बालुवामा सुनः किंवदन्तीमा विज्ञान



  • पूर्ण बीडी

राष्ट्रिय विभूति शंखधर साख्वाःद्वारा प्रवद्र्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाःले यस सम्वतलाई प्रचलनमा ल्याएको सर्वविदितै छ । नेपाल संवत्को शुरुवात वि.सं. ९३६ र ई.सं. ८७९ अक्टोवर २० तारिख विहीवारका दिन भएको हो । त्यसैगरी नेपाल संवत्को शक संवत् ८०१ कार्तिक शुक्ल प्रतिपदा, लिच्छवि संवत् ८०२, बुद्ध संवत् १४२४ र मानदेव संवत् ३०४ मा भएको मानिन्छ ।

शंखधर साख्वाःले नेपाल मण्डलका राज्यबाट गरीबहरूले लिएको ऋण मोचन गरेको खुसीयालीमा नेपाल संवत् चलाइएको मानिन्छ । यस संवत्लाई कतै देश संवत्, कतै साख्वाः संवत् र कतै शंखधरकृत संवत् भनेर उल्लेख गरिएको पाइन्छ । इतिहासविद्हरूका अनुसार लिच्छवि संवत्लाई प्रतिस्थापन गर्दै नेपाल संवत् प्रचलनमा आएको हो । त्यसताका यस संवत््ले गति लिन नसकेर थोरै मात्र प्रयोगमा आएको बताइन्छ ।

लिच्छवि राजा आनन्ददेवले भक्तपुरमा र राघवदेवले कान्तिपुरमा राज्य गर्दा नेपाल संवत्को शुरुवात भएको भए तापनि मल्ल वंशले नेपाल मण्डलमा राज्य गर्न थालेपछि मात्र यसको प्रयोग व्यापक रुपमा भएको इतिहासविद्हरूको तर्क छ । त्यसैले नेपाल संवत् प्रयोगको दृष्टिले मल्लकाललाई स्वर्ण काल मानिन्छ ।

मल्लकालमा यो संवत् राजकीय रुपमै प्रयोग भएको थियो । लिच्छवि कालका राजा राघवदेवको शासनकालबाट शुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म पुग्दा मौलिक संवत्का रुपमा चलेको थियो । राणा प्रधानमन्त्री चन्द्रशम्शेरले विक्रम संवत् प्रचलनमा ल्याएपछि भने यो संवत् ओझेलमा पर्न गयो।

वि.सं. २०११ सालदेखि नेपाल संवत्ले मान्यता पाउनुपर्छ भनेर आन्दोलन शुरु भएपनि वि. सं. २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को पालामा आएर नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएको हो । तर अझै पनि नेपालमा नेपाल संवत्को बारेमा थाहा पाउनेको संख्या कमै छ । आफ्नै अस्तित्व र पहिचान बोकेको नेपाल संवत् विदेशी तिथि मितिका कारण ओझेलमा परेको छ ।

नेपाल संवत्का विषयमा अहिले पनि अबुुझपनाका कारण विवाद बाँकी नै रहेको पाइन्छ । कतिले संवत्जस्तो कुरा साधारण व्यक्तिले चलाउन सक्दैन वा उसको नाममा संवत् कायम हुन सक्दैन पनि भनेका छन् । कतिले शंखधर साख्वाः भन्ने व्यक्ति नै छैनन् भनेका छन् । हातमा शंख बोकेकै भरमा शंखधर हुन नसक्ने बताउनेहरू पनि यहाँ कम छैनन् । कतिपयले तत्कालीन लिच्छवि राजा राघवदेवले चलाएको संवत् नै नेपाल संवत् हो भनेर मान्छन् ।

शंखधरसम्बन्धी निस्केका फोटो र परिचयले पनि वास्तविक शंखधरबारे धेरै अन्योल जन्माएको इतिहासविद्हरू बताउँछन् । कतै बौद्ध र कतै हिन्दू धर्मावलम्वी जस्तो देखाइएकोले पनि शंखधरबारे अन्योल सिर्जना हुने गरेको तर्क इतिहासविद् एवं संस्कृतिकर्मी ओमप्रसाद धौभडेल बताउनुहुन्छ ।

विशेषतः शंखधरले बालुवालाई सुन बनाई जनताको ऋण तिरेको भन्ने कथा मनगढन्ते रहेको धेरैको दावी छ । उनीहरू यसको सत्यता नखोजिकन त्यसैलाई वैज्ञानिक आधार मान्नु गल्ती हुने बताउँछन् । वास्तवमा शंखधर साख्वाः चलाख व्यापारी थिए । किंवदन्तीअनुसार भक्तपुरको वंशगोपालका सिद्धिवन्त जोशीको ज्योतिषीले भक्तपुरका राजा आनन्ददेवलाई यो समयमा बालुवा निकालेमा सुन बन्छ भनेर भविष्यवाणी गरेका थिए । सोहीअनुरुप भक्तपुरका ज्यापुहरू बालुवा भरेर जाँदै गर्दा शंखधर साख्वाःले कुुटिलतापूर्वक ज्यापूहरूसँग कुरा बुुझी बालुवा छलपूर्वक परिवर्तन गरी सुन हुने बालुवा हातमा पारेका थिए भन्ने किंवदन्ती रहेको छ ।

विभिन्न अध्ययनहरूले सुनकोशी नदीमा सुन बहने र त्यसलाई प्रशोधन गरी सुन बनाउन सकिने सम्भावना देखाएको छ । लिच्छवि कालमा सुन प्रशोधन गर्ने प्रविधि भित्र्याई शंखधरले बालुुवामा मिसिएको सुन प्रशोधन गरेको हुनुपर्ने अनुमान पनि रहेको छ ।

अर्का इतिहासविद् भुवनलाल श्रेष्ठको एक लेखका अनुसार सुन वा सुनखानी भूगर्भभित्र अवस्थित चट्टानहरूमा अनेक रासायनिक क्रिया–प्रतिक्रिया भएर बनिने पदार्थ हो । प्राकृतिक प्रक्रियाले चट्टान चिरिएर वा चर्किएर अथवा नचिरिए पनि चट्टानभित्रै निस्केको विभिन्न रासायनिक पदार्थ धर्सोधर्सो भएर फैलिन्छ ।

त्यस्ता चट्टान वा धर्साधर्साभित्र फैलिएका विभिन्न रासायनिक तरल पदार्थ लाखौं वर्षका ताप र चापको प्रक्रियाबाट नै सुनखानी बन्ने हो । कर्णाली नदीका कतिपय सहायक नदीहरू आजसम्म बालुवामा सुन खोजिंदैछ र भेट्टाइँदै पनि छ । काठमाडांै उपत्यकाको पूर्वतिर हिमालयबाट बगेर आउने एउटा नदीको नाउँ नै “सुनकोशी” रहेको छ । त्यस्तै तामाकोशी र लिखु खोलाहरू छन् । दोलखामा सुनखानी भन्ने ठाउँ पनि छ, जहाँबाट उहिलेउहिले सुन झिकिन्थ्यो । बिनाकारण त्यस्तो नाउँ रहँदैन ।

नेपाल संवत् र शंखधरसँग सम्बन्धित भनिएको काठमाडौंको विष्णुमती लखु तीर्थ र तीर्थसँगै शंखधरले स्थापना गरेको भनिएको बौद्ध चैत्यको अध्ययन अनुसन्धान नहुनु, शंखधरको शालिक भनिएको पशुपति दक्षिण ढोकाभित्रको सालिकको कार्वन जाँच नहुनु र ऋणमोचन गर्दा हिसाब गरिएको भनिएको सिनामंगलस्थित शीलाको ऐतिहासिक व्याख्या नहुनुले नेपाल संवत् र शंखधरका बारेमा थप अन्योल बढाएको छ ।

अशुभ अंकका कारण नेपाल संवत्

नेपाल संवत् सुरु हुनुअघि लिच्छवि संवत् चलनचल्तीमा रहेको थियो । लिच्छवि शासकहरू आठ अंकलाई अशुभ मान्थे । त्यसैले ८०१ सम्म पुगेको संवत्लाई पुनः एकदेखि सुरु गर्ने क्रममा नेपाल संवत् सुरु भएको मान्नेहरू पनि छन् । तर नेपाल संवत् सुरु हुँदा लिच्छवि संवत् ८०१ नभई ८०२ भएको इतिहासविद्हरू बताउँछन् । उनीहरूले मान्ने लिच्छवि संवत् पनि आयातित संवत् नै थियो । विक्रम संवत् सूर्यमानअनुसार गणना हुन्छ भने लिच्छवि संवत् चन्द्रमान अनुसार गणना हुन्छ ।

इतिहासविद्हरू शंखधर साख्वाः र नेपाल संवत्बारे विस्तृत अध्ययन अनुसन्धानको आवश्यकतामा जोड दिंदै नेपाल संवत्लाई मौलिक संवत् भएकोले यसको प्रयोगमा राज्यले अग्रसरता लिनुपर्ने बताउँछन् । शंखधर साख्वाःलाई राष्ट्रिय विभूति र नेपाल संवत्लाई राष्ट्रिय संवत्को मान्यता दिइसकेपछि त्यसैअनुसार राज्यले शंखधरबारे थप अध्ययन र अनुसन्धान गर्नुपर्ने र नेपाल संवत्लाई पनि व्यवहारमा प्रयोग गर्नुपर्ने उनीहरूको तर्क रहेको छ ।

शंखधरको पहिलो प्रतिचित्र

शंखधर साख्वाः नेपाल संवत्को प्रणेता र संस्थापकको रुपमा प्रख्यात भए तापनि शंखधर कस्तो देखिन्थ्यो भन्ने चाहीं थाह हुन सकेको छैन । शंखधरको शिलामूर्ति पशुपतिनाथको दक्षिण ढोकाको उन्मुक्त भैरवको बाहिरी परिसरमा छ भन्ने प्रचार भएको कारण उत्सुकहरू पशुपति दर्शन गर्न जाँदा उक्त मूर्ति हेर्न पनि गए ।

यसैबीच थिमीको ल्याय्म्ह पुचःले शंखधर साख्वाःको प्रतिचित्र राखेर क्यालेण्डर प्रकाशन गरेर सराहनीय काम गर्‍यो । नेपाल संवत््को क्यालेण्डर योभन्दा पहिला पनि प्रकाशन हुन्थ्यो तर शंखधर साख्वाःको प्रतिचित्र राखी प्रकाशन गरिएको यो नै पहिलो थियो । यो प्रतिचित्र तयार गर्न कलाकार वत्सगोपाल वैद्यले पशुपतिमा गई अध्ययन गरेर मात्र तयार गरेको स्मरणीय छ । अहिले शंखधरको सो शिलामूर्ति पशुपतिमा अरु प्रतिमाहरूको पहिलो पंक्तिमा राखिएको छ।

लखु फल्चा

काठमाडौंको मरुटोलबाट छ्वासपाः भएर रामघाटतिर जाने बाटो छेउ एउटा दबुजस्तो ठाउँ छ । यो ठाउँमा पहिले पाटी थियो । जसलाई लखु फल्चा भनिन्छ । भक्तपुरका राजाले सुवर्ण मुहूर्तमा लखुतीर्थमा लिन पठाएको सुन हुने बालुवा भरियाहरूले यही पाटीमा बिसाएका थिए र सोही स्थानमा भरियाहरूलाई फकाई शंखधर साख्वाःले आफ्नो घर इलाछेंमा बालुवा ओसार्न लगाएको मानिन्छ ।

यस अर्थले त्यस पाटीको ऐतिहासिक महत्व देखिन्छ । पाटीको नाम लखु फल्चा भइराखेकोले पनि लुँकुको अपभ्रंश भई लखु भएको अनुमान गर्न सकिन्छ । नेपाल संवत् र शंखधरको नाम प्रचार हुनुअघि देखि यस पाटीको नाम लखु फल्चा भनिन्छ भनेर त्यहाँका बुढापाकाहरूको भनाइ छ।

  • राष्ट्रिय बिभूति शंखधर साख्वाःको सम्मान ने.सं. ११२० कछलाथ्व दशमी (वि. सं. २०५६ मंसिर २ गते) प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको मन्त्रिपरिषद्बाट राष्ट्रिय बिभूति घोषणा ।
  • ने.सं. ११२० (वि.सं. २०५६) सालमा मध्यपुर थिमि नगरपालिकाबाट नयाँ थिमि चोकलाई शंखधर चोक नामाकरण गरी प्रतिमा निर्माण ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) मा शंखधर चोकमा जनस्तरबाट शंखधर साख्वाःःको प्रतिमा स्थापना ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) राष्ट्रिय बिभूति शंखधर साख्वाःको हुलाक टिकट प्रकाशन ।
  • ने.सं. ११२२ (वि. सं. २०५८) राष्ट्रिय बिभूति शंखधर साख्वाःको सिक्का प्रकाशन ।
  • ने.सं. ११२७ (वि. सं २०६४ असोज ३० गते) राष्ट्रिय बिभूति शंखधर साख्वाःको बारेमा राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा प्रचार–प्रसारको लागि प्रतिष्ठानमार्फत शंखधर साख्वाःसम्बन्धी वेबसाईट धधध।कजबलपजबमजबचकबपजधब।यचन।लउ को व्यवस्था ।
  • ने.सं. ११२८ (वि. सं. २०६४) को माल्यार्पणको अवसरमा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाबाट आप्mनै लेटरप्याड तथा मन्त्रीपरिषद्को लेटरप्याडमा नेपाल संवत् उल्लेख गर्ने घोषणा ।
  • ने.सं. ११२९ (वि. सं. २०६५) मा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहालबाट नेपाल संवत््लाई राष्ट्रिय संवत््को रुपमा घोषणा ।
  • ने.सं. ११३१ (वि.सं.२०६७) देखि राष्ट्रिय बिभूति शंखधर साख्वाःको बारेमा जानकारी पाठ्यक्रममा समावेश ।
  • ने.सं. ११३२ (वि.सं.२०६८) प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवत्को अध्ययन गर्न कार्यदल गठन ।
  • ने.सं. ११३२ (वि.सं. २०६८) कार्तिकमा नेपाल राष्ट्र र नेपालीको मौलिक सम्बत्लाई नेपाल सरकारको व्यवहारिक प्रयोगमा ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गरी आएका पदमरत्न तुलाधर, मल्ल के सुन्दर र ल्यायम्ह पुचः थिमिलाई सम्मान ।
  • ने.सं. ११३३ मा प्रधानमन्त्री डा. बाबुराम भट्टराईद्वारा नेपाल संवत््को पहिलोे दिन अर्थात तिहारको म्हः पूजाको दिनलाई सार्वजनिक विदाको दिनको घोषणा ।

प्रतिक्रिया दिनुहोस्