इच्छाराजको इच्छामा पीडित बचतकर्ता



  • बालकृष्ण मैनाली

नेपालीहरुको महान् चाड दशैँले सुख सन्देशलगायत कतिपय जनजनलाई वेदनासमेत पस्केर हामीबाट बिदा भएको छ भने त्यससँगसँगै देश अर्को महत्वपूर्ण चाड तिहारको प्रतीक्षामा जुट्न पुगेको छ । वास्तवमै दशैँको मुखमा विभिन्न दुर्घटनाका समाचारले खबर बजार तरंगित हुन पुगेका छन् । कैयौँले मृत्यवरण गर्न पुगे भने कैयौँ अभैm उपचारार्थ अस्पतालमा भर्ना भएका छन् । तिनीहरुका प्रत्येक परिवारका सदस्यहरुमा परिरहेको पीडा र दुःख सही मानेमा वर्णन गरेर साध्य छैन । दुर्घटना पक्कै संजोग हो, तथापि त्यस्तो संजोग जुराइदिने वा त्यस्तो संजोग पारिदिने व्यक्ति वा निकायहरु पनि कम्ती जिम्मेवार छैनन् । अपूरो निर्माण छोडिदिने, तोकिएको काम समयमा सम्पन्न नगर्ने, विनाअध्ययन विकासको नाउँमा जतासुकै हस्तक्षेप गर्ने, वर्षौं थोत्रा गाडीहरुको प्रयोग गर्ने र गर्न लगाउने खालका कार्यहरु पनि दुर्घटनालाई मलजल गराई दुर्घटना निम्त्याउने कारक तत्वहरुभित्र पर्दछन् । के कुरामा पक्कै विवाद छैन भने, अकस्मात् कुनै कल्पना गरेभन्दा बाहिरको परिस्थिति सृजना हुन पुगी वा काबुभन्दा बाहिर पुगेर दुर्घटना हुन जानुको तुलनामा अव्यवस्थित तथा मनलाग्दो किसिमले अपनाइने गरेको नीतिका कारणले दुर्घटना हुन पुगेको प्रतिशत उच्च छ । यसबारेका लेखाजोखा तथा अनुसन्धान त परै जाओस्, यसबारेमा सोच्नेसम्म पनि फुर्सद हाम्रा शासकहरुमा छैन ।

यो आलेख तयार पारिरहँदासमेत नुवाकोटको किस्पांगमा पुनः बस दुर्घटना भएको खवर सार्वजनिक भएको छ र त्यो दुर्घटनामा पनि ३० जना घाइते हुन पुगेका छन् । समाचारअनुसार बस नालीमा खसेर भित्तामा ठोकिन पुगेको छ । सहजै अनुमान गर्न सकिन्छ– बस या त पुरानो थियो, या त बाटो साँघुरो थियो, या त चालकको लापरबाही थियो । जनजनको दुःख यतिमा मात्र सीमित रहेन । पुनः भारी वर्षाको कारण पाकेका अन्न नष्ट हुँन पुगेका छन् । पहिरो र बाढीले बस्ती डुबानमा परेका छन् । कैयौँ बेपत्ता हुन पुगे । कैयौँ शव बगरमा देखिन थालेका छन् । सरकार किंकर्तव्य देखिन्छ ।

दशैँको पूर्वसन्ध्यामा बाढी–पहिरोजस्तो दुर्घटना नभए पनि जनजनलाई आर्थिक दुर्घटनामा पार्ने खालको काम हुन पुगेको बारे खबर बजारमा ज्यादै चर्चा हुन पुग्यो । यो विषय अझैँ सेलाएको पनि छैन र सेलाउने छाँटकाँट पनि देखिँदैन । शासकहरुको अनुत्तरदायी कार्यले गर्दा देशको प्रत्येक क्षेत्र यो वा त्यो नाउँमा दुर्घटनामा फस्दै गइरहेको छ । हो, यस्तै पछिल्लो खबरअनुसार एउटा दलको त्यो पनि एउटा गुटको सदस्यले जो समानुपातिकबाट सांसद्समेतको पद हत्याउन सफल भएका थिए, तिनै व्यक्तिले चलाएको सहकारीबाट बचतकर्ताहरु पीडित हुन पुगेका छन् । बचतकर्ताहरुको अर्बौं सम्पत्ति फिर्ता हुने हो कि होइन, कुनै ठेगान छैन । यो विषयलाई यसै सेलाउन कुनै पनि हालतमा दिइनुहुँदैन । थुप्रै जनजनको उजुरीका कारण सीआईबी अर्थात् अपराध अनुसन्धान विभागले यस मामिलामा छानबिन गरिरहेको छ । हाललाई इच्छाराज थुनामा छन्, तथापि इच्छाराजको इच्छाबाट पीडित भएका पीडितहरुको दुःख–व्यथा थामी नसक्नुको छ । पीडितहरु अभैm आशंकामा छन् । कतै शक्तिको दुरुपयोगले उनले उन्मुक्ति पाउने त होइनन् भन्ने आशंकाले प्रत्येक पीडितहरु त्राहिमाममै रहेका छन् ।

सहकारीहरुको गलत धन्दा प्रतिशतको आधारमा मूल्यांकन गर्ने हो भने र सबैमा स्वतन्त्र छानबिन हुने हो भने थुप्रै सहकारीहरुका कर्तुतहरु जनजनसामु छर्लंग हुनेछन् । थुप्रै सहकारीहरुले देशको नीति, नियम र कानुनलाई राम्रैसँग लत्याउने गरेका छन् । अपवादको रुपमा केही सहकारीहरुको इमानदारिता देखिनु त्यो छुट्टै विषय हो । सहकारीका टाउकेहरुले जनजनको सम्पत्तिलाई आ–आफ्नो कम्पनीमा लगानी गर्नु पदाधिकारीहरुका आफन्तलाई चाहेजति ऋणको नाममा धन प्रवाह गर्नु, विभिन्न व्यवसायहरुमा लगानी गर्नु, नाफा आए आफ्नो भकारी भर्नु र नोक्सान भए जनजनले खाई–नखाई जम्मा गरेको वा बुढेसकाल र आफूलाई समस्या पर्दा काम लाग्छ भनी पाइपाइ गरी बचत गरेको रकममा घुकुती खेल्नु यिनीहरुको दिनचर्या भएको छ । पीडितहरुका आँसुले यिनीहरुलाई किञ्चित पनि छुँदैन ।

नेवार समुदायका सदस्यहरुले त्यति बेला उपत्यकाभित्र छिर्ने व्यक्तिहरुलाई खाना बनाउन र रातको समयमा आफूसँग भएको लत्ताकपडा प्रयोग गरी सुत्न अनि आफ्नो काम सकेपछि आफनो बाटो लाग्ने प्रयोजनको लागि र सँगसँगै बुढेसकालमा समय व्यतित गर्न भनी त्यति बेलाका शासक र समुदायका सदस्यहरुले मानवलाई अर्पण गरेका फाल्चा, सत्तल, पाटीपौवाहरुसमेत देशमा भएका केही सहकारीवालाहरुले वर्षौंदेखि कब्जा जमाएर प्रयोग गर्दै आएका समाचारहरु पनि सार्वजनिक भएका छन् । पछिल्लोपटक सार्वजनिक भएका लालीगुँरास सहकारीको नालीबेलीले यसै कुराको चित्रण गर्दछ ।

अहिले चर्चामा आएका इच्छाराज त एक प्रतिनिधि पात्र मात्र हुन् । यस्ता थुप्रै इच्छाराज देशका हरेक क्षेत्र र कुनाकाप्चामा रहे, बसेका छन् । कोही कुन भेषमा छन् त कोही कुन भेषमा छन् । देशमा भएका प्रत्येक पालिकाहरुमा थरी–थरीका इच्छाराजहरुले डेरा जमाएर बसेका छन् । ती इच्छाराजहरुलाई गलत काम नगर होइन भने हामी सम्बन्धित निकायमा उजुर गर्छौं भनेर केही जनले प्रयास गरे भने पनि तिमीहरुका उजुरले केही लछारपाटो लाग्दैन भन्दै ठाडै हुँकार अभिव्यक्त गर्दछन् । हुन पनि यी र यस्ता कथित इच्छाराजहरुको पहुँच यतिसम्म हुँदो रहेछ कि उनीहरुको एउटा फोनले उजुरी परेपछि कार्यवाहीको लागि तयार छु भन्ने र मै हुँ भन्ने पनि एक फोन आएपछि थर्रर कामेर बस्ने गर्दछन् ।

देशमा भएका संविधान नियम कानुनहरु मात्र दखाउने दाँतमा परिणत हुन पुगे । विधिको शासनद्वारा शासित हुन जनजनले मञ्जुर गरे पनि विधिद्वारा नै शासन गर्न शासकहरु कहिल्यै सकारात्मक देखिएनन् । राणाकालीन व्यवस्थादेखि लिएर वर्तमानसम्मको इतिहासलाई नियाल्दा पनि यही कुराले प्रतिनिधित्व गरिरहेको छ । जंगबहादुरका पालामा जन्मिएको मुलुकी ऐन, पद्म शमशेरको पालामा उब्जिएको अन्तरिम विधान २००७ देखि लिएर नेपालको संविधान २०७२ सम्ममा खासै भन्ने हो भने समय परिस्थितिअनुसार कहीँ–कतै खोट भेटिँदैन तर यथार्थमा शासकहरुले आफैँले बनाएको संविधानदेखि लिएर नियम कानुन सबैलाई रद्दीको टोकरीमा मिल्काउँदै आपूmखुशी शासन सञ्चालन गर्न थाले । यसैको परिणति प्रत्येक जनजनले भोगिरहनुपरेको छ । आजको दिनसम्म आइपुग्दा शासकहरुले आफ्नो स्वार्थअनुरुप प्रत्येक जनलाई लतार्न र झुक्याउन मात्र सफल भएका छन् । यदाकदा त्यस्तै अवस्था सिर्जना भएर देशलाई ज्यादै अप्ठ्यारो आइपरेको समयमा अप्ठ्यारो फुकाउनको निमित्त प्रदान गरिएका केही विशिष्ट अधिकारहरुसमेतलाई आपूmखुशी प्रयोग गर्न कत्ति पनि लाज मानेनन् ।

सत्तामा आसीन प्रत्येक शासकका सदस्यहरुको देशले विकासको गति समात्यो अब समात्छ भन्ने खालको भाषण सुनाउने धन्दा कहिल्यै रोकिएन । भर्खरै गठन भएर मन्त्रिपरिषद्ले पूर्णता पाएको सरकारका सन्देश पनि त्यसै गरी फिँजाउने जमर्को गरेको गर्‍यै छ । देशमा देखापरिरहेको हरेक क्षेत्रका विकृतिहरु सयको उनान्सय पनि हुन सकेको छैन । अहिले दोहोरिएका र पछि दोहोरिने पात्रहरुका बारेमा पनि जनजन अनभिज्ञ छैनन् । राजनीतिले प्रवेश नपाएको कुनै ठाउँ छैन । विकृतिले प्रवेश नपाएको कुनै क्षेत्र छैन र भ्रष्टाचारले प्रश्रय नपाएको कुनै स्थान छैन । यसलाई मध्यनजर राख्दै सामुन्ने देखापरिरहेका अजंग डरालाग्दो विकृतका खम्बाहरुलाई उखेलेर नफालेसम्म देश सुधारात्मक दिशातिर लम्किन त परै जाओस्, सुधारको प्रवेशद्वारसम्म पनि पुग्न पाउँदैन ।

जुन बेलादेखि जनताको मतबाट आफूलाई शासक ठान्ने राजनीतिक व्यवसायीहरु द्रव्य–मोहमा स्खलित हुन पुगे, त्यति बेलादेखि देश ओरालो गतिमा लाग्न थालेको हो । जानी–नजानी भएका अर्थात् विगतमा आफ्ना स्वार्थवश नै भए पनि भए/गरिएका विकासहरुको संरक्षण त परै जाओस्, त्यति बेला व्यवस्थित गरिएका आधारस्तम्भसमेत राजनीतिक व्यवसायीहरुका रुचिका लागि भत्काइएको प्रत्यक्ष उदाहरण जनजनसामु उभिएका उभियै छन् । वास्तविकता बुझिसकेका र जेलनेल–हन्डर खाएर खरोरुपमा उत्रेका राजनीतिक नेतृत्वहरुसमेत राजनीतिक व्यापारीमा परिणत हुन पुगेपछि तिनीहरुबाट अरु अपेक्षा गर्नु पनि जनजनको भूल नै थियो । यो वा त्यो नाउँमा द्रव्य–मोहमा डुबुल्की लगाउने कार्यलाई निरन्तरता दिँदै आइरहेको तथ्यलाई नियाल्दा अब देशले परिवर्तनको काँचुली कहिलेसम्म फेरिसक्छ भनेर अनुमान गर्नु कल्पनाभन्दा बाहिरको विषय हुन पुगेको छ । अब निकट भविष्यमा आउने जनमतको लागि यो विषय गम्भीर भएर देखा परिरहेको छ । प्रायः पचास उमेर नाघेका जनमत आफ्नो जीवनकालमा देश परिवर्तनको संघारमा आइपुग्छ भन्ने कुरामा विश्वस्त देखिँदैनन् । तथापि अब निकट भविष्यमै हुने सबै तहको निर्वाचनले केही आशा जगाउँछ कि भन्ने धुकधुकीचाहिँ बाँकी रहेको बताउँछन् केही बूढापाकाहरु ।

अब संघीयतामार्फत देशलाई उँभो लगाउने कुराको राजनीतिक व्यवसायीहरुले अन्तरात्मादेखि नै संकल्प लिए पनि गाह्रो अवस्था सिर्जना भैसकेको छ । हो, संघीयता कायम राखेर अहिले भएका संसद् सदस्यहरुको संख्या घटाउने र अनाहकको मनपरि खर्च देशले धान्न सक्दैन भन्ने कुराको बोध भएर थोरैभन्दा थोरै संसद् सदस्य रहने गरी सात प्रदेशबाट बढीमा उनन्चासजना स्वतन्त्र नागरिक समाजका स्वयंसेवीहरुलाई प्रतिपक्षीको भूमिका निर्वाह गर्न संविधान संशोधन गरेर सबैको सहमतिमा अगाडि बढ्न सक्यो भने झीनो आशाचाहिँ विद्यमान रहेको छ ।

(लेखक मैनाली अधिवक्ता हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्