हेटौंडा सामुदायिक आँखा अस्पताल मुस्ताङमा



हेटौंडा, (नेस) ।

हेटौंडा सामुदायिक आँखा अस्पतालले तिलगंगा आँखा अस्पताल र सामुदायिक आँखा केन्द्र मुस्ताङको समन्वयमा मुस्ताङमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ । कात्तिक पहिलो साता माथिल्लो मुस्ताङ र तल्लो मुस्ताङमा शिविर सञ्चालन गरिएको होे ।

हेटौंडा सामुदायिक आँखा अस्पताल प्रमुख डा. सुनील थकालीको नेतृत्वमा गएको टोलीले दुवै स्थान गरी ७ सय ९८ बिरामीको निःशुल्क आँखा जाँच र आवश्यक औषधि बितरण र ५० जना बिरामीको निःशुल्करूपमा मोतिविन्दुको शल्यक्रिया गरेको थियो ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका, चराङ स्वास्थ्य चौकी र आमा समूहको समन्वयमा माथिल्लो मुस्ताङको लोमान्थाङ, चराङ, सुखाङ्ग लगायत स्थानमा शिविर सञ्चालन गरी मोतिविन्दुका बिरामी छनोट गरेर शल्यक्रिया गरिएको हो ।

जिल्ला अस्पताल मुस्ताङ, घरापजोड गाउँपालिका, मुस्ताङ कल्याणकारी समाज, नेपाल रेडक्रस सोसाइटी मुस्ताङको समन्वयमा तल्लो मुस्ताङको जोमसोम, फलाक, कागबेनी, कुञ्जु, कोबाङलगायत स्थानमा शिविर सञ्चालन गरी मोतिविन्दुका बिरामी छनोट गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्