लोकतान्त्रिक खेलकुदको मन्त्रीलाई ध्यानाकर्षण पत्र



काठमाडौं, (नेस)  । 

नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले युवा तथा खेलकुद मन्त्रीलाई सिंहदरबारस्थित मन्त्रालयमा आइतबार ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले सर्बियाको राजधानी बेलग्रेडमा आयोजना हुने विश्व बक्सिङ च्याम्पियनसिपमा सहभागी हुन जाने नेपाली टोलीलाई खेल पोसाक ट्र्याकसुटसहित बिदाइ गर्ने कार्यक्रम आयोजना गरिएकोमा नेपाल बक्सिङ संघले पूर्वसूचना गर्दागर्दै पनि खेलाडीहरूलाई उपस्थित हुन रोक लगाएकोप्रति नेपाल बक्सिङ संघका पदाधिकारीहरू र प्रमुख प्रशिक्षकले देखाएको खेलभावना र खेलकुद क्षेत्रलाई बदनाम बनाउने कार्यको भत्सर्ना गर्दै त्यस्ता कार्य गर्नेहरूलाई छानबिन गरी कारबाही गर्न संघका अध्यक्ष दीपक गुरुङले युवा तथा खेलकुद मन्त्रीलाई ध्यानाकर्षण पत्र बुझाएका हुन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघ खेल क्षेत्रको विकृति र विसंगतिलाई हटाई खेलाडी र खेलकर्मीहरूको हक हितलाई स्थापित गर्न स्थापना भएको एक खेल संस्था भएको र खेलाडी राष्ट्रको गौरव तथा सबै नेपालीहरूको साझा सम्पत्ति रहेको भन्दै खेलाडीहरूलाई सम्मान गर्न पाउने सबैको अधिकारको कुरा रहेको बताएको छ ।

नेपाल बक्सिङ संघका केही पदाधिकारी र मुख्य प्रशिक्षकले व्यक्तिगत दूरासय र वैमनस्यताका कारण बिदाइ कार्यक्रममा उपस्थिति जनाएमा खेलाडीहरूलाई कारबाही गर्ने धम्की दिँदै उपस्थिति हुन रोक लगाएकोले छानबिन गरी त्यस्ता खेलभावनाविपरीत कार्य गरी खेल क्षेत्रको बदनाम गर्ने पदाधिकारीहरूलाई यथाशिघ्र कार्यवाहीको माग गर्दै युवा तथा खेलकुदमन्त्रीसमक्ष नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले ध्यानाकर्षण पत्र बुझाएको हो ।

खेलकुदमन्त्री महेश्वर गहतराजले ध्यानाकर्षण पत्र बुझ्दै के–कस्तो भएको हो त्यसको बारेमा छानबिन गरी निर्णय गर्ने बताए । त्यस्तै, संघले राष्ट्रिय खेलकुद परिषद् कार्यकारी समितिका सचिव एवं विभागीय प्रमुख कुलबहादुर थापा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलाई पनि उक्त आशयसहितको ध्यानाकर्षण पत्र बुझाएको हो ।

सचिव थापा र अध्यक्ष श्रेष्ठले पनि खेलाडीहरू सबैका साझा सम्पत्ति भएका र नियोजित रूपले कसैसँगको व्यक्तिगत कारण खेलाडीहरूलाई मुछेर खेलभावनाविपरीत कार्य गर्न नहुने भन्दै यसको बारेमा छानबिन तथा पत्राचार गरी निर्णय गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्