सुनसरी–मोरङ औद्योगिक करिडोरमा अढाइ अर्बको क्षति



हरिहर नेपाल, विराटनगर ।

बेमौसमी वर्षापछि आएको बाढीका कारण सुनसरी–मोरङ औद्योगिक करिडोर क्षेत्रमा करिब अढाइ अर्बको क्षति भएको छ । ४१ वटा उद्योगमा बाढी र वर्षाको पानी पस्दा दुई अर्ब ४८ करोड ८९ लाख ८ हजार रुपियाँ बराबरको क्षति भएको उद्योग संगठन मोरङले जनाएको छ । अचानक आएको बाढीका कारण ठूलो क्षति पुगेको उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेलले बताउनुभयो । बाढीको पूर्वानुमान नहुँदा मेसिनरी औजार, तयारी कच्चा पदार्थमा क्षति पुगेको छ । उद्योग संगठन मोरङले अध्ययन गरी सार्वजनिक गरेको प्रतिवेदनमा मेसिन र औजारमा ९८ करोड १७ लाख १८ हजार, कच्चा पदार्थमा ७१ करोड २५ लाख ७० हजार रुपियाँको क्षति भएको उल्लेख छ ।

उद्योगहरुको तयारी वस्तुमा ७६ करोड चार लाख पाँच हजार र सरसफाइ तथा फोहोर व्यवस्थापनमा एक करोड १७ लाख ६५ हजार रुपियाँबराबरको क्षति भएको छ । बाढी प्रभावित उद्योगमध्ये २७ वटा उद्योग एक सातापछि सञ्चालनमा आएका थिए । सातवटा उद्योग सञ्चालन हुन अझै दुई साता लाग्नेछ । तीनवटा उद्योग सञ्चालनमा आउन चार हप्ता लाग्ने र चारवटा उद्योग पुनः सञ्चालनमा आउन चार हप्ताभन्दा बढी समय लाग्ने उद्योग संगठन मोरङका महानिर्देशक चुडामणि भट्टराईले बताउनुभयो । उहाँका अनुसार बाढीबाट प्रभावित उद्योगहरुको दैनिक प्रशासनिक खर्च मात्रै पाँच करोडभन्दा बढी थियो ।

उद्योगी व्यावसायीले सुनसरीको दुहबीमा रहेको विद्युत गृह मर्मतमा ध्यान दिन आग्रह गरेका छन् । वर्षाका कारण आएको बाढी पस्दा विराटनगर क्षेत्रमा दुई दिन विद्युत् आपूर्ति ठप्प भएको थियो । पटक– पटक बाढी आउँदा ग्रिड डुब्ने गरेको बताउँदै व्यवसायीले तत्काल ग्रिडलाई सुरक्षित बनाउन आग्रह गरेका थिए । यसअघि २०७४ सालमा आएको बाढी पनि ग्रिडमा पसेपछि विद्युत आपूर्ति रोकिएको थियो । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बाढीका कारण भएको क्षतिको विवरण संकलन गर्ने कार्य भइरेको बताउनुभयो । बाढीको समस्या दीर्घकालीन रुपमा समाधान गर्न आवश्यक रहेको भन्दै उहाँले बाढीबाट प्रभावितलाई राज्यले सम्बोधन गर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्