स्टार्टअप समिट एन्ड अवार्ड हुँदै

मंसिरमा अवार्ड , उत्कृष्टलाई ४ लाख पुरस्कार



न्युज अफ नेपाल, काठमाडौं । 

अगामी महिना मंसिर १५ गते न्यू बिजनेश एज प्रालिको आयोजनामा ‘कुमारी बैंक न्यूबिज स्टार्टअप समिट एन्ड अवार्डस’ कार्यक्रम हुने भएको छ ।

नवीनतम सोच लिएर उद्यम गरिरहेकाहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले छनोट गरिएका त्यस्ता उद्यमीहरूलाई नगद पुरस्कारसहित अवार्ड दिन लागिएको हो ।न्यू बिजनेश एज प्रालिका अनुसार सातै प्रदेशबाट स्टार्टअप बिजनेश गरिरहेका १५ सयभन्दा बढी उद्यमीहरूको विवरण संकलन गरिएको छ ।

यसमा सहभागी हुन चाहने स्टार्टअपले कात्तिक १५ गतेसम्म आर्थिक अभियान र न्यू बिजनेश एजको वेबसाइटमा उपलव्ध लिंकमा गएर आफ्नो नाम दर्ता गर्न सक्ने व्यवस्था छ । खासगरी कम्पनी दर्ता गरेर विगत ३ वर्षदेखि नवीनतम उद्यम गरिरहेका तर दर्ताको ७ वर्ष पूरा नगरेका उद्यमीहरूलाई छनोट गरिएको छ ।

कार्यक्रमअन्तर्गत आउँदो कात्तिक १२ गते भर्चुअल माध्यमबाट अन्तरक्रियात्मक प्रशिक्षण गरिँदै छ, जसमा विद्यमान तथा आकांक्षी स्टार्टअप र युवा उद्यमीहरू सहभागी हुन सक्नेछन् । कात्तिक ३० गतेभित्र उत्कृष्ट हुनेहरूको छनोट गरिँदै छ । यसका लागि स्वतन्त्र विज्ञहरू सम्मिलित एक निर्णायक मण्डल बनाइएको छ र यसले छनोटको काम थालिसकेको न्यू बिजनेश एजले जानकारी दिएको छ । उत्कृष्ट छनोट गरिएकाहरूलाई रू। ४ लाख पुरस्कार दिने व्यवस्था भएको पनि आयोजकले बताएको छ ।

‘न्यूबिज स्टार्टअप समिट एन्ड अवार्ड’ को मुख्य प्रयोजक कुमारी बैंक लिमिटेड रहेको छ भने सहप्रायोजकमा गरिमा विकास बैंक लिमिटेड रहेको छ । ‘एसोसिएट पार्टनर’मा नेपाल उद्योग वाणिज्य महासंघ रहेको छ । यस्तै अवार्ड कार्यक्रमलाई आईएमई तथा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले सहयोग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्