पुसमा चुरीफुरी



सोसल कमेडी जनरामा निर्मित फिल्म चुरीफुरी आगामी पुस ९ गते रिलिज हुने भएको छ।

मंगलबार चलचित्र पत्रकार संघ नेपाल, दाध्र शाखाले तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा फिल्मका निर्देशक ऋषिराज आचार्यले चुरीफुरी आगामी पौष ९ गते रिलिज गरिने जानकारी गराएका हुन्। चलचित्र पत्रकार संघ दाध्रका अध्यक्ष शिव पुनको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै निर्देशक आचार्यले कोरोनाले मोनोटोनस भएका दर्शकलाई फ्रेस बनाउन चुरीफुरीले औषधिको काम गर्ने दाबी गरे। निर्देशक आचार्यले कोरोनाले थिलोथिलो परेको नेपाली फिल्म क्षेत्रलाई चलायमान बनाउन विशेषगरी निर्माता, प्रदर्शक र वितरक मिलेर जानुको विकल्प नरहेको समेत चर्चा गरे। उनले चलचित्र विकास बोर्डले पनि शुरुको केही समयका लागि फिल्म प्रदर्शनसम्बन्धी आकर्षक राहत प्याकेज ल्याएर करोडौं लगानी गरेका फिल्म मेकरलाई फिल्म रिलिज गर्न प्रोत्साहित गर्नुपर्ने बताए।

फिल्ममा रवीन्द्र झा, सुबोध गौतम, राजीवजंग बस्नेत, अभिषेक श्रेष्ठ, शिशिर भण्डारी, पवन खतिवडा, पूजा पन्त, सोना बज्राचार्य, दीपक आचार्य, सुरवीर पण्डित, सुनीता श्रेष्ठ ,राजेन्द्र खाती, जोया ढकाल, ऋतु आचार्यलगायतका कलाकारले अभिनय गरेका छन्। दीपक शर्माको संगीत र राहुल राईको छायांकन रहेको फिल्म नवीन निरौलाले सम्पादन गरेका छन्। निर्देशक आचार्य र रिना ढकाल (भण्डारी) द्वारा निर्मित फिल्ममा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा सह-निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्