विद्युत प्राधिकरणले पायो अरुण–४ जलविद्युत् आयोजनाको लाइसेन्स



काठमाडौं(नेस) ।

सरकारले अरुण नदीमा पहिचान भएको ४९०.२ मेगावाटको अरुण–४ अर्ध जलाशययुक्त जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिपत्र नेपाल विद्युत् प्राधिकरणलाई दिएको छ ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संखुवासभाको भोटखोला र मकालु गाउँपालिकामा पर्ने आयोजनाको लाइसेन्स प्राधिकरणलाई दिने निर्णय गरेको हो । विद्युत् विकास विभागले आयोजनाको विस्तृत डिजाइन तथा अध्ययन गरिसकेको छ । प्राधिकरणले आयोजनाको लाइसेन्सका लागि विद्युत् विभागमा गत २९ भदौमा आवेदन दिएको थियो ।

प्राधिकरणले आयोजनाको लाइसेन्स सोमबार प्राप्त गरेको छ । अरुण–४ प्राधिकरणले निर्माण गर्न लागेको १०६१ मेगावाटको माथिल्लो अरुण जलविद्युत् आयोजनाको विद्युत्गृहभन्दा तल्लो भागमा पर्दछ ।

अरुण–४को लाइसेन्स पाएसँगै अरुण नदीमा प्राधिकरणले १ हजार ५ सय ५१ मेगावाटका दुई वटा आयोजनाहरू एकसाथ अगाडि बढाउने छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले माथिल्लो अरुण र अरुण–४ गरी १ हजार ५ सय ५१ मेगावाटको आयोजनाको निर्माण समानान्तर रूपमा ‘जनताको जलविद्युत् कार्यक्रम’अन्तर्गत अगाडि बढाइने बताउनुभयो ।

‘अरुण–४को लाइसेन्स पाउनु प्राधिकरणका लागि ज्यादै खुशीको कुरा हो, माथिल्लो अरुण र अरुण–४ आयोजनालाई उच्च प्राथमिकतामा राखी निर्माण तथा लगानी मोडालिटी एक/डेढ वर्षभित्रमा टुङ्ग्याएर अगाडि बढाउँछौं’, घिसिङले भन्नुभयो – ‘आयोजनाबाट प्राप्त हुने लाभ आम नागरिकलाई पनि उपलब्ध गराउन सर्वसाधारणले पनि सेयर खरिद गरी आयोजनामा लगानी गर्न पाउने व्यवस्था गरिने छ ।’

विभागले अरुण–४लाई नदीको वहावमा आधारित आयोजनाको रूपमा पहिचान गरेको थियो । तर, माथिल्लो अरुण अर्धजलाशययुक्त मोडलमा डिजाइन गरिएकाले यसबाट प्राप्त हुने पानीको बहावलाई सदुपयोग गरी अरुण–४लाई पनि अर्धजलाशययुक्त बनाउन लागिएको हो ।

अरुण–४को बाँधस्थल भोटखोला गाउँपालिका–४ र ५स्थित अरुण नदी र लेक्सेवा दोभानभन्दा करिब १ सय ३० मिटर दक्षिण तथा कपासे र गोलाबस्तीभन्दा उत्तरमा पर्दछ । बाँधमार्फत अरुण नदीको पानीलाई फर्काएर २.५५ किलोमिटर सुरुङमार्फत भूमिगत बालुवा थिग्य्राउने पोखरी (डिसेन्डर)मा लगिने छ । डिसेन्डरबाट पानीलाई ६दशमलव ८ किलोमिटर सुरुङमार्फत् मकालु गाउँपालिका–३ स्थित सजुवाबेंसीमा भूमिगत विद्युत् गृहमार्फत विद्युत् उत्पादन गरिने छ ।

विद्युत् गृहबाट विद्युत् उत्पादन गरी ४७३ दशमलव ४ मिटर टेलरेस सुरुङमार्फत पानीलाई पुनः अरुण नदीमा खसालिने छ । आयोजना मकालु बरुण राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्दछ ।

संखुवासभाको सदरमुकाम खाँदबारीबाट आयोजनाको विद्युत्गृह र बाँध क्षेत्र क्रमशः करिब ६२ र ७७ किलोमिटर टाढा रहेका छन् । कोशी राजमार्गअन्तर्गत खाँदबारीदेखि आयोजना क्षेत्रसम्मको सडक खण्ड हाल स्तरोन्नति भइरहेको छ । बाँध क्षेत्र कोसी राजमार्गमा नै पर्दछ । विद्युत्गृह क्षेत्र पुग्ने करिब २ किलोमटर ग्रामीण सडक गाउँपालिकाले स्तरोन्नति गरिरहेको छ ।

विभागले गरेको अध्ययनअनुसार, आयोजनाको अनुमानित लागत ५५ करोड अमेरिकी डलर (करिब ६५ अर्ब रुपियाँ) छ । आयोजनाबाट वार्षिक २ अर्ब ९ करोड युनिट ऊर्जा उत्पादन हुने छ ।

प्रतिक्रिया दिनुहोस्