– शान्त कुमारी
– डा. राजेन्द्र भद्रास्पर्शको महत्व
मानिस सामजिक प्राणी हो र एकान्तमा मात्र बस्ने वा शारीरिकरुपमा अन्तरक्रिया नगरी बस्न प्रकृतिले उसलाई बनाएको होइन । एक्लोपन वा स्पर्शको अभावले रोग निम्त्याउने वा बढाउने हुन्छ । स्पर्शले समभाव, माया, कृतज्ञताजस्ता भाव बोलेर भन्दा राम्ररी व्यक्त गर्ने गरिन्छ । आत्मीय व्यक्तिको स्पर्श सान्त्वनादायी हुन्छ, एक किसिमले सुख दिन्छ । स्पर्शको कारणले हाम्रो मस्तिष्कमा स्नायु रसायनहरू (neuro-chemicals) जस्तै कि सेरोटोनिन, डोपामिन वा अक्सिटोसिन निःसृत हुन्छन् । यही कारणले हामीमा आनन्द अनि खुशीको अनुभूति हुन्छ । असल स्पर्शले कर्टिसोल वा एड्रेनालिनजस्ता स्ट्रेस हर्मोनको उत्सर्जनलाई कम गर्न मद्दत गर्दछ । स्नेहमयी स्पर्शले हाम्रो रोगसँग लड्न सक्ने प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन मद्दत गर्दछ । अहिले यसको महत्वलाई बुझेर शिशु तथा बाल्यकालमा उनीहरूको सर्वाङ्गिण विकासको लागि स्पर्शलाई बढावा दिन थालिएको छ । स्पर्शबाट वञ्चित शिशुको स्वास्थ्यमा समस्या हुने, राम्ररी व्यक्तित्व विकास नहुने पाइएको छ ।यौन सम्पर्क वा यौन क्रियाकलाप आफैँमा एक विशेष स्पर्श हो, जसमा यौन संवेदनशील अङ्गको स्पर्श प्राथमिकतामा हुन्छन् ।परम्परागत तथा आधुनिक उपचार विधिमा परीक्षण तथा सही निदानको लागि सहयोग मात्र होइन स्पर्शको प्रयोग अपरिहार्य देखिन्छ । तनाव कम गर्न, चिन्ता कम गर्न, निराशापन कम गर्न, अनि पोस्ट ट्रउम्याटिक स्ट्रेस डिसअर्डर (post-traumatic stress disorder) जस्ता मानसिक समस्याको उपचारमा स्पर्श विधि प्रयोग गरिएको पाइन्छ ।