मकवानपुर उद्योग बाणिज्य संघको साधारणसभा शुरू



हेटौंडा, (नेस) ।

मकवानपुर उद्योग वाणिज्य संघको साधारणसभा आइतबार शुरू भएको छ । कात्तिक ७, ८ र ९ गतेका लागि तोकिएको ५४ र ५५ औं साधारणसभा तथा निर्वाचन शुरू गरिएको हो ।

गत वर्ष पुस मसान्तमै ५४ औं साधारणसभा सम्पन्न गर्नुपर्ने भए पनि कोरोना महामारीको दोस्रो लहरका कारण चैतपछि वैशाखमा तोकिँदा पनि निर्वाचन गर्न नसकिने भएपछि संघको कार्यसमितिले कात्तिकका लागि तयारी अघि बढाएको थियो ।

भर्चुअल माध्यमबाट संघको साधारणसभा भएको हो । सभामा महासचिव, कोषाध्यक्षको प्रतिवेदन पेस गरिएको छ । ८ गते उम्मेदवारी दर्ता, दाबी विरोध र फिर्ता र ९ गते मतदान प्रक्रिया हुने संघले जानकारी दिएको छ ।

संघको नेतृत्वका लागि हालसम्म संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघ पूर्व केन्द्रीय सदस्य राजकुमार न्यौपाने, संघका वर्तमान उपाध्यक्ष कृष्णकुमार गुप्ता अग्रवाल र संघका निवर्तमान महासचिव महेन्द्र राउत मैदानमा हुनुहुन्छ ।
न्यौपाने र अग्रवाल प्यानलसहित टिम लिएर चुनावी मैदानमा देखिनुभएको छ भने राउत एक्लै अध्यक्षका रूपमा अघि बढ्नुभएको छ ।

अग्रवालले चुनावको मिति घोषणापछि दशैंअघि औपचारिक कार्यक्रममार्फत् उम्मेदवारी घोषणा गर्नुभएको थियो । अग्रवालको टिममा वाणिज्यतर्फ उपाध्यक्षमा अनिल अग्रवाल, उद्योग उपाध्यक्षमा प्रमोदसिंह रानाभाट, वस्तुगत उपाध्यक्षमा काव्यमणि अधिकारी र एसोसिएट उपाध्यक्षमा विष्णु खनाल रहनु भएको छ ।

शनिबार न्यौपाने टिमले पनि प्यानल घोषणा गर्नुभएको छ । न्यौपाने टिमले क्षेत्रगत नामावली घोषणा गरेको हो । न्यौपानेको टिममा वाणिज्यतर्फ उपाध्यक्षमा रामप्रसाद न्यौपाने, उद्योग उपाध्यक्षमा प्रतिमा श्रेष्ठ, वस्तुगत उपाध्यक्षमा राजु अधिकारी र एसोसिएट उपाध्यक्षमा उज्ज्वल चौलागाईं हुनुहुन्छ ।

शनिबार अध्यक्षका अर्का प्रत्यासी राउतले दीपावली, छठको अवसरमा चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमम गर्दै उम्मेदवारी कायम रहेको बताउनुभयो । उहाँले कांग्रेस हेटौंडा उपमहानगर समितिको सभापतिमा उम्मेदवारी रहेपछि संघको अध्यक्षबाट पछि हटेको हल्ला निराधार रहेको र आफू चुनावी मैदान छाडेर नभागेको उहाँको दाबी छ ।

करिब ३ हजार सदस्य रहेको संघका सदस्यमा निर्वाचनमा उत्साह नदेखिँदा उम्मेदवारहरू भने सदस्यलाई चलायमान बनाउने कोसिसमा दिनहुँ होटलमा ‘पार्टी’ गरेर मतदाता फकाउने प्रयासमा छन् । संघको वार्षिक साधारणसभा विभिन्न चरणमा सर्दै आएकाले पनि मतदातामा उत्साह कम भएको हो । संघको निर्वाचन कार्यक्रम २ पटक सर्दै गर्दा बल्ल मंगलबार निर्वाचन हुने क्रममा छ । संघमा देखिएको चरम राजनीतिकरणका कारण मतदातामा उत्साह नदेखिएको विश्लेषण छ ।

३ वर्षे कार्यकालका लागि चयन भएका संघको कार्यसमितिमा रहेका अधिकांश सदस्यले पुनः उम्मेदवारी दिने क्रममा संघका ३ उपाध्यक्षहरू बरिष्ठ उपाध्यक्ष माधव न्यौपाने, कृष्णकुमार गुप्ता अग्रवाल र रामप्रसाद न्यौपानले अध्यक्षमा दाबेदारी गर्दै आउनुभएको थियो । संघका निवर्तमान अध्यक्ष राजकुमार न्यौपाने र निवर्तमान महासचिव महेन्द्र राउतसमेत गरी ५ जनाले अध्यक्षमा दाबी गर्दै आएका थिए ।

संघका वाणिज्यतर्फका उपाध्यक्ष गुप्ताले निर्वाचनको तयारी गर्न राप्रपाबाहेक नेकपा एमालेका एक संघीय सांसदमार्फत् टिकट पाउने कोसिसमा एउटा सहकारीमा आबद्ध भएर गाउँगाउँसम्म नेकपा एमाले दलकै कार्यक्रममा सहयोग गर्दै सहभागी भएर नजिक हुने प्रयासमा लाग्दा नेकपा एमाले विभाजनसँगै गुप्ताको सपना चकनाचुुर भयो ।

त्यसपछि नेकपा एमालेका तर्फबाट गुप्तालाई टिकट दिन वञ्चित गराउन एमालेको व्यावसायिक भ्रातृ संगठन राष्ट्रिय व्यापार संघको बैठकले नेकपा एमालेका तर्फबाट संघका वस्तुगत उपाध्यक्ष रामप्रसाद न्यौपानेलाई संघको अध्यक्षमा खडा गर्ने निर्णय गरेको भए पनि राजनीतिले अर्कै मोड लिएको छ ।

प्रतिक्रिया दिनुहोस्