेला नेपाल संवत्को आन्दोलनलाई पनि सरकारले दमन गर्न थाल्यो । सञ्चार–माध्यमहरू मौन रहेकै समयमा सर्वप्रथम ‘आजको समाचारपत्र’ पछि ‘ नेपाल समाचारपत्र’का प्रधानसम्पादक स्वः पुष्करलाल श्रेष्ठले आफ्नो राष्ट्रिय दैनिक प्रकाशनमा नेपाल संवत्या पूर्ण तिथिमितिहरू क्यालेन्डरसहित प्रचार प्रसारमा ल्याए ।

यसबाट नेपाल संवत्का तिथिमितिहरू देशभर नै समाचार पत्रिकाको माध्यमबाट प्रचारमा आयो । पछि पनि हरेक वर्ष नेपाल संवत् शुरू हुनअघि स्व. पुष्करलाल श्रेष्ठले यस विषयका विज्ञहरूसित आफ्नै चेम्बरमा छलफलको निमित्त भेटघाट गरी नेपाल संवत्को व्यापक प्रचार प्रसारमा योगदान गरे ।

नेपाल संवत् नववर्षको उपलक्ष्यमा नेवारहरूको मातृभाषा नेपाल भाषामा पनि विभिन्न पत्रपत्रिका, पुस्तक, बुलेटिनहरू प्रकाशित हुने गर्दथे । तर, राष्ट्रियस्तरको दैनिक पत्रिकाले नै नेपाल संवत्को तिथिमितिसहित पत्रिका प्रकाशन गर्नु त्यस समयमा चुनौतीपूर्ण कार्य नै थियो । यसै कारणले पनि उक्त दैनिक पत्रिकालाई ‘साम्प्रदायिक’ पत्रिकासमेत भन्नेहरू देखापर्न थाले । तर, नेपाल समाचारपत्र कुनै तरिकामा पनि विचलित नभई आफ्नो प्रकाशनलाई निरन्तरता प्रदान गर्दै गयो ।

अझ नेपाल संवत् नववर्षको उपलक्ष्यमा विशेष अंक प्रकाशित गरेर नेपाल संवत्को ऐतिहासिकता एवं नेपाल संवत्का तिथिमिति सहितको क्यालेन्डरसमेत प्रकाशित गरेर निशुःल्क वितरणसमेत गर्ने अभियान चलाइयो । नेपाल संवत्लाई राष्ट्रियस्तरमा नै प्रचार प्रसारमा ल्याउन यसले महत्वपूर्ण योगदान ग-यो ।

नेपाल भाषा मंकाः खलःले पनि नेपाल संवत् आन्दोलनलाई व्यापक बनाउन ‘न्हूदँ समारोह समिति, नेपाल भाषा मंकाः खलः’ गठन गरी व्यापकता दिने योजना बनायो । पहिला नेपाल संवत् नववर्षको भिंतुना जुलुस र आन्दोलन मंकाः खलः आफैंले यस संस्थामा आबद्ध संघ संस्थाहरूको सहभागितामा मात्र गरिरहेकोमा ने.सं. १११२ मा समाजका विशिष्ट व्यक्तिहरूको नेतृत्वमा न्हूदँ समारोह समिति गठन गरी ने.सं.१११३ को नववर्ष समारोह प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा र मंकाः खलःका सचिव समितिको पदेन सचिव रहने गरी विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइयो ।

एक वर्षको कार्यकाल रहने सो समिति अर्को वर्षको निमित्त अध्यक्ष चयन गर्ने कार्य मंकाः खलःले नववर्ष शुरू हुन केही महिनाअधि नै सम्पन्न गरी अर्को वर्षको निमित्त तयारी गर्ने शुरुवात ग-यो ।यसैबीच, नेपालमा महत्वपूर्ण राजनीतिक परिवर्तनहरू भए । मंकाः खलःले वसन्तपुरमा आयोजना गर्ने भिंतुना सांस्कृतिक -यालीपश्चात् आयोजना गर्ने विशेष नेपाल संवत् नववर्ष समारोहमा सरकार प्रमुख, प्रधानमन्त्री प्रमुख अतिथि रहने प्रचलन पनि शुरू भयो ।

नेपाल संवत्का प्रणेता शंखाधर साख्वाःलाई नेपाल सरकारले नेपाल संवत् ११२०मा राष्ट्रिय विभूति घोषणा गरे । तर, पनि नेपाल संवत्का तिथिमितिहरू नेपाल सरकारले आफ्ना दैनिक वा सञ्चार–माध्यमहरूमा प्रचार प्रसारमा ल्याएनन् । बरू निजीस्तरमा प्रकाशित हुने विभिन्न सञ्चार–माध्यम र राष्ट्रिय दैनिक पत्रिकाहरू दैनिक नेपाल समाचारपत्र, स्पेस टाइम दैनिक, सगरमाथा दैनिक, कान्तिपुर दैनिक आदिले नेपाल संवत् नववर्षको उपलक्ष्यमा विशेषांक प्रकाशित गर्दै राष्ट्रको मौलिक संवत् नेपाल संवत्र्ला आधिकारिक मान्यतासहित प्रचार प्रसारमा ल्याउने अभ्यास थाले ।

नेपाल संवत् ११२४ नेपाल संवत् आन्दोलनको निमित्त महत्वपूर्ण वर्ष रहन गयो । नेपाल भाषा मंकाः खलःले ने.सं. ११२३को न्हू दँ समारोह समितिका अध्यक्ष सुरेन्द्रवीर मालाकारको अध्यक्षतामा ने.सं. ११२४को निमित्त सञ्चार क्षेत्रका प्रसिद्ध व्यक्तित्व इमेज च्यानलका अध्यक्ष रामकृष्ण मानन्धर (आर.के. मानन्धर)को अध्यक्षतामा न्हूदँ समारोह समिति गठन ग-यो । उहाँले आफ्नो व्यक्तिगत सम्पर्कको आधारमा विभिन्न व्यक्तिहरूलाई सम्पर्क गर्दै नेपाल संवत्को व्यापक प्रचारको निमित्त सहयोग माग्नुभयो ।

यसै क्रममा तत्कालीन सञ्चारमन्त्री कमल थापासित सरकारी सञ्चार–माध्यममहरूमा नेपाल संवत्को प्रयोगको अपरिहार्यता र राष्ट्रको मौलिक संवत्प्रति गौरव गर्नको निमित्त सरकारी सञ्चार–माध्यमहरूमा यसको प्रयोगको निमित्त अनुरोध गर्नुभयो । यसैका आधारमा तत्कालीन सरकारी सञ्चार–माध्यमहरूमा ने.सं. ११२४ नववर्षको दिनदेखि सरकारी सञ्चार–माध्यमहरू गोरखापत्र दैनिक, नेपाल टेलिभिजन, राष्ट्रिय संवाद समितिलगायत सरकारी दैनिक पत्रिकाहरूले पनि नेपाल संवत्लाई प्रमुख स्थानसहित प्रचार–प्रसार एवं प्रकाशनमा ल्याएका हुन् ।

नेपाल संवत्लाई व्यापक प्रयोगमा ल्याउन, नेपाल सरकारले यसलाई आधिकारिक मान्यता दिलाउन यो महत्वपूर्ण फड्को रहको छ । तर, पनि दैनिक पत्रिकाहरूले नेपाल संवत्को वर्ष मात्र उल्लेख गर्ने गर्दछन्, पूरा महिना र तिथि उल्लेख गरेको पाइँदैन । यसलाई पूर्णता दिलाउन पनि विभिन्न दैनिक पत्रिकाहरूलाई अनुरोध गर्नुपर्ने भएको छ ।

नेपाल संवत् ११२४ मा नेपाल संवत् प्रचार प्रसारमा महत्वपूर्ण कार्यहरू भएका छन् । यस वर्षका न्हूदयाँ समारोह समितिका अध्यक्ष आर.के.मानन्धरले नेपाल संवत्का प्रणेता शंखधर साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको दिनलाई ‘शंखधर दिवस’को रूपमा मनाउने मंकाःखलःको सहमतिमा निर्णय भयो ।

यसै वर्ष नेपाल संवत् सञ्चार–माध्यमहरूमा प्रयोग गर्ने सबै सञ्चार–माध्यमहरू दैनिक पत्रिका, रेडियो, एफएमहरूलाई धन्यवादसहित सम्मान कार्यक्रम आयोजना गरियो । नेपाल संवत्को अध्ययन, अनुसन्धान र प्रचार–प्रसारमा महत्वपूर्ण योगदान गर्ने व्यक्ति वा संस्थालाई नगद रकमसहित सम्मान प्रदान गरिनेगरी ‘इमेज–नेपाल संवत्’ पुरस्कारको स्थापना गरियो । हरेक वर्ष नेपाल संवत् नववर्ष र शंखधर दिवसको उपलक्ष्यमा चियापानको आयोजन गर्न थालियो ।

नेपाल भाषा मंकाः खलःले न्हूदँ समारोह समिति गठन गरेर (ने.सं.१११३–११३१) प्रत्येक अध्यक्षबाट नेपालसंवत्को प्रचार प्रसारमा महत्वपूर्ण योगदान दिने वातावरण बनायो । नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउन र वर्तमान स्थितिमा नेपाल संवत्लाई गौरवमय बनाउने कार्यमा उहाँहरू सबैको महत्वपूर्ण योगदान रहेको छ ।

प्रतिक्रिया दिनुहोस्