ऊर्जा सुरक्षामा गम्भीर हुन आग्रह



काठमाडौं, नेस । 

ऊर्जा सुरक्षाका लागि अर्धजलाश तथा जलाशयुक्त आयोजनाका साथै सौर्य ऊर्जासमेत जरुरी सरकारेकारवालाहरूले जोड दिएका छन् । वैकल्पिक ऊर्जा प्रवद्र्धक केन्द्रको २५औं वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित ‘इनर्जी मिक्स फर इनर्जी सेक्युरिटी एन्ड स्टेनेवल इकोनमिक डेभलपेन्ट’ विषयक अन्तरक्रियाका वक्ताहरूले सो कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष प्राडा गोविन्दराज पोखरेलले ऊर्जा मिश्रणको अवधारणालाई सुक्ष्म तरिकाले अगाडि बढाउनुपर्ने भन्दै प्रसारण प्रणाली निर्माणमा देखिएको समस्या समाधानका लागि पनि उत्तिकै ध्यान दिनुपर्ने र राजनीतिक दल तथा कर्मचारीतन्त्रले पनि त्यसलाई आत्मसात् गर्नुुपर्ने बताउनुभयो । उहाँले वातावरणीय दृष्टिले शून्य कार्बन उत्सर्जनमा नेपालले निर्वाह गरेको भूमिका आफैमा प्रशंसनीय रहेकाले त्यसबाट प्राप्त हुने लाभको समेत समन्यायिक वितरण हुनेपर्ने धारणा राख्नुभयो ।

सरकारले विसं २०८५ भित्र १५ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिएकामा त्यो पूरा हुने भए पनि जलाशयुक्त आयोजना निर्माणमा भने लक्ष्यअनुसार काम नहुने हो कि भन्ने अवस्थामा रहेको ऊर्जा मन्त्रालयका सहसचिव मधु भेटवालकोे भनाइ थियो । त्यसका लागि सरकार, निजी क्षेत्र र लगानीकर्ताका बीचमा साझा प्रयास र सहकार्य जरुरी रहेको भन्दै उहाँले ऊर्जा सुरक्षाको कोणबाट सबैले मनन गर्नुपर्ने बताउनुभयो ।त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा सुरक्षाका निम्ति जलाशयुक्त आयोजना निर्माणमा ध्यान दिएको उल्लेख गर्दै प्राधिकरण सोह िअनुरुप लागिपरेको बताउनुभयो । प्राधिकरणले सोही लक्ष्यका आधारमा दूधकोशी, माथिल्लो अरुणजस्ता आयोजना अगाडि बढाउन लागेको उहाँको भनाइ थियो ।

वर्षामा बिजुली खेर जाने र हिउँदमा कम हुने अवस्थालाई मध्यनजर गर्दै नेपालभित्रै पनि क्षेत्रीय सन्तुलन हुने गरी जलविद्युत् आयोजना निर्माण गर्नुपर्ने कार्यकारी निर्देशक घिसिङले आवश्यकता औंल्याउनुभयो ।वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा। मधुसुदन अधिकारीले वैकल्पिक ऊर्जाको क्षेत्रमा आगामी दिनमा गर्नुपर्ने रणनीतिक कार्यका बारेमा जानकारी दिनुभएको थियो । नेपाल विद्युत् प्राधिकरणको तथ्यांकअनुसार ९० प्रतिशत जनसंख्यामा प्रणालीको बिजुली पुगेपनि प्रतिव्यक्ति खपतको हिस्सा असाध्यै कमजोर रहेको छ । दक्षिण एसियामा नेपालको प्रतिव्यक्ति विद्युत् खपतदर असाध्यै कम छ । यस्तै सहज तथा निरन्तर बिजुलीको उपलब्धतामा पनि उत्तिकै समस्या छ ।

प्रतिक्रिया दिनुहोस्