आफ्नै भवनमा वडा कार्यालय



नेपाल समाचारपत्र, पनौती ।

पनौती नगरपालिका–४ ले आफ्नै सुविधासम्पन्न नवनिर्मित भवनबाट सेवा प्रवाह गर्ने भएको छ । वडा कार्यालयको नवनिर्मित भवनको पनौती नगरपालिकाका प्रमुख भीम न्यौपाने र उपप्रमुख गीता वञ्जाराले सयुक्तरूपमा शिल्यान्यास गरी सेवा सुचारु गरिएको छ ।

शहरी विकासको चर्को चपेटामा परेको वडा कार्यालय यसअघि दुई कोठामा खुम्चिएको थियो । ४ करोड ४२ लाख रुपियाँको लागतमा निर्माण गरिएको नवनिर्मित भवनमा १ सय ५० जना क्षमताको हलसहित २१ कोठा रहेको छ । वडाबाट सेवा प्रवाह हुने सबै सेवाको लागि प्रयाप्त ठाउँ रहेको यो भवनमा सबै वडाबासी सहज तरिकाले आऊ–जाऊ गर्न सजिलो हुने गरी सडकको स्तरोन्नति गर्न पनि वडा कार्यालयले चासो देखाएको छ ।

वडा कार्यालयको शिल्यान्यास गर्दै नगर प्रमुख न्यौपानेले वडा कार्यालयबाट छिटोछरितो र गुणस्तरीय कार्यसम्पादन भए जनप्रतिनिधिमाथिको विश्वास अझ बढ्ने बताउनुभएको थियो । नगरपालिकाभित्रको सबै वडा कार्यालय सुविधासम्पन्न बनाइँदै लगिने भन्दै नगरप्रमुख न्यौपाने भन्नुहुन्छ– ‘अब वडा कार्यालयसम्म आउने जाने सबै क्षेत्रको बाटो प्राथमिकताका आधारमा मर्मत सम्भार र स्तरोन्नति हुन्छ ।’

पनौती नगरपालिकाअन्तर्गत वडा नं ३ मा पनि नयाँ भवनबाट कार्यालय सञ्चालन भएको छ । नगरपालिकाको वडा नं १ को कार्यालय मर्मतसम्भार गर्नुपर्ने छ भने वडा नं २ को कार्यालय पनि कार्यसम्पादनका लागि पर्याप्त छैन । पनौती नगरमध्ये सबैभन्दा अप्ठेरो अवस्थामा वडा नं ५ को कार्यालय रहेको छ । यहाँ पनि नयाँ भवन बनाउनुपर्ने छ ।

नगरपालिकाले जनाएअनुसार वडा नं ६ को कार्यालय साँघुरो भएकाले कार्यालयका लागि ठाउँ थप गर्नुपर्ने छ भने वडा नम्बर ८ को कार्यालय अहिलेसम्म साँघुरो वा अप्ठेरो छैन ।

वडा नम्बर ९ को लागि नयाँ भवन बनाउन जग्गा खरिद गरिसकिएको छ भने वडा नं १० को कार्यालयका लागि अहिले केही विकल्प खोज्नुपर्ने अवस्था छैन । वडा नं ११ मा स्वास्थ्य र वडा एउटै भवनबाट सञ्चालन भएकाले स्वास्थ्य र वडा कार्यालय छुट्टाछुट्टै भवनमा सार्नुपर्ने देखिन्छ भने वडा नम्बर १२ मुख्य सडकमा साँघुरो भएकाले सेवा प्रवाहमा केही समस्या देखिएको छ ।

वडा नम्बर ४ अत्यन्तै साँघुरो दुईवटा कोठामा सञ्चालन भएकाले यसका लागि सुविधासम्पन्न भवन आवश्यक्ता रहेको थियो भन्दै उपप्रमुख वञ्जारा भन्नुहुन्छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारीका अनुसार वडा नं ४ को नयाँ भवन निर्माणको लागि कुल लागत अनुमान ४ करोड ६९ लाख ७४ हजार ३ सय ७१ रुपियाँ गरिएको थियो ।

ठेक्का सम्झौता ४ करोड ४२ लाख ५८ हजार ५ सय ४३ मा भएको भन्दै उहाँले अन्तिम बिल भुक्तानी ४ करोड ४१ लाख ६९ हजार ८ सय ५३ भएको बताउनुभएको छ । निर्माण व्यवसायीले कोरना महामारीलगायत विविध कारण देखाएर एक वर्ष ढिलो गरी गत वैशाख २० गते निर्माण सम्पन्न गरेको थियो ।

वडा कार्यालय नया भवनमा सरेसँगै ज्यालापाटीबाट वडा कार्यालय हँदै डिहिगाउँसम्म आउने बाटो ढलान गर्न ५० लाख रुपियाँ बजेट विनियोजन भइसकेको छ । वडा नं ४ पनौती नगरपालिकाको राजधानीका रूपमा पनि विकास भरहेकाले यस वडाको समग्र विकासका लागि ध्यान पुर्‍याउने वडाध्यक्ष वुद्धसिंह थापा बताउनुहुन्छ

प्रतिक्रिया दिनुहोस्