नेहा बनिन् पावर लिफ्टिङ च्याम्पियन



विजय नेपाली, पोखरा  । 

नेहा बानु पोखरामा सम्पन्न पावर लिफ्टिङको च्याम्पियन बन्न सफल भएकी छन् । नेहा आफ्नो तौलभन्दा ५.७ गुणा बढी तौल उठाउँदै च्याम्पियन बन्न सफल भएकी हुन् ।

उनले नगद ८० हजार रुपियाँसहित बेल्टसमेत हात पारिन् । ५९ किलो २ ग्राम तौलकी उनले समग्रमा कुल ३ सय ४१ किलो तौल उचालेकी हुन् ।
गोरखा क्लासिक नेपालको आयोजनामा पोखरा रंगशालास्थित बहुउदेश्यीय कभर्डहलमा भएको च्याम्पियनसिपमा नेहा ६० केजी तौल समूह मुनिसमेत विजेता बनिन् । उनले बेन्च प्रेसमा ७० किलो, स्क्वाटमा १ सय २८ किलो र डेडफिटमा १ सय ४३ किलो गरी कुल ३ सय ४१ किलो तौल उचाल्दै विजेता बनिन् । योसँगै उनले थप २५ हजार रुपियाँसहित ट्रफी र मेडल हात पारिन् ।

उक्त समूहमा पुनम तामाङ दोस्रो भइन् । उनले ब्रेन्च प्रेसमा ६० किलो, स्क्वाटमा १ सय २३ किलो र डेडफिटमा १ सय ४० किलो गरी कुल ३ सय २३ किलो तौल उठाइन् । उनले नगद १५ हजार रुपियाँ प्राप्त गरिन् । तेस्रो बनेकी ज्योति थापाले बेन्चप्रेसमा ६५ किलो, स्क्वाटमा १ सय १५ किलो र डेडफिटमा १ सय ३८ किलो तौल उचालिन् । उनले १० हजार रुपियाँ हासिल गरिन् ।

उता ६० किलो तौल समूहभन्दा माथिको प्रतिस्पर्धामा शर्मिला शाह प्रथम भइन् । उनले बेन्चप्रेसमा ७० किलो, स्क्वाटमा १ सय ४७ किलो र डेडफिटमा १ सय ४८ किलोसहित कुल ३ सय ६५ किलो तौल उठाउँदै २५ हजार रुपियाँ हात पारिन् । यस्तै, सीमा गुरुङ बेन्चप्रेसमा ६५ किलो, स्क्वाटमा १ सय ४३ किलो र डेडफिटमा १ सय ५३ किलो तौलसहित समग्रमा ३ सय ६१ किलो तौल उठाउँदै दोस्रो स्थानमा रहिन् । उनले १५ हजार रुपियाँ प्राप्त गरिन् ।

कोमल थापा बेन्चप्रेसमा ५० किलो, स्क्वाटमा १ सय ३८ किलो र डेडफिटमा १ सय २० किलो तौल उठाउँदै तेस्रो स्थानमा रहिन् । उनले १० हजार रुपियाँ हासिल गरिन् । च्याम्पियनसिपमा ६० किलो तौल समूह मुनि ८ र ६० किलो माथि तौल समूहमा ६ जना गरी कुल १४ जना प्रतिस्पर्धीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्