विद्युत्को उपयोग बढाउन जोड



काठमाडौं, (नेस) ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन आयातित इन्धनको खपत कम गरी स्वदेशमै उत्पादन भएको विद्युत्को उपयोगमा जोड दिनुपर्ने बताउनुभएको छ ।

वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २५औं वार्षिकोत्सवका अवसरमा आयोजित विद्युतीय सवारी र्‍यालीको उद्घाटन गर्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको आयातमा बर्सेनी करिब दुई अर्ब र खाना पकाउने ग्यासको आयातमा ४० अर्ब खर्च भइरहेको उल्लेख गर्नुभयो । बढ्दो व्यापार घाटालाई न्यूनीकरण गर्न विद्युत्को उपयोग बढाउनुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

त्यस्तै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले अहिले दैनिक झण्डै चार/पाँच सय मेगावाट विद्युत् खेर गइरहेको र आगामी दिनमा यो परिणाम अझ बढ्ने निश्चित रहेकाले विद्युत्को खपत बढाउन विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न विभिन्न स्थानमा चार्जिङ स्टेशन निर्माण भइरहेको उल्लेख गर्नुभयो । केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुदन अधिकारीले वातावरण संरक्षण र स्वच्छ ऊर्जाको प्रवद्र्धनमा जोड दिँदै आएको केन्द्रले विद्युतीय सवारीको बारेमा सर्वसाधारणलाई जानकारी र नीतिनिर्माताहरुलाई पनि प्रविधिको बारेमा अवगत गराउन र्‍यालीको आयोजना गरेको जानकारी दिनुभयो । जावलाखेलबाट शुरु भएको ¥याली भृकुटीमण्डपमा पुगेर विसर्जन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्