दूध बोकेर सरर नेपालगन्ज



कुमार श्रेष्ठ, बाँके ।

डुडुवाका राजेश यादव बिहान साइकलमा दूध राखेर नेपालगन्ज आउँछन् । नेपालगन्जका एक दर्जन घरमा दूध पुर्‍याएर उनी घर फर्किन्छन् । बिहान उठेर भैंसीलाई कुडो–पानी दिने, दूध दुहुने र साइकलमा राखेर नेपालगञ्ज ल्याएर महिनावारी ग्राहकलाई दूध दिएर फर्किनु उनको दैनिकी नै हो ।

डुडुवा नेपालगन्जसँग जोडिएको पालिका हो । यहाँबाट राजेश जस्ता सयौं किसान बिहान दूध बोकेर नेपालगन्ज आउँछन् र बेचेर फर्किन्छन् । डुडुवाबाट बिहान नेपालगन्ज आउने र फर्किने किसानको बाटोमा लाइन नै देखिन्छ । किसानले साइकल र मोटरसाइकलमा राखेर दूध ल्याउने गर्दछन् ।

नेपालगन्ज शहर डुडुवाका किसानले ल्याएको दूधमा निर्भर रहेको छ । सीमावर्ती शहर भएकाले यहाँ भारतीय किसानले पनि दूध ल्याउने गर्दछन् ।

यद्यपि, नेपालगन्जमा ठूलो मात्रामा दूध डुडुवाबाट नै आउने गर्दछ । डुडुवाबाट महिनावारी ठेक्कामा घर–घरमा पुगेर दिने भन्दा डेरीमा एकमुष्ट दिने किसानको संख्या धेरै रहेको छ ।

डुडुवामा १ सय २० वटासम्म भैंसी पाल्ने किसान छन् । हल्कारापुरका रामसुहावन यादवले १ सय २० वटा भैंसी पालेका छन् । उनले दैनिक ३ सय लिटर दूध नेपालगन्ज र कोहलपुरसम्म पुर्‍याउँछन् ।

डुडुवामा १० हजार घरधुरीमध्ये ८ हजार ७ सय ८६ घरधुरीले पशुपालन गरिरहेका छन् । यादव समुदायको बाक्लो बसोबास रहेकाले डुडुवामा भैंसीपालन बढी रहेको छ ।

डुडुवा गाउँपालिकाका पशु शाखा प्रमुख सुशीलकुमार शर्माले डुडुवामा २६ हजार बढी गाईभैंसी रहेको जानकारी दिनुभयो । उहाँका अनुसार डुडुवाका किसानले ६ वटा डेरीमार्फत महिनामा १८ लाख लिटर दूध बेच्ने गर्दछन् । फुटकर बेच्नेको रेडर्क नै छैन ।

गाउँपालिकाले ‘घर–घरमा पशु स्वास्थ्य सेवा कार्यक्रम’ सञ्चालन गरेको छ । यो भनेको किसानले पालेका पशु बिरामी भएमा पालिकाका प्राविधिकले घरमै पुगेर उपचार गरिदिन्छन् ।

‘मेरो पशु बिरामी छ भनेर कसैले फोन गर्‍यो भने हामी तुरुन्तै घरमा पुगेर उपचार गरिदिन्छौं’, पशु शाखाका प्रमुख शर्माले भन्नुभयो– ‘हामीले नौ जना प्राविधिक खटाएर यो सेवा दिइरहेका छौं । यो कार्यक्रमबाट किसान लाभान्वित भएका छन् ।’

बाँकेलाई दूध र अण्डामा आत्मनिर्भर गराइँदै छ । नेपालगन्जमा अझै पनि ठूलो मात्रामा भारतबाट गुणस्तरहीन दूध भित्रिने गर्दछ । नेपालगन्ज भित्रिने त्यस्ता दूधको गुणस्तर जाँच हुने गरेको छैन । नेपालगन्ज नाकाका क्वारेन्टाइन भए पनि त्यहाँ जाँच हुँदैन ।

भारतीय किसानले निर्बाधरूपमा दूध ल्याउने गर्दछन् । डुडुवा होस् वा भारतबाट किसानले ल्याउने दूधको गुणस्तर जाँच हुन जरुरी रहेको छ । डेरीमा पुग्ने दूधको गुणस्तर जाँच हुन्छ । घर–घरमा ल्याउने दूधको गुणस्तर जाँच हुँदैन । कतिपय किसानले बीच बाटोमा पानी मिसाइरहेको देखिन्छ ।

नेपालगन्ज ठूलो बजार रहेकाले यहाँ डुडुवा, भारत, राप्तीपारिका गाउँबाट दूध आउने गर्दछ । राप्ती पारिबाट कतिपय नेपाली किसानले भारतमा दूध पुर्‍याउँछन् ।

भारतबाट पनि दूध भित्रिन्छ । मात्रा हेर्दा भारतबाट भित्रिने बढी रहने गर्दछ । यद्यपि, यहाँका अधिकारीहरुले बाँके जिल्ला दूधमा आत्मनिर्भर रहेको दावी गर्छन् ।

प्रतिक्रिया दिनुहोस्