नेपाल संवत् : हिजो आन्दोलन आज उत्सव



सुनील महर्जन 

नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि नयाँ वर्ष मनाउने स्वरूप पनि फेरिँदै गएको छ । पछिल्ला दिनहरूमा नेपाल संवत् नयाँ वर्ष बढी उत्सवमय बन्दैगएको पाइएको छ ।

एउटा अभियान, आन्दोलन वा संघर्षका रूपमा ४२ वर्षअघि नेपाल संवत् नयाँ वर्षको अवसरमा भिन्तुना र्‍याली शुरू भएको थियो । नेपाल संवत्का प्रणेता शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरेसँगै सो संवत्ले राष्ट्रिय मान्यता पाएपछि मूलतः उत्सवकै रूपमा मनाउने क्रम ह्वात्तै बढेको हो । ‘उत्सवका रूपमा हिजो पनि मनाइन्थ्यो । तर त्यसमा अधिकार र विभिन्न भाषिक तथा सांस्कृतिक मुद्दाहरू पनि सँगसँगै जोडिएको थियो । अहिले उत्सव बढी र मुद्दा गौण हुँदै गएको छ’ –नेपाल संवत्लाई राष्ट्रिय मान्यता दिलाउने संघर्षमा शुरूदेखि लाग्नुभएका नरेशवीर शाक्यले भन्नुभयो ।

शाक्यका अनुसार नेपाल संवत्ले राष्ट्रिय मान्यता पाएपछि यसलाई राज्यले मनाउने कि जनस्तरले मनाउने, नेवाःबाहेक अरू समुदायमा यसलाई कसरी लिएर जाने, यसलाई मनाउने संस्थागत स्वरूप कस्तो हुनेलगायत थुप्रै विषयहरू बहस हुनुपर्ने आवश्यक छ । ‘तर विडम्बना यस विषयमा गम्भीर बहस भइरहेको छैन’ –शाक्यले भन्नुभयो ।

पञ्चायतकालमा भिन्तुना र्‍यालीमा भूमिगत रहेका राजनीतिक दलहरूले पनि भाग लिन्थे । राजनीतिक स्वतन्त्रताको आन्दोलन पनि भिन्तुना र्‍यालीमा मिसिएका थिए । नेपाल संवत् मनाउने क्रममा यस आन्दोलनका प्रणेता पद्मरत्न तुलाधर, अगुवा मल्ल के सुन्दर, दुर्गालाल श्रेष्ठलगायतका अग्रजले नेपाल संवत्लाई राष्ट्रियता मान्यता दिनुपर्ने, भाषिक समानता, अधिकारको विषय, नेपाल भाषालाई सरकारी मान्यताका विषयहरू पनि उठाएका थिए । यसले गर्दा यो लामो समयसम्म एउटा आन्दोलनको हिस्साका रूपमा लिइएको थियो ।

बहुदलीय प्रजातन्त्र पुनःपश्चात भिन्तुना आन्दोलनबाट राजनीतिक स्वतन्त्रताको आन्दोलन अलगियो । २०५७ सालमा कृष्णप्रसाद भटट्राईको सरकारले यसका प्रणेता शंखघर साख्वालाई राष्ट्रिय मान्यता दिएपछि आन्दोलनमा उठाउँदै आएको एउटा महत्वपूर्ण माग पूरा भएको थियो । त्यसको दश वर्षपछि २०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ पहिलोपटक प्रधानमन्त्री हुँदाको बखत राज्यले नेपाल संवत्लाई राष्ट्रिय मान्यता प्रदान गरेको थियो । आन्दोलनले उठाएका महत्वपूर्ण माग पूरा भएको थियो । यसले गर्दा आन्दोलनको स्वरूपबाट नेपाल संवत् मनाउने तरिका ह्वात्तै उत्सवमय बनेको नेपाल संवत् न्हूदँ राष्ट्रिय समारोह समिति–११४२ का सचिवालय सदस्य सुजीव वज्राचार्यले बताउनुभयो ।

‘पक्कै पनि नेपाल संवत् नयाँ वर्ष उत्सव हो । यसले गर्दा काठमाडौं उपत्यकालगायत देशका विभिन्न भागमा साइकल र्‍याली, मोटरसाइकल र्‍याली, सुकुन्दा र्‍याली, सांस्कृतिक कार्यक्रम, चियापानलगायतका कार्यक्रम बढी मात्रा हुने गरेको छ, राष्ट्रिय संवत्को मान्यता पाएपछि सरकारले नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउन गम्भीरताका साथ कार्य अघि बढाएको पाइएन । उत्सवसँगै हाम्रो आन्दोलन पूरा भएको छैन । यो कुरो हामीले बिर्सिनुहुन्न’ –वज्राचार्यले भन्नुभयो ।

नेपाल संवत्ले राष्ट्रियता मान्यता पाएपछि यसलाई आन्दोलनको पाटोबाट अलग गरेर उत्सवका रूपमा सबैले अपनत्व महसुस गर्ने गरी मनाउने स्तरसम्म पुर्‍याउनुपर्ने खाँचो यस अभियानका एक थरी अगुवाहरूले औंल्याउँदै आएका छन् । नेपाल संवत् मनाउने समितिमा विभिन्न समुदायका मानिसहरूको प्रतिनिधित्व गराउनु्पर्ने, यसलाई पूर्व मेचीदेखि पश्चिम महाकालीका जनताले अपनत्व महसुस हुने गरी मनाउने तहसम्म पुर्‍याउनुपर्ने ती अगुवाको भनाइ रहेको छ । तर सबैभन्दा ठूलो समस्या भनेको राष्ट्रिय मान्यताअनुरूप त्यसको प्रयोगका स्वरूपबारे राज्यले आफ्नो दृष्टिकोण अहिलेसम्म स्पष्ट पारेको देखिँदैन ।

‘नेपाल संवत्को मान्यता पाएपछि यसको प्रयोग र महत्व के त ? अहिलेसम्म राज्यले गम्भीर भएर यस प्रश्नको उत्तर दिन सकेको छैन’, इतिहासविद् प्रा. दिनेशराज पन्तले भन्नुभयो– ‘यस्तो बेला नेपाल संवत्को महत्व, यसको प्रयोगबारे राज्यले स्पष्ट दृष्टिकोण बाहिर ल्याउनुपर्दछ । सरकारको रवैया हेर्दा जनस्तरको दबाब र मागलाई साम्य पार्ने हिसाबले मात्र नेपाल संवत्लाई राष्ट्रिय संवत् घोषणा गरेको जस्तो देखियो ।’

२०५७ साल मंसिर २ को तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको नेतृत्वको मन्त्रिपरिषद्ले नेपाल संवत्का प्रणेता शंखधर साख्वाको हैसियत राष्ट्रिय विभूतिका रूपमा रहेको स्वीकार गरेको थियो । त्यसयता शंखधरको महत्व र व्यक्तित्वको सम्मानबारे न राज्यले अग्रसरता देखायो, न कहिले चासो नै लियो । ‘राष्ट्रिय मान्यता त पायो, तर यसको महत्व र प्रयोगबारे राज्यले स्पष्ट दृष्टिकोण बनाएको छैन’, इतिहासविद् प्रा. पन्तले भन्नुभयो– ‘बितेका १२–१३ वर्षमा यस दिशामा केही काम भएन ।’
वसन्तपुरमा हरेक वर्ष हुँदै आएको नेपाल संवत्को औपचारिक कार्यक्रम भिन्तुना र्‍यालीमा सहभागी हुने क्रममा सरकार प्रमुखहरूले विभिन्न आश्वास दिने गरेका छन् । समय बित्न नपाउँदै यसरी दिएका आश्वासन खोक्रो सावित हु“दै गएको छ ।

२०६२/६३ को जनआन्दोलनपछि प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले भिन्तुना र्‍यालीको कार्यक्रममा नेपालको गौरव र मौलिक संवत् नेपाल संवत्को तिथिमिति आजको दिनदेखि मैले अरूमा नभए पनि मेरो लेटरप्याडमा प्रयोग गर्नेछु भनेर घोषणा गर्नुभएको थियो । राष्ट्रप्रमुखको समेत जिम्मेवारी लिनुभएका प्रधानमन्त्री कोइरालाले बोल्नुभएको सो कुरा कार्यान्वयन कहिलै भएन ।

पहिलो संविधानसभा निर्वाचनबाट ठूलो दल बनेको नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय संवत्को घोषणा गरेलगत्तै यसको व्यावहारिक प्रयोग स्पष्ट ठोस दृष्टिकोण तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । तर प्रतिबद्धता अनुरूप व्यवहारमा काम अघि बढेन ।

त्यसै गरी माधवकुमार नेपाल प्रधानमन्त्री भएपछि वसन्तपुरको भिन्तुना र्‍यालीमा जनसमक्ष उभिएर नेपाल संवत्बारे अध्ययन/अनुसन्धानका लागि आयोग बनाउने र आयोगको सुझाव अविलम्ब कार्यान्वयनमा ल्याइने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । आयोग त बन्यो तर सुझाव कार्यान्वयनमा सिन्कोसमेत भाँचिएन ।

त्यसै गरी २०६८ सालको नेपाल संवत् भिन्तुना र्‍यालीको आमसभास्थल खुलामञ्चमा प्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपाल भाषामा सम्बोधन गर्दै नेपाल संवत्सम्बन्धी अध्ययन/अनुसन्धानका लागि राज्यस्तरबाट एउटा प्रतिष्ठान सञ्चालन गर्ने र त्यसका लागि आकर्षक रकम कोषका लागि सरकारले उपलब्ध गराउने घोषणा गर्नुभएको थियो । सो अनुरूप नेपाल संवत्् आन्दोलनका अगुवा पद्मरत्न तुलाधरको संयोजकत्वमा एक कार्यदल बनेको थियो । सो कार्यदललाई नेपाल संवत्लाई व्यावहारिक प्रयोगमा ल्याउने र नेपाल संवत् र अन्य प्रचलित संवत्हरूको अध्ययन गर्ने मुख्य जिम्मेवारी दिएको थियो ।

सो कार्यदल गठनको कार्यक्षेत्र सर्त नै संवत्हरूको अध्ययन गरेर इस्वी संवत् प्रयोग गर्ने भएको त्यो कार्यक्षेत्र संकुचन हुन गएकाले ठोस काम गर्न नसकेको सो कार्यदलका सदस्य रहेर काम गर्नुभएका इतिहासविद् प्रा.डा त्रिरत्न मानन्धर बताउनुहुन्छ ।

त्यसपछि पनि आस्वासन दिने क्रम रोकिएन । प्रधानमन्त्री सुशील कोइराला, शेरबहादुर देउवाले प्रधानमन्त्रीको लेटर प्याडमा नेपाल संवत्को प्रयोग गर्ने घोषणा गर्नुभएको थियो । तर व्यवहारमा अहिलेसम्म कार्यान्वयन भएको छैन । अहिलेसम्म सरकारको ताल हेर्दा जनस्तरको दबाब मत्थर पार्ने ध्याउन्नमा मात्र सरकार देखिएको छ । भावुकता वा सस्तो लोकप्रियताको हिसाबले मात्र काम गर्ने सरकारको रवैयाले गर्दा राष्ट्रिय संवत्को मान्यताअनुरूप गर्नुपर्ने कामहरू केही हुन सकेन । यो कुरालाई सरोकारवालाले हरेक वर्ष सम्झाउँदै आएका छन् ।

यसपटक पनि समारोह समितिका पदाधिकारीहरूले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष नेपाल संवत् प्रयोगका सम्बन्धमा सरकारी लेटरप्याडमा प्रयोग गर्नुपर्नेलगायत विभिन्न माग राखेका थिए । जवाफमा भने प्रधानमन्त्री देउवाले सरकारी लेटरप्याडमा नेपाल संवत् उल्लेख गर्नु ठूलो कुरो नभएको भन्नुभएको न्हूदँ समारोह समितिका अध्यक्ष निरञ्जनरत्न शाक्यले बताउनुभयो । ‘हेरौं प्रधानमन्त्रीले ठूलो होइन भन्नुभएको कुरो यसपटक कुरो हुन्छ कि हुन्न’ –उहाँले भन्नुभयो ।

यसअघि पनि त्यस्तै २०६४ सालमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रदीप ज्ञवालीको संयोजकत्वमा कार्यदल गठन गरेको थियो । सरकार परिवर्तनसँगै सो कार्यदल अलपत्रमा परेको थियो । यसरी कार्यदल गठन हुने बीचमै अलपत्र हुने सिलसिला रहिरहर्‍यो । नेपाल संवत्लाई व्यावहारिक बनाउने प्रक्रिया अहिले पनि कार्यदलमै अड्किएको छ ।

हरेक वर्ष नेपाल संवत् नयाँ वर्षको उपलक्ष्यमा राष्ट्र प्रमुख र मुलुकको कार्यकारी प्रमुखदेखि लिएर राष्ट्रिय राजनीतिका प्रायः सबै दलका नेतृत्ववर्गले देशवासीलाई शुभकामना दिँदै आएका छन् । शुभकामना दिने क्रममा एक जना साधारण जनता शंखधर साख्वाले जनताको ऋण मोचन गरेर देशकै नाउँमा रहेको विश्वको एक मात्र संवत् भएकाले नेपाल संवत् व्यावहारिक प्रयोगमा ल्याउनुपर्ने साझा प्रतिबद्धता जनाउँदै आएका छन् ।

राष्ट्रिय मान्यताअनुरूप नेपाल संवत्को व्यावहारिक प्रयोगका लागि सरकारले विभिन्न प्रतिबद्धता गरे पनि व्यवहारमा केही काम नै भएन । सरकारी प्रतिबद्धता र आस्वासन केवल जनताको मन मस्तिष्कलाई क्षणिक रूपमा प्र्रभावित पार्ने कार्य मात्र सावित भयो । साँचो अर्थमा आफ्नो प्रतिबद्धताप्रति विभिन्न समयमा बनेका प्रायः सबै सरकार खासै इमानदार देखिएनन् ।

राष्ट्रिय मान्यताअनुरूप नेपाली मुद्रा र नोटहरूमा नेपाल संवत् प्रयोग हुनुपर्ने, संवत्का प्रवर्तक शखंघर साख्वा र नेपाल संवत्सम्बन्धी विद्यालय र कलेजस्तरको पाठ्यक्रममा राख्नुपर्ने, शंखधर प्रतिष्ठान स्थापना गर्ने, नेपाल संवत् मनाउन राज्यबाट बजेट विनियोजित गर्नुपर्ने मागहरू सरकार समक्ष तेस्याउँदै आएको छ । सरकारी भित्तेपात्रोमा नेपाल संवत् र दिनांक उल्लेख हुनुपर्ने, नेपाल संवत्को क्यालेन्डर सरकारी स्तरबाट नै प्रकाशन र वितरण गर्ने जस्ता तत्काल गर्न सकिने कार्य पनि अघि बढ्न सकेको छैन । यी कार्यहरू नभएसम्म नेपाल संवत् राष्ट्रिय संवत्को अनुभूत जनताले गर्न सक्ने छैनन् ।

नेपाल संंवत् मुलुकको महत्वपूर्ण सांंस्कृतिक निधि हो । यसको ऐतिहासिक, सामाजिक/सांस्कृतिक र महत्वलाई आत्मसात् गरेर यसको व्यावहारिक कार्यान्वयन पक्ष अहिलेको महत्वपूर्ण सवाल हो । यसको ऐतिहासिकता, महत्वबारे अध्ययन/अनुसन्धान गर्न/गराउनमा राज्यको भूमिका के/कस्तो हुने हो अब स्पष्ट हुनुपर्छ । राष्ट्रिय संवत्को मान्यता प्रदान गरिसकेपछि राष्ट्रिय स्तरमा यो संवत्लाई कसरी व्यावहारिक प्रयोगमा ल्याउने हो, सरकारी स्तरबाट नीति तय हुनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्