सशस्त्र प्रहरीद्वारा ४ करोडको सामान बरामद



वीरगन्ज, (नेस) ।

सशस्त्र प्रहरी प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिबासले चालू आर्थिक वर्षमा गत वर्षभन्दा बढी सामान बरामद गरेको छ ।

चालू आर्थिक वर्षको असोज १३ गतेदेखि कार्तिक १३ गतेसम्म एक महिनाको अवधिमा ४ करोडभन्दा बढीको राजस्व छलीका सामान बरामद गरेको सशस्त्र प्रहरी प्रदेश २ मुख्यालय छिन्नमस्ता बाहिनी बर्दिबासले जनाएको छ । मुख्यालयका प्रमुख सशस्त्र प्रहरी नायव महानिरीक्षक गणेश ठाडा मगरका अनुसार चालू आर्थिक बर्षको असोज १३ गतेदेखि कार्तिक १३ गतेसम्मको अवधिमा मात्रै ४ करोड ९ लाख ४८ हजार चारसय ११६ रुपियाँको भन्सार छलीका अवैध सामान बरामद गरेको हो ।

यस बाहेक सशस्त्र प्रहरीले असोज र कार्तिक २ महिनामा २०० क्यूफिट काठ समेत बरामद गरेको छ । असोज महिनामा १०३ दशमलव ५ क्युफिट र कार्तिक महिनामा ९६ दशमलव ८३ क्युफिट काठ बरामद गरेको सशस्त्र प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो । त्यस्तै लागूऔषध गँजा १२२ दशमलव ९२ किलो, चरेश १० किलो, ७९ एम्पुल नुर्फिन, डाईजोपाम ८० एम्पुल, नाईट्रोभेट ६४३ एम्पुल र अन्य प्रतिबन्धित लागू औषध ११२ किलो बरामद गरेको छ ।

त्यसैगरी १३ लाख ६९ हजार चारसय मूल्य बराबरको पशुचौपाया र ३ लाख २ हजार ४ सय १८ रुपियाँको विष्फोटक पदार्थ पटकासमेत सशस्त्र प्रहरीले बरामद गरेको प्रहरी नायव महानिरीक्षक ठाडा मगरले बताउनुभयो । गत वर्षको असोज महिनामा भन्दा चालू आर्थिक वर्षमा २ करोड ५३ लाख ३१ हजार ५ सय ६६ रुपियाँ बढी र कार्तिक महिनामा गत आर्थिक बर्षमा भन्दा चालू आर्थिक बर्षमा १ करोड ५६ लाख १६ हजार पाँचसय ५० रुपियाँ बढीको सामान बरामद गरिएको सशस्त्र प्रहरी प्रदेश २ मुख्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्