मकवानपुर उवासंघमा अग्रवाल विजयी



हेटौंडा, (नेस) ।

मकवानपुर उद्योग वाणिज्य संघको मंगलबार भएको निर्वाचनमा अध्यक्षमा कृष्णकुमार गुप्ता (अग्रवाल) विजयी हुनुभएको छ । उहाँले अर्का उम्मेदवार राजकुमार न्यौपानेलाई पराजित गर्नुभएको हो । उहाँले १ हजार २ सय ४६ मत ल्याउनुभएको थियो भने न्यौपानेले १ हजार १ सय ५५ मत प्राप्त गर्नुभएको थियो ।

अध्यक्षका लागि वाणिज्यको १ हजार ५ सय १५ मत, उद्योगको ७ सय ५३ मत, एसोसिएटको १ सय १६ मत, र वस्तुगत ३१ मत गरी २ हजार ४ सय १५ मत खसेको थियो । निर्वाचनमा कडा प्रतिस्पर्धाका साथ गुप्ता र न्यौपानेको भिडन्त देखिएको थियो । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रको चुनावमा पराजित हुनुभएका न्यौपानेले पुनः जिल्ला अध्यक्षमा उम्मेदवारी दिनुभएको थियो । उहाँ संघका पूर्वअध्यक्ष हुनुहुन्छ भने गुप्ता वाणिज्य उपाध्यक्ष हुनुहुन्थ्यो ।

वाणिज्यतर्फ उपाध्यक्षमा अनिल अग्रवाल विजयी हुनुभएको छ । उहाँले रामप्रसाद न्यौपानेलाई पराजित गर्दै ६ सय ७२ मत ल्याएर विजयी हुनुभएको हो । न्यौपानेले ६ सय १८ मत प्राप्त गर्नुभएको थियो । वाणिज्यमा १ हजार ८ सय ७० मतदातामध्ये १ हजार ५ सय १५ मत खसेको थियो । वाणिज्य सदस्यतर्फ अनिलभक्त श्रेष्ठ, कुलप्रसाद चौलागार्इं, दिवस पराजुली, नेत्रप्रसाद खतिवडा, माधब ज्ञवाली, विकेशलाल श्रेष्ठ, सुदर्शन खरेल विजयी हुनुभएको छन् । वाणिज्य सदस्य महिला आरक्षणतर्फ निलम पाण्डे र निलम वैद्य विजयी हुँदा पश्चिमी क्षेत्र सदस्यमा कृष्णहरि बर्ताैला विजयी हुनुभयो ।

उद्योगतर्फ उपाध्यक्षमा प्रमोदसिं रानाभाट विजयी हुनुभएको छ । उहाँले अर्का उम्मेदवार प्रतिमा श्रेष्ठलाई पराजित गर्दै ३ सय ७० मतसहित विजयी हुनुभएको हो । श्रेष्ठले ३ सय १९ मत प्राप्त गर्नुभएको थियो । उद्योगमा ८ सय ९० मतदातामध्ये ७ सय ५३ मत खसेको थियो । सदस्यमा रूपकराज दाहाल, श्रीकृष्ण कर्माचार्य, सन्तोषकुमार अर्याल र नरेन्द्र भण्डारी विजयी हुनुभएको छ । उद्योग सदस्य महिला आरक्षणतर्फ सीतादेवी भेटवाल विजयी हुनुभएको छ ।

एसोसिएटतर्फ उपाध्यक्षमा उज्ज्वल चौलागाईं विजयी हुनुभएको छ । उहाँले ६३ मत प्राप्त गर्दा अर्का उम्मेदवार विष्णु खनालले ५० मत प्राप्त गर्नुभएको थियो । निर्वाचनमा १ सय १७ मतमध्ये १ सय १६ मत खसेको थियो । एसोसिएट सदस्यमा अंकिता सुमार्गी, राजाराम कार्की, गणेशप्रसाद भेटवाल र दीपक उप्रेती विजयी हुनुभएको छ ।

वस्तुगततर्फ उपाध्यक्षमा राजु अधिकारी विजयी हुनुभएको छ । अधिकारीले १८ मत पाएर विजयी हुनुभएको हो भने निकटतम् प्रतिद्वन्द्वी काव्यमणि अधिकारीले ११ मत पाउनुभएको थियो । निर्वाचनमा वस्तुगततर्फ ३२ मत रहेकोमा ३१ मत खसेको थियो । वस्तुगत सदस्यमा तेजराज अधिकारी र प्रदीप अर्याल विजयी हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्