सुदूरको राजनीतिक साङ्गोपाङ्गो



  • एलबी विश्वकर्मा

मंसिर सकिएपछि सुदूरपश्चिमको रौनक हराउन थाल्छ । गाउँबस्तीहरु उजाड–उजाड लाग्न थाल्छन् । मौसमका हिसाबले रुखका हाँगाबिँगा सुकेर पातपतिंगर झर्ने बेला भएको हुँदैन । तर हुलका हुल मुग्लान पस्ने लहरले गाउँ नै सुन्ने पारिदिन्छ । यस वर्ष परिवेश फरक छ । कोरोना कहरले लामो समय जेलिएका युवाहरु लकडाउन खुलेसँगै मुग्लान पसे । संयोग दशैंको तिथिमिति पनि चाँडै थियो, यस वर्ष । विगतमा जस्तो हर्षोल्लापूर्ण छैन, गाउँहरु रित्ता छन्, रौनकता छैन । बम्बई पसेका लाहुरे कर्मभूमिमै छन् । विगतमा झैँ शीतल छ, मौसमको तुजुक ।

त्यसो त सुुदूरका पहाडी दरामा गर्मी हुँदैन । यहाँ सदावहार शीतल र आनन्दको वातावरण हुन्छ । प्रतिकूल मौसम नै यहाँको रमाइलो हो । चैत निख्रिएपछि बल्ल गर्मी यामको शुरुवात हुन्छ । सेताम्मे पहाडी काखमा कहीँ–कतै हिउँ देखिए पनि वसन्तले पाइला टेकिसक्छ । उराठ लाग्दो हुँदैन, रस्तीबस्ती । मानिसहरू भन्छन्, ‘प्रकृति र वातावरणको लगातारको विनाशले मौसम बदलिएको छ । मनोमानी खनिएका सडकले बाढी–पहिरो निम्त्याउँदै छन् । गाउँको स्वरूप नराम्रोसँग बिग्रिएको छ । समथल स्थान, खेत र पहाड खोक्लो पारेर कच्याक्क–कुचुक्क । सुदूरको स्वरूप यस्तै–यस्तै छ ।

उस्तै–उस्तै छ, राजनीतिको साङ्गोपाङ्गो । गत चुनावपछि सेलाएको राजनीतिक बहस हिजोआज दारुका भट्टी र चियापसलमा पुनः सुनिन थालेको छ । दशैं र शहरिया नेतासँगै राजनीति गाउँ छिर्‍यो । अनि चल्न थाले–भट्टीमा छट्टु नेताका कुरा । यो भट्टी पनि अनेकौं पार्टीको संयुक्त कार्यालयजस्तै बनेको छ । यहाँ कुन मन्त्रालय वा आयोगमा कस–कसका नातेदार वा चिनजानका मान्छे छन् भन्ने बहस चर्कै हुन्थ्यो । आ–आफ्नो पार्टीको मत सर्वेक्षणसमेत यतै गरिदिन्छन् । बेला–बेला राजनीतिक आवेगमा मुक्का हानाहान नै चल्छ । समाज र संस्कृतिका बारेमा चर्चा सुन्न मुखियासहितको भेला नै आह्वान गरिनुपर्छ ।

बाँकी समय त्यही राजनीतिक तुरुपका बहस । आफैँलाई मोहरा बनाएर राजनीतिमा आएका नेताको समर्थन वा तालीका बहस मात्रै । केही दिनपहिले विद्रुप राजनीतिक परिदृश्यसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको साथ छाडेका एमाले उपाध्यक्ष डा. भीम रावलको राजनीतिक यात्रा अधोगतिमा छ । रावलका विश्वासपात्रहरु एकपछि अर्को गर्दै साथ छाडिरहेका छन् । उता, अध्यक्ष केपी ओलीले मज्जैले पेलेको खुलस्त छ ।

अछामको कुरा गर्दा नेता नेपालसँगै सकियो, शेरबहादुर कुवँरसँगको यात्रा । २०४५ सालदेखिको सहयात्रा डा. रावलले आफ्नै अहंताका कारण गुमाउनुपर्‍यो । उनीसँगै राजनीतिक विरासत पनि गुम्यो । पायल, प्रभाका जनताको दरिलो साथले २०४८ देखि एमालेका एक्ला सांसद हुन् रावल । अहिले सबै कुवँरसँगै छन् । त्यागका कुरा गर्दा २०६४ को पहिलो संविधानसभा चुनावमा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ कुवँर विजय हुँदा रावल समानुपातिकबाट सांसद पसेका थिए । २०७० मा रावललाई प्रत्यक्षमा जिताएर कुवँर समानुपातिक सांसद बने । तर २०७४ मा रावललाई प्रत्यक्षमा जिताएर आफू राष्ट्रिय सभा सदस्यमा निर्वाचित भए ।

कांग्रेसले राजनीतिक विरासत जग बसाउन अहिले शिक्षकहरुलाई अघि सारेको छ । सुदूरपश्चिमका अधिकांश स्थानबाट महाधिवेशन प्रतिनिधिमा शिक्षकहरु नै छन् । सरकारको पैसा, जनताको कर सबै संगठन निर्माण खर्च गरिरहेका छन् । विद्यालयहरु सञ्चालनमा उत्सुकता कम देखिन्छ ।

माओवादीमा धेरै नेताहरुको भविष्य चौपट अवस्थामा छ । माओवादीका अधिकांश नेताहरु लेखराज भट्टसँग थिए । नेकपा विघटन र माओवादीको पुनर्गठनसँगै नेता भट्ट ओलीसँग टाँसिएपछि ग्रामीण स्तरदेखि काठमाडौंको चौकटसम्म छरिएका धेरैको भविष्य अन्यौलग्रस्त छ । कञ्चनपुरका ओमविक्रम भाट लामो समयदेखि भट्टसँग थिए । उनको स्वकीय सचिवको रुपमा पनि उनले लामो समय काम गरे ।

एमालेलाई विगतमा पञ्चेसँग दाँज्ने भाट अलप अवस्थामा छन् । उनी राजनीतिमा खुलेका छैनन् । दशबर्से जनयुद्धमा लामो समय बिताए । अब अवस्था डुब्नै लागेको घामजस्तै बनेको छ । सुदूरपश्चिमको आधार इलाका रामारोशनमा माओवादीको एकल सत्ता छ, वर्चश्व छ । तर राजनीतिको माझी लेखराजलाई बनाएर तैरिन खोजिरहेका धेरैको भविष्य चौपट अवस्थामा छ ।

त्यार–त्यौहार र चुनावमा कहिलेकाहीँ झुल्कने दीपक साउद ‘तरङ्ग’ भट्टका खास मान्छे हुन् । उनी लामो समयदेखि लेखराजसँगै छन् । एकपटक उनीसहित उनको सानो नेटवर्क नै एमालेमा पसेको खबर पनि गाइँगुइँ आएको थियो । तर उनी माओवादीमै रहेको बताए । तरङ्गलाई घमण्ड थियो– जनार्दन शर्मा मलाई विशेष सहयोग गर्नेछन्, त्यसो भएन । पछिल्लो समय अध्यक्ष पुष्पकमल दाहाल आफँै नेता छान्न निस्किएपछि जनतासँग जोडिएका नेताहरुले स्थान पाए । २०६४ को निर्वाचनमा प्रत्यक्षतर्फ चुनावमा झपट साउदले स्थान दिएका थिए । त्यस बेला लाइनमा प्रचण्डका तर्फबाट झंकर साउद पनि थिए । उनले पनि तरङ्गलाई सघाए । माओवादीले चुनावमा हार व्यहोर्नुपर्‍यो ।

तत्कालीन २० जना केन्द्रीय सदस्यमध्ये विद्यार्थी राजनीतिबाट उदाएका नेता खकेन्द्र रोकाया पनि हुन् । उनी सिनियर नेतामध्येमा पर्छन् । उनी पारिवारिक झमेलामा फसेका थिए । ऐन मौकामा माओवादीले झपट बोहरालाई अघि सार्‍यो । २०७४ मा प्रदेशसभामा बोहरा निर्वाचित भए । उता, रोकायाको राजनीति सकियो । अहिले यस्तै–यिनै प्रसंगमा चर्चा चल्छ, खौलामा ।
नागरिकहरू बिग्रँदो राजनीतिक भविष्यलाई लिएर आक्रोशित छन् । उनीहरुलाई युद्ध भर्खरै सेलाएको महसुस हुन्छ ।

आक्रोशले आफैँलाई आगोमा पार्ने त्रासमा मौन हुन्छन् । सुनिएअनुसार, स्थानीय राजनीतिका महाराजहरु जनताको मौनतालाई कमजोरी बनाउन लागिपरेका छन् । पहिले–पहिले खूबै सुनिन्थ्यो– १४–१५ जना भेला पारेर काठमाडौंमा घरघडेरी जोड्ने नेताहरु पनि छन् । काठमाडौं पसेपछि केहीका घरहरु देखियो पनि । हातमा ‘पावर’ हुनेले जे पनि गर्न सक्छन् ।

जनता दशैंमा डुबेका छन् । चिया पसल र भट्टीहरु राजनीतिमा भिजेका छन् । यहाँको राजनीतिको चरित्र पनि बदलिएको छ । पहिलेका ठूला नेताहरू पदका लागि यति साह्रो मारामारी गर्दैनथे । मानिसलाई शिक्षित तुल्याउँथे । अहिलेका ठूला नेताहरू आफू जति वर्षको भयो त्यति किलोको माला लगाउँछन् । माला कत्रो लगाउने ? प्रतिस्पर्धा चल्छ ।

पहिले सुदूरका बस्तीहरु राजनीतिमा पछाडि पारिएका थिए रे । साँच्ची, त्यो बेला गाउँ कस्तो थियो होला ? नेपाल एकीकरण र त्यसको पेरिफेरिमा जन्मिएका थुप्रै नेताहरु कथनमा समाहित छन् । उनीहरुको परिवेशको बस्ती कस्तो थियो होला ? राजनीतिका द्वन्द्व सिर्जना गर्ने कारखाना थियो होला ?

प्रतिक्रिया दिनुहोस्