‘माधव छद्मभेषी, प्रचण्ड महिषासुर’ : पूर्व मन्त्री बास्कोटा

एमालेले ग-यो अधिकांश वडामा अधिवेशन, सर्वसम्मत नेतृत्व



मोतीराम तिमल्सिना, काभ्रे ।

 नेकपा एमाले काभ्रेले जिल्लाका अधिकांश वडाहरूको अधिवेशन सम्पन्न भएको जनाएको छ । अधिवेशन सम्पन्न गर्न जिल्ला स्तरीय नेताहरूले सहभागिता जनाएका थिए भने केही वडाहरूमा केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोकुल बास्कोटा, जिल्ला अध्यक्ष अशोक ब्याञ्जु, सचिव नारायण पाण्डे, उप सचिव इन्द्र तामाङ लगायतले सम्बोधन गर्नु भएको थियो ।

धुलिखेल नगरपालिका वडा नम्बर ६ र ७ को वडा अधिवेशन उद्घाटन पछिको सभामा बोल्दै पूर्व मन्त्री एवं केन्द्रीय सदस्य गोकुल बास्कोटाले माधव नेपाल र प्रचण्ड प्रति आक्रोश पोख्दै माधव नेपालहरूको यात्रा मरुभूमिमा पोखरी खोज्दै हिँडेको उँट जस्तै भएको बताउनु भयो । प्रचण्ड महिषासुर भएको उहाँको टिप्पणी थियो ।

‘माधव नेपाल र उनको पार्टी छदमभेषी कम्युनिष्ट हुन्, मकै बारीको कालो पोके मकै, धान खेतको सामा जस्तै हुन्’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘महाधिवेशन देखि महाधिवेशनसम्म कुर्न नसक्ने माधव नेपालले पार्टी र जनता प्रति अपराध गरेका छन् । यसको बदला एमालेले लिन्छ, लिन्छ ।’ एमालेको सरकार बने पनि अदालत र न्यायाधीशले सरकार ढालेको भन्दै पूर्व मन्त्री बास्कोटाले देश बनाउन र देशको समृद्धिको लागि नेकपा एमालेको नेतृत्व विना सम्भव नभएको बताउनु भयो ।

‘फेरी पनि एमालेले दुई तिहाइ नजिक परिणाम ल्याउँछ, विकास र समृद्धिको एजेन्डा मात्रै होइन आधार पनि तयार गरेको छ’–पूर्व मन्त्री बास्कोटाले भन्नुभयो–‘माओवादीको पतन अनिवार्य छ, महिषासुर हुन् प्रचण्ड ।’ कर्कलो काट्न बन्चरो प्रयोग गर्नु नपर्ने बताउँदै पूर्व मन्त्री बास्कोटाले माओवादी र समाजवादीलाई जनताले नै सकाउने बताउनु भयो ।

एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले विचार, संगठन मजबुत बनाउँदै विगतमा भन्दा धेरै जनमत हासिल गर्ने बताउनु भयो । ‘समाजको रूपान्तरणका लागि नेकपा एमालेको विकल्प छैन’–अध्यक्ष ब्याञ्जुले भन्नुभयो–‘एमालेकै नेतृत्वमा मात्रै काभ्रेको विकास र समृद्धि सुरु भएको छ ।’ धुलिखेल नगरपालिका प्रमुख समेत रहनु भएका अध्यक्ष ब्याञ्जुले धुलिखेलको गरिबी न्यूनीकरणमा चार वर्षको अवधिमा ७२ प्रतिशतबाट ९६ प्रतिशतमा पु-याएको, एक घर एक घारा पूर्ण हुँदै गरेका, साक्षर, खुल्ला दिशामुक्त, बालमैत्री नगरका साथै साउथ एसियामा सबै भन्दा धेरै पार्क निर्माण गरी स्वस्थ सहर निर्माण भएको घोषणा हुँदै गरेको बताउनु भयो ।

उपप्रमुख एवं बागमती प्रदेश कमिटी सदस्य विमला शर्मा, नगर अध्यक्ष विनोद पराजुली, नेता निरोज खड्का, वडा कमिटी अध्यक्षहरु सुवास श्रेष्ठ र रमणकुमार श्रेष्ठ लगायतले एमालेको नेतृत्वमा मात्रै धुलिखेलका विकास सम्भव भएको बताउनु भएको थियो । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेले केही वडा अध्यक्ष सहित अधिकांश स्थानमा विजयी हासिल गरेको थियो ।

धुलिखेल र श्रीखण्डपुरको प्राचिन सहर पुनर्निर्माण, सम्पदा र संस्कृतिको संरक्षणका साथै पूर्वाधारयुक्त नगरपालिका निर्माणमा नगरपालिकाले प्राथमिकतामा राखेको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । शनिवार नै जिल्लाका अधिकांश वडाहरूमा अधिवेशन सम्पन्न भएका छन् । अधिकांश वडाहरूमा सर्वसम्मत नेतृत्व र वडा प्रतिनिधि परिषद्का प्रतिनिधिहरू छनौट भएको एमाले काभ्रेका अध्यक्ष अशोक ब्याञ्जुले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्