तेल मालिसका फाइदा



– डा. अरुणा उप्रेती (जनस्वास्थ्य विज्ञ) अव जाडो याम शुरु हुन लागेको छ । जाडो याममा भोजन र जीवनशैलीका केही साधारण कुरामा ध्यान दिइयो भने स्वास्थ्य राम्रो राख्न धेरै मद्दत पुग्छ । जाडोको बेलामा तेल लगाउनु, घाममा बस्नु, सुन्तला र बदाम खानुको रमाइलो नै अर्कै हुन्छ । जाडो याममा वयष्क व्यक्तिहरुका साथै साना नानीहरुलाई घाममा राखेर तेल लगाइदिनु निकै लाभदायक हुन्छ । तेल लगाउने सन्दर्भमा नेपालमा बच्चालाई कानमा तेल हाल्ने कि नहाल्ने भन्ने बारेमा पनि विभिन्न भ्रमहरु छन् । स्वास्थ्यकर्मीहरुले बच्चालाई कानमा तेल नहाल्न सुझाव दिने गर्छन् । शायद गाउँघरतिर कानमा तेल हाल्नु भनियो भने कानमा संक्रमण हुँदा पनि तेल हाल्छन् र यसले समस्या झन् बढ्न सक्छ भनेर यसो भनिएको होला । तर कानमा संक्रमण छैन र शुद्ध तोरीको तेल उपलब्ध छ भने कानमा तेल हाल्न सकिन्छ ।
वयष्क मानिसहरुले पनि हरेक दुई हप्तामा कानमा तोरीको तेल हाल्दा र हरेक हप्ता शरीरमा तेल मालिस गर्दा फाइदा नै गर्छ । हरेक राति सुत्नुभन्दा अघि पैतालामा तेल लगाउनु लाभदायक हुन्छ । अझ जाडोको बेलामा अलि बढी नै तेल पैतालामा लगाउनु र सुतीको मोजा लगाएर सुत्नु फाइदाकारक छ । कपाल नुहाउनुभन्दा दुई घण्टाअघि तेल, दही, कागती मिसाएर कपालमा लगाउँदा कपाल स्वस्थ हुन्छ । यो धेरै खर्चिलो पनि हुँदैन । यो मेरो आफ्नै पनि अनुभव हो । बाहिरबाट ल्याएका महँगा क्रिमले जीउ, खुट्टा मल्नु पनि पर्दैन । कपालमा चाया पर्‍यो भनेर अनेक थरीका महँगा स्याम्पु पनि प्रयोग गर्नुपर्दैन । कपाल र छाला स्वस्थ हुनुका साथै यसले सम्पूर्ण शरीर स्वस्थ राख्न, मनलाई फूर्तिलो बनाउन सहयोग गर्छ । शरीरमा तेल मसाज गर्दा आनन्द महसुस हुन्छ र निद्रा राम्रोसँग लाग्छ । यसले गर्दा रोगसँग लड्ने शक्ति बढाउँछ । निद्रा लागेपछि जीउको आलस्य कम हुन्छ । मज्जासँग भोक पनि लाग्छ । तर कतिपय मानिस अहिले शरीरमा तेल लगाउनुलाई गलत तरिकाले हेर्छन् । यो ज्ञान र अनुभवको कमीले हो भन्ने मलाई लाग्छ । बालबालिकालाई पाउडरभन्दा तेलले मालिस गर्दा नै राम्रो हुन्छ । तर कतिपयलाई तोरी वा अन्य कुनै तेल लगाउँदा एलर्जी पनि हुन्छ । यस्तो अवस्थामा चाहिँ त्यस्तो तेल लगाउनुहुँदैन । अन्य अवस्थामा तोरी, नरिवल, तिलको तेलले मसाज गर्दा फाइदा हुन्छ । मसाज वा मालिस गर्दा बच्चाको शरीरमा रक्त सञ्चालन सहज हुन्छ । छाला पनि स्वस्थ हुन्छ । तर तेल मात्र लगाएर मालिस गरिएन, सफा गरिएन, बच्चालाई चिसो लाग्छ भनेर गुम्स्याएर राखियोे भनेचाहिँ बच्चाको शरीरबाट गन्ध आउँछ । तेल लगाउँदैमा तेलको गन्ध आउँदैन तर सफा नगरेचाहिँ गन्ध आउँछ । विशेष गरी गाउँघरमा सुत्केरी र नवजात शिशुलाई तेल लगाएर सफा नभएको अवस्थामा कोठा नै गन्हाउँछ । बच्चा वा सुत्केरीलाई चिसो लाग्छ भनेर झ्याल–ढोका थुनेर राख्ने पनि गरिन्छ । यसले स्वच्छ वायु नपाई बच्चा वा सुत्केरीको स्वास्थ्यमा नराम्रो प्रभाव पर्छ ।
कानमा संक्रमण छैन र शुद्ध तोरीको तेल उपलब्ध छ भने कानमा तेल हाल्न सकिन्छ ।
त्यसै गरी तेलको लेप मात्र थपिदिने, तालु पुर्न भनी तालुमा तेल लगाएर टोपीले गुम्स्याउने, चिसो लाग्छ भनी कोठाभित्र कोइलामा तेल तताएर बच्चा तताउनेजस्ता कार्यले पनि बेफाइदा गर्छ । बच्चाको तालुमा पटक–पटक तेल लगाउने, गुम्स्याउने गर्दा बच्चाको टाउकोमा ढुसी पर्छ । त्यो ढुसी भएपछि संक्रमण हुन्छ । तेलको लेपले तालु पुरिने पनि होइन, तालु केही समयपछि आफैँ पुरिन्छ ।खुल्ला हावामा, घाम लागेको बेलामा शिशुलाई तेल मालिस गरिदिनुपर्छ । यस्तो मालिस सकिएपछि नुहाउने वा मनतातो पानीमा लुगा हल्का भिजाएर पुछिदिनुपर्छ । नत्र तेल गन्हाउँछ । तेल मालिस गरेपछि लगाएको लुगा धुँदा पनि तेलको गन्ध रहिरहन्छ । शायद यही कारणले गर्दा आचकल तेल लगाउनुहुँदैन भन्ने गरिएको हुन सक्छ । सुत्केरी महिला, शिशु, बालबालिकालाई घाममा बसेर मालिस गर्दा भिटामिन ‘डी’ प्राप्त हुनुका साथै आनन्द पनि पाइन्छ । तेल मासिल गर्दा शरीरमा रक्तसञ्चार सुचारु हुन्छ र हाडहरुको स्वस्थतामा पनि वृद्धि गर्छ । तेल मालिसले शिशुको शरीरमा रोगसँग लड्ने शक्ति बढ्छ । समग्र स्वास्थ्यमा लाभ पुग्छ । आजकल कतिपय अस्पताल र स्वास्थ्य चौकीमा शिशु १० दिनको नहुँदै भिटामीन ‘डी’ को झोल दिने गलत परम्परा बसेको छ । यसको सट्टा घाममा राख्न र तेल मासिल गर्न सिकाउनु उचित हो । प्रायः घाम नलाग्ने युरोपका देशहरूमा शिशुलाई सूर्यको किरणबाट पाउने ‘अल्ट्रा भाइलेट किरण’ शरीरमा पुगोस् भनेर ‘बत्ती बाल्ने ल्याम्प’ जस्तोबाट भिटामिन ‘डी’ पाउने विशेष व्यवस्था गरिएको हुन्छ । सन् २०१६ मा गरिएको एक अन्तर्राष्ट्रिय अनुसन्धानबाट समय नपुगी जन्मेका र कम तौल भएका बच्चाहरूलाई हलुका तरिकाले मालिस गर्दा उनीहरूको शरीर स्वस्थ राख्न, तौल बढाउन, पेट दुख्ने समस्या कम गर्नमा मद्दत पुग्ने गरेको थाहा पाइएको थियो । हाम्रो देशमा पनि काखमा राखेर तेल लगाउने पराम्पराले धेरै नै फाइदा पुगेको पाइएको छ । हुन त विदेशमा जस्तो हामीकहाँ समुदायमा यसको वैज्ञानिक अनुसन्धान भएको छैन तर हजारौं वर्षदेखि चलिआएको चलनले दिएको ज्ञान हो । शिशुलाई मालिसले राम्रो गर्छ । शिशुलाई मात्र होइन, वयष्क, वृद्धवृद्धा, कुनै बिरामीबाट उठेर तंग्रिन लागेका व्यक्तिलाई पनि मालिसले फाइदा गर्छ । मालिसले भोक जगाउन पनि मद्दत गर्छ । सन् २०१६ मा धुलिखेल अस्पतालमा शिशुलाई कसरी तेल लगाउने भन्नेबारे तालिम नै दिइएको थियो । नेपालमा बज्यैहरुले परम्परागतरुपमा गर्ने तेल मालिसको विधि धुलिखेल अस्पातालले नयाँ पुस्तालाई सिकायो । अस्पतालमा गरेको यो प्रयोगले हामी नेपालीलाई पक्कै पनि मालिसको महत्व बुझाउन सहयोग गर्नेछ । आयुर्वेद चिकित्सा विज्ञानमा पनि विभिन्न थरीका तेलहरुले मालिस गरेर विभिन्न स्वास्थ्य समस्याको समाधान गर्न सकिनेबारे उल्लेख छ । साथै वैद्यहरुले विभिन्न रोगका बिरामीको उपचार गर्दा तेल मालिस गर्ने गरेको देखिन्छ । लामो बाटो हिँडेका बेला पिँडौला मसाज गर्दा दुखाइ कम हुने त छँदै छ, निद्रा पनि राम्रो लाग्छ । गर्भवती महिलालाई पनि मालिसले फाइदा गर्छ । गर्भवती महिलालाई हात, खुट्टा, ढाडमा मालिस गर्दा उनलाई आनन्दको अनुभूति हुने, गाह्रोपन कम हुने र निद्रा राम्रोसँग लाग्न मद्दत हुन्छ । यस्तो काम लाग्ने मालिसको ज्ञान र तरिका प्राचीन कालदेखि नै थियो । भारतमा मात्र होइन, ग्रिस, चीनमा पनि शरीर मालिसको चलन थियो । भारतमा प्राचीन कालमा राजा–महाराजालाई मालिस गर्न त हजामहरुको नियुक्ति नै गरिन्थ्यो । वृद्धवृद्धाको छाला सुख्खा हुने, हात–खुट्टा करकर खाने समस्यामा पनि मालिसले फाइदा गर्छ । उमेर बढ्दै गएपछि छालामा चिल्लोपन कम भएर सुख्खा हुने र छाला चिलाउने गर्छ, अलिकति हिँड्दा वा काम गर्दा पनि थकाइ अनुभव हुन्छ । यस्तो बेलामा तेल मालिस गर्दा दुखाइ र थकाइ कम हुन्छ । साथै छाला नरम राख्न पनि मद्दत गर्छ । घरको परिवारले मायालु हातले मालिस गर्दा मनमा भएको तनाव कम हुने र आनन्दको अनुभूति हुने हुन्छ, जसको कारणले रोगसँग लड्ने शक्ति बढ्छ । यदि घाममा बसेर तेलले मालिस गरियो भने बढी नै लाभ हुन्छ ।

प्रतिक्रिया दिनुहोस्