भरतपुरका ५५ हजार ग्राहक विद्युत् सेवाबाट वञ्चित



काठमाडौं, (नेस) ।

चितवनको भरतपुर सबस्टेसनमा रहेका पावर ट्रान्सफर्मरको मर्मत धमाधम भइरहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

सबस्टेसनमा रहेका दुई ट्रान्सफर्मरमा समस्या आएपछि भरतपुर महानगरपालिका १ देखि १३ तथा २९ र तनहुँको देवघाट क्षेत्रमा मंगलबार दिउँसोदेखि विद्युत् आपूर्ति बन्द छ ।

अहिले सबस्टेसनमा समस्या आउँदा यस क्षेत्रका करिब ५५ हजार ग्राहक विद्युत् सेवाबाट बञ्चित भएको प्राधिकरण भरतपुर वितरण तथा ग्राहक सेवा केन्द्रका प्रमुख राजीव कुमार सिंहले बताउनुभयो । बिग्रिएको ट्रान्सफर्मरलाई हटार २२ दशमलव ५ एमभीएको अर्को पावर ट्रान्सफर्मर जडानको कार्य भइरहेको छ ।

अर्को ट्रान्सफर्मर पोखराबाट ल्याउने काम भइरहेको छ । अहिले जडान भइरहेको ट्रान्सफर्मरको काम सकिएपछि सर्बसाधारणलाई बत्ती आपूर्ति गरिने हुनेछ । तिहारको समयमै भरतपुर क्षेत्रमा विद्युत आपूर्ति बन्द भएपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायूकुमार श्रेष्ठसहितको टोलीले मर्मत कार्यको स्थलगत निरीक्षण गरी काम छिटो सक्न निर्देशन दिएको छ ।

कार्यकारी निर्देशक घिसिङले मर्मत कार्यको अनुमगन गरी जनशक्ति थपेर जतिसक्दो छिटो विद्युत् आपूर्तिको व्यवस्था गर्न निर्देशन दिनुभयो । ‘तिहारको बेला उपभोक्तालाई अँध्यारोमा राख्न हुँदैन, मर्मतका लागि श्रमिकहरु थपेर भए पनि तत्काल काम सक्नुपर्छ, तत्कालका लागि उद्योगहरुलाई दिइएको आपूर्ति कटौती गरी घरेलु ग्राहकलाई तिहारमा बत्ती बाल्न पाउने व्यवस्था मिलाउनुपर्छ,’ उहाँले निर्देशन दिनुभयो ।

सबस्टेसनमा रहेका दुई वटा ट्रान्सफर्मरमध्ये एउटामा शनिबार बिहानबाट समस्या देखिएको थियो । सबस्टेसनमा रहेको अर्कोमा मंगलबार दिउँसोबाट समस्या देखिएपछि भरतपुर क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको थियो ।

अहिले वैकिल्पक व्यवस्था गरी हस्पिटल, खानेपानी, जिल्ला प्रशासन तथा प्रहरी, विमानस्थललगायतका क्षेत्रमा विद्युत् आपूर्ति सुचारु गरिएको छ । सबस्टेसनबाट विद्युत् आपूर्ति गर्ने १० वटा फिडरमध्ये एउटा मात्र सञ्चालनमा ल्याउन सकिएको छ ।

प्रतिक्रिया दिनुहोस्